१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरभित्रका ६० प्रतिशत ढुंगेधारा सुके

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:१६:oo

काठमाडौं महानगरपालिकामा रहेका ढुंगेधारामध्ये ६० प्रतिशतमा पानी नआउने, हराउने र नभेटिनेजस्ता समस्या देखिएको छ  । अलान फाउन्डेसनले एक महिनाअघि तयार पारेको रिपोर्टअनुसार महानगरभित्रका एक सय ५४ ढुंगेधारामध्ये ६१ वटामा मात्र पानी आउँछ । ५० वटा मा कहिल्यै पानी नआउने, १० वटा संकटमा परेका (लोप हुन लागेको अवस्थामा), २१ वटा हराएका र १२ वटा फेला नपरेको (नभेटिएको) अध्ययनले देखाएको छ ।

अध्ययनका क्रममा (ढुंगेधारा) हिटीलाई पाँच प्रकारमा बाँडेर तथ्यांक संकलन गरिएको थियो । एक सय २१ हिटी भौतिक रूपमा भेटिएका छन् । ३३ वटाले निसानसमेत गुमाइसकेका छन् । वडागत रूपमा हेर्दा वडा नम्बर १५ र ३२ मा १२–१२ वटा हिटी छन् । वडा १२ र १३ मा एक–एकवटा, वडा ३ मा २१ र २९ मा दुई–दुईवटा, वडा २ र ३० मा तीन–तीनवटा हिटी छन् । वडा नम्बर ५, २८ र ३१ मा चार–चारवटा, वडा नम्बर २० मा पाँचवटा, वडा १, ८, १९, २६ मा ६–६ वटा हिटी फेला परेका छन् । वडा नम्बर १८ मा सातवटा, वडा नम्बर ४ र ७ मा आठ–आठवटा, वडा ९ र १६ मा नौ–नौवटा, वडा १७ मा १० वटा, वडा नम्बर ६ मा ११ वटा र वडा १० मा १३ वटा हिटी छन् । यस्तै, वडा ११, २२, २३, २४, २५ र २७ गरी ६ वटा वडामा एउटा पनि हिटीको अभिलेख नै नभेटिएको अध्ययनले देखाएको छ । 

 पुतलीसडकमा भेटियो ऐतिहासिक ढुंगेधारा
ढुंगेधारा खोजीकै क्रममा पुतलीसडकस्थित स्टारमलको पछाडि रहेको खाली जग्गामा पनि ऐतिहासिक ढुंगेधारा फेला परेको छ । पुरातत्व विभाग र सम्पदाप्रेमीलाई यहाँ पनि ढुंगेधारा रहेको जानकारी स्थानीयले गराएका थिए । यहाँ ढुंगेधाराको बाहिरी भाग उत्खनन भएको छ भने वरिपरिको भाग पुरिएको छ । स्थानीयले खोजतलास गरेका सम्पदा संरक्षणमा सरकारले साथ दिए मात्रै ऐतिहासिक ढुंगेधाराको अस्तित्व जोखिने सम्पदाप्रेमीको भनाइ छ । 

 ललितपुरका ६० प्रतिशत  ढुंगेधारामा आउँछ पानी 
ढुंगेधाराविद् सुशील श्रेष्ठका अनुसार ललितपुरको पाटन क्षेत्रमा ६० वटाभन्दा बढी ढुंगेधारा छन् । तीमध्ये ९० प्रतिशतमा पानी आउँछ । त्यसबाट २४ घण्टामा ४० लाख लिटर पानी आउने गरेको छ । यो पानीले करिब पाँच हजार घरधुरीलाई पुग्ने अनुमान छ  । काठमाडौंको मुख्य सहरी क्षेत्रमा दुई सय ९० वटा र भक्तपुरमा ८२ वटा ढुंगेधारा छन् । काठमाडौंका १० प्रतिशत ढुंगेधारामा पानी आउँछ भने भक्तपुरका ८ प्रतिशतमा मात्रै पानी आउने गरेको छ  । 

ढुंगेधाराका अनुसन्धानकर्ता तथा सहरी विकास योजनाकार पद्मसुन्दर जोशीका अनुसार ललितपुरका एक सय, भक्तपुरका ६० र काठमाडौंका ४० वटा ढुंगेधारामा मात्रै अहिले पानी खस्छ । यीबाहेक तीन जिल्लाका तीन सय ७३ वटा हिटीमा पानी आउँदैन । ती दुई सयवटामध्ये पनि कुनै–कुनैमा बर्खाका वेला मात्रै पानी आउने अध्ययनले देखाएको छ । हाल उपत्यकामा पानी आउने ढुंगेधाराले करिब एक लाख जनसंख्यालाई पानी पुगेको अनुमान गरिन्छ । 

ad
ad