१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख १८ मंगलबार १७:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेनीमा परम्परागत माघे संक्रान्ति मेलालाई निरन्तरता दिइने

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:५१:oo

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रूपमा हुँदै आएको माघे संक्रान्ति मेलाले यस वर्ष पनि निरन्तरता पाउने भएको छ।

म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यम विकास समितिको मूल आयोजनामा पुस २९ देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला आयोजना हुन लागेको हो।

माघे संक्रान्ति पर्वमा परम्परागत रूपमा बेनीमा आयोजना हुने मेलालाई जगेर्ना गर्दै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यसहित तीनदिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिइन्।

मेलाको तयारीका सन्दर्भमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा समितिका सभापति श्रेष्ठले उद्योग वाणिज्य संघ, जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा विभिन्न संघ-संस्थासँगको सहकार्यमा परम्परागत मेलालाई निरन्तरता दिन लागिएको बताइन्। उनका अनुसार मेलामा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकासँगको सहकार्यमा कृषि मेला प्रदर्शनीसमेत गरिनेछ।

मेलामा खुला नृत्य र आमाहरूको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षणको रूपमा समावेश गरिएको छ। खुला नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु २० हजार, १० हजार र ५ हजार तथा आमाहरूको एकल लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु १० हजार, ६ हजार र ३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

अन्ध निसान र महिला पुरुषको लठो तान्ने र छेलो फाल्नेलगायतका प्रतियोगितासमेत मेलामा समावेश गरिएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार मेलामा जिल्लामा रहेका विभिन्न जातजाति, संघ-संस्था र समूहको पहिचान झल्कने झाँकी प्रर्दशनीसहित स्थानीय र राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिसमेत रहनेछ। मेलालाई सफल बनाउन विभिन्न २२ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्रता दिइएको महिला उद्यम विकास समितिले जनाएको छ।

बेनीमा वर्षौँदेखि सञ्चालन हुँदै आएको माघे संक्रान्ति मेलाको निरन्तरतासँगै कला र संस्कृतिको संरक्षण तथा व्यापार व्ययवसायसँगै पर्यटन प्रवर्द्धनमा माघे संक्रान्ति मेलाले सहयोग पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए। उनले मेला आयोजना हुने खुलामञ्चमा यसपटक म्याग्दीका व्यवसायी र उद्यमीहरूको मात्रै स्टल रहने जानकारी दिए।

परम्परागत रूपमा लाग्दै आएको मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि २०५७ सालदेखि म्याग्दी उद्योग वाणिज्य संघले महोत्सव एवं मेलाको रूपमा माघे संक्रान्ति मेलालाई निरन्तरता दिँदै आएको छ। बेनीमा हरेक तीन वर्षमा संघको आयोजनामा महोत्सव तथा अन्य वर्षहरूमा महिला उद्यम विकास समितिको आयोजनामा मेला एव‌ं सडक खाना महोत्सव आयोजना हुँदै आएको छ। 

ad
ad