१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १८:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छिमेकीहरूसँग समदुरी होइन, समनिकटता हेरौंँ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:४७:oo

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले परिवर्तित विश्व परिस्थितिमा नेपाल असुरक्षित बन्दै गएको र नेपालको वैदेशिक मामिला सञ्चालन परिपक्व हुन नसकेको टिप्पणी गरेका छन्।

अंग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा परराष्ट्र मामिला हेर्ने नेपाली पत्रकारहरूको समूहसँग सोमबार आयोजित अन्तर्क्रियामा पाण्डेले परराष्ट्र नीति र वैदेशिक सम्बन्धको प्रवक्ता राजनीतिक दलहरू नभएर प्रधानमन्त्री र परराष्ट्रमन्त्री मात्रै हुनुपर्नेमा जोड दिए।

उनले छिमेकीहरूसँग समदुरी होइन, समनिकटताको सम्बन्ध सञ्चालन गर्न सुझाव दिएका छन्। ‘अहिले क्षेत्रीय वा विश्वशक्तिहरूको सामरिक स्वार्थ जोडिएको भूराजनीतिक स्थापना भएको सानो देश असुरक्षित हुँदै गएको घटनाक्रमहरूले बताइरहेका छन्,’ पाण्डेले लिखित वक्तव्यमा भने, ‘तर यसप्रति चनाखो भएर सुरक्षित भविष्यको निर्माण गर्नु सट्टा परराष्ट्र नीतिमा असंगति, वैदेशिक सम्बन्धमा एकाकीपन र छिमेकीहरूसँगको सम्बन्धमा रित्तिँदै गएको विश्वासको सञि्चतिले नेपाल दुखद भविष्यतिर उन्मुख भएको छ।’

पाण्डेले विश्वमा नेपाल भाडाका सिपाहीहरूको देशका रूपमा बदनाम भइरहँदा पनि सरकार निष्क्रिय रहेको आरोप लगाए। ‘सरकारकै छनोटमा इजरायलमा पढिरहेका विद्यार्थीलाई हमासले तीन महिनादेखि बन्धक बनाएर राख्दा पनि नेपाल सरकार निष्किय छ, कूटनीतिक अग्रसरताको विकल्प भाग्यलाई बनाएर बसेको छ,’ उनले भने, ‘वैदेशिक सम्बन्धमा, विशेष गरी छिमेकीहरू र अमेरिकासँगको सम्बन्धमा प्रमुख पार्टीहरूमा रहेको मतभेद तथा पक्ष वा विपक्षमा ध्रुवीकरण दुर्भाग्यपूर्ण छ। यसले विपत्तिलाई निम्त्याउँछ। परराष्ट्र नीति र वैदेशिक सम्बन्ध नेपालको हुनुपर्छ, यसको प्रवक्ता र सञ्चालक प्रधानमन्त्री र परराष्ट्रमन्त्री मात्रै हुनुपर्छ।’

भारत र चीनसँग समदुरीको नीतिले दूरी बढाउँदै लगेको उल्लेख गर्दै पाण्डेले समनिकटताको सम्बन्धमार्फत दुवैसँग समझदारी र पत्यारको घनिष्टता बनाउनुपर्ने सुझाव पनि दिएका छन्।

उनले विश्वशान्ति र स्थायित्व दुर्घटनाको भिरमा उभिएको भन्दै आफ्नो  हैसियत सुरक्षित गर्न शक्तिराष्ट्रहरू र क्षेत्रीय शक्तिहरूबीच विगतमा सम्भव नठानिएको समायोजन र पुनर्समायोजनको प्रक्रिया तीव्र भइरहेको विश्लेषण गरे।

‘विश्वलाई विनाशतिर घचेट्ने कारण र प्रवृत्ति सक्रिय र शक्तिशाली भएको छ। रुस–युक्रेन युद्ध र इजरायल-हमास द्वन्द्वले युद्धको झिल्का जहाँबाट पनि निस्किएर कुनै पनि वेला दन्किन सक्ने चेतावनी दिएको छ,’ पाण्डेले भने, ‘एकतिर भारत, चीन र अमेरिकाको सामरिक राडारमा परेको जोखिमयुक्त तथ्यप्रति चनाखो शासकीय संयन्त्र बनाउन र वैदेशिक सम्बन्ध परिपक्व ढंगमा सञ्चालन गर्न नेपाल चुक्दै गएको छ, अर्कोतिर आफ्ना विरुद्ध तेस्रो पक्षबाट आउने दबाब वा हुने षड्यन्त्र रोक्ने नेपालको क्षमतामा दुवै छिमेकीहरूको अनपत्यार बढ्दै गएको छ।’

यो अवसरलाई पत्यारिलो शैलीमा सम्बोधन गर्न नेपालले ढिलो गर्नु नहुने पनि पाण्डेले उल्लेख गरेका छन्। ‘विशेष गरी राष्ट्रिय सुरक्षाको अभेद्य कवच युवा शक्ति देश छाडेर विदेश पलायन हुने प्रवृत्ति कहालीलाग्दो संख्यामा बढिरहेको, गाउँ र जिल्लामा वृद्ध र बालक मात्रै रहने अवस्था बनिरहेको र प्रभाव बढाउँदै लगेका विदेशी शक्तिहरू नेपालमा आफूले व्यवस्थापन गर्न सक्ने राजनीतिक अस्थिरता रुचाउन थालेकाले नेतृत्वमा बसेका मित्रहरूलाई सचेत हुन आग्रह गर्दछु,’ उनले भनेका छन्।

ad
ad