१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष १८ बुधबार ०९:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा सिटबारे सत्ता गठबन्धनमा औपचारिक छलफल सुरु

Read Time : > 2 मिनेट
२०८० पौष १८ बुधबार ०९:१५:००

एमालेले जितेका सिटमा बाँडफाँटको तयारी

सत्ता गठबन्धनमा राष्ट्रिय सभा निर्वाचनअघि औपचारिक रूपमा सिट बाँडफाँटबारे छलफल अघि बढेको छ । मंगलबार गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादीबीच यस विषयमा बालुवाटारमा छलफल भएको हो । 

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरू मंगलबार बिहान बालुवाटार पुगेका थिए । छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले औपचारिक रूपमा छलफल अघि बढेको बताए । उनले भेटमा समसामयिक विषय र सिटका विषयमा छलफल भएको बताए । भेटमा कांग्रेसका तर्फबाट कुनै प्रस्ताव पेस नभएको उनको भनाइ छ । 

रमेश लेखक प्रमुख सचेक, कांग्रेस
राष्ट्रिय सभा निर्वाचनका विषयमा गठबन्धनमा औपचारिक रूपमा छलफल अगाडि बढेको छ । गठबन्धनका सबै दलको बैठक बोलाएर थप छलफल गर्ने कुरा भएको छ । बैठकमा सिट बाँडफाँटबारे कुनै प्रस्ताव गएको छैन ।

‘राष्ट्रिय सभा निर्वाचनका विषयमा गठबन्धनमा औपचारिक रूपमा छलफल अगाडि बढेको छ । गठबन्धन दलको बैठक बोलाएर थप छलफल गर्ने कुरा भएको छ । बैठकमा सिट बाँडफाँटको कुनै प्रस्ताव गएको छैन,’ लेखकले भने ।

गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षका विषयमा पनि छलफल भएको छ । अध्यक्षका लागि कांग्रेस र माओवादीको दाबी छ । १४ पुसमा सम्पन्न केन्द्रीय समिति बैठकबाट कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा गठनबन्धन गर्ने औपचारिक निर्णय लिइसकेको छ । यससँगै कांग्रेसले छलफल अघि बढाएको हो । प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । 

माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी थिए । नेताहरूका अनुसार गठबन्धन दलले जितेका स्थानमा सोही दलको सिट कायम गर्ने र एमाले र स्वतन्त्रले जितेका स्थानमा सिट बाँडफाँट गर्ने तयारी छ । कांग्रेसले सत्तागठबन्धनका दलहरूसँग सहमतिका आधारमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

मतभारमा गठबन्धन बलियो
संसद् सचिवालयका अनुुसार एमालेका आठ, कांग्रेसका चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र दुई गरी अध्यक्षसहित २० को कार्यकाल सकिँदै छ । रिक्त सिटमा ११ माघमा निर्वाचन हुँदै छ । २० सिटमध्ये बागमतीमा चार, गण्डकी, कर्णाली र सुदूरपश्चिममा तीन–तीन र कोशी, मधेश र लुम्बिनी प्रदेशमा दुई–दुई सिट रिक्त छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ मतभारमा पनि गठबन्धन अगाडि देखिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलका अनुसार आयोगले ०७८ मा सम्पन्न राष्ट्रिय जनगणनाअनुसार जनसंख्याका आधारमा नयाँ मतभार कायम गरेको छ । मतभारमा एक प्रदेश सांसदको ५३ र एक पालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको १९ मतभार कायम भएको छ । यसअघि प्रदेश सांसदको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मतभार थियो । आयोगले सार्वजनिक गरेको प्रदेशगत दलीय मतभार हेर्दा सत्तागठबन्धनको पकड देखिन्छ । 

कांग्रेसबाट ६२६ नाम सिफारिस
कांग्रेस केन्द्रीय कार्यसमितिले उम्मेदवार छनोटमा अवसरबाट वञ्चित र योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरेको थियो । ‘भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलनसमेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइनेछ,’ निर्णयमा भनिएको छ । तर, प्रदेश कार्यसमितिले सबै आकांक्षीको नाम अन्तिम निर्णयका लागि केन्द्रमा पठाएको छ ।

कोशी : कांग्रेस कोशी प्रदेशले कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरीराज आचार्य, डा. डिला संग्रौला, रुक्मिणी कोइरालासहित ६३ नाम केन्द्रमा सिफारिस गरेको छ ।

मधेश : कांग्रेस मधेश प्रदेशले राष्ट्रिय सभामा आनन्दप्रसाद ढुंगाना, फर्मुल्लाह मन्सुर, नागेन्द्र कुमार, राधेचन्द्र यादव, रामचन्द्र तिवारी, रजिन्द्रबहादुर अमात्य र हृदयनारायण गरी सातजनाको नाम केन्द्रीय कार्यसमितिमा पठाएको छ ।

बागमती : प्रदेश कार्यसमितिले ९१ जनाको नाम सिफारिस गरेको छ । जसमा कलाकार नीर शाह, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, केन्द्रीय सदस्य हरिशरण नेपाली, जिपछिरिङ लामा, गणेश लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, राधा घले, मदनबहादुर अमात्य, जितजंग बस्नेत, मदनकृष्ण श्रेष्ठ र गंगा अवालेको नाम सिफारिस भएको छ । प्रदेश पदाधिकारीबाट महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्रीहरू जीवन डंगोल, चन्द्र महर्जन र हरिशरण श्रेष्ठको नाम सिफारिस भएको छ । 

गण्डकी : पूर्वमन्त्री तथा उपसभापति गोपालमान श्रेष्ठ, पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, खुमा अर्याल, रामचन्द्र पोखरेल, रघु पौडेलसहित १६८ नाम सिफारीस भएको छ ।लुम्बिनी : पूर्वउपसभामुख पुष्पा भुसाल, चन्द्र केसी, डा. गोविन्दराज पोखरेल, भरत शाहलगायत १२३ नाम केन्द्रमा पठाएको छ ।

कर्णाली : डम्बर जिसी, खड्क बस्याल, रवीन्द्रराज श्रेष्ठ, रंगबहादुर शाही, दीनबन्धु श्रेष्ठ, लाल हमाल, दीपकजंग शाह, भूपेन्द्रजंग शाही, कालीबहादुर सहकारी, मनबहादुर नेपाली, मोतीराज बम, टंक उपाध्यायलगायत ९२ नाम केन्द्रमा सिफारिस भएको छ । 

सुदूरपश्चिम : केन्द्रीय सदस्य नैनसिंह महरसहित ८२ नाम केन्द्रमा पठाएको छ ।