१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष १९ बिहीबार ०७:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वराजासँग राप्रपा नेताहरूको ‘लन्च मिटिङ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष १९ बिहीबार ०७:५८:००

राजसंस्था, हिन्दू राष्ट्र पुनर्स्थापना र प्रदेशको खारेजीको मागसहित बृहत् आन्दोलन घोषणा गरेको राप्रपाका प्रमुख नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘लन्च मिटिङ’ गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंहले भैरहवा पुगेर पूर्वराजासँग ‘लन्च मिटिङ’ गरेका हुन् । 

भैरहवास्थित एक होटेलमा उनीहरूबीच तीन घन्टा छलफल भएको थियो । ‘हामीले आन्दोलनको तयारीबारे कुरा राख्यौँ,’ राप्रपा अध्यक्ष लिङ्देनले नयाँ पत्रिकासँग भने, ‘जवाफमा पूर्वराजा शाहले आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण होस् भन्ने चाहना व्यक्त गर्नुभयो । आन्दोलनले थप क्षति व्यहोर्नु नपरोस् भन्नेमा उहाँको बढी चासो र चिन्ता थियो ।’

‘लन्च मिटिङ’मा पूर्वराजा निकै खुलेर प्रस्तुत भएको नेताहरूको भनाइ छ । ‘देशमा राम्रो हुन्छ भनेर आफूले पद छाडेको, तर त्यसो हुन नसकेको भन्दै उहाँले दुःख प्रकट गर्नुभयो,’ लिङ्देनले भने, ‘नेपालको मौलिकता र एकता पनि कमजोर हुँदै गएको उहाँको निष्कर्ष थियो ।’

राजसंस्था पक्षधरको एकतामा जोड
लिङ्देनका अनुसार पूर्वराजा शाहले सम्पूर्ण राजसंस्था पक्षधरहरू एक हुनसमेत आग्रह गरेका छन् । आन्दोलनलाई त्यसले बल पुर्‍याउने उनको सुझाव थियो । ‘म एउटा लिगेसी र परम्पराको प्रतिनिधित्व गर्छु । त्यसैले कुनै एक दलसँग नजिक वा टाढा रहन मिल्दैन,’ शाहको भनाइ उद्धृत गर्दै अध्यक्ष लिङ्देनले भने । उनका अनुसार भेटमा धेरैजसो समय शाहले नै बोलेका थिए । राप्रपाले माघदेखि सुरु गर्ने गरी आन्दोलन घोषणा गरेको छ । प्रवक्ता मोहन श्रेष्ठले माघदेखि देशव्यापी विशाल सभा हुने, मेची–महाकाली एकता यात्रा हुनेछ र अन्त्यमा उपत्यकाकेन्द्रित प्रदर्शन गर्ने तयारी रहेको बताए ।