१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १२:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पर्यटकसँगै रारामा बढ्यो फोहोरको समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:३८:oo

कर्णाली प्रदेशकै मुख्य पर्यटकीयस्थल रारा ताल क्षेत्रमा यातायातको सहज पहुँच पुगेसँगै पर्यटकहरूको आवागमन बढ्न थालेको छ। पर्यटकको चहलपहलसँगै पछिल्ला वर्षहरूमा ताल आसपासका क्षेत्रमा फोहोरसमेत बढिरहेको छ।

विशेष गरी रारा पुगेपछि पर्यटकको रोजाइको केन्द्र बन्ने मुर्माटप हिमाल र मिली चौरमा धेरै फोहोर हुन थालेको छ। फोहोरमैलाको उचित व्यवस्थापन गर्ने भरपर्दो माध्यम नहुँदा पर्यटकले उपभोग गरेका बिस्कुट, चाउचाउ, पानी तथा बियरका बोतल, चकलेट, पेय पदार्थलगायत अन्य प्रयोगमा आएका प्लास्टिक र कागजहरू जथाभावी फाल्ने समस्याले रारा आसपासका ठाउँहरूमा फोहोर बढ्दै गएको हो।

गत साउन १ देखि मंसिर मसान्तसम्म रारामा ६ हजार २७५ पर्यटक आएका थिए। जसमध्ये सार्क मुलुकका २६ जना र अन्य मुलुकका ९९ जना छन्।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख संरक्षण अधिकृत राजु घिमिरेकाअनुसार रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई निकुञ्ज क्षेत्रभित्र कुनै प्रकारको फोहोर नगर्न सचेत गर्ने गरिएको छ। यद्यपि, केही पर्यटकले जथाभावी फोहोर फ्याँक्दा ताल र आसपासका ठाउँहरूमा फोहोर बढ्दो छ।

रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका कर्मचारीले पटक-पटक फोहोर संकलन गरी व्यवस्थापन गर्दै आए पनि दैनिकजसो आउने पर्यटकहरूले फोहोर खाल्डोमा नफाली जताततै फाल्दा ताल क्षेत्रमा फोहोर बढेको उनको भनाइ छ।

हरेक महिनाको  दोस्रो शुक्रबार  निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारी मिलेर फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएका निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जको चारैतिर फोहोर फाल्ने खाडलहरू बनाएको भए पनि खाडलमा जम्मा भएको फोहोर कहिलेकाहीँ चराचुरुंगी र जनावरले पनि बाहिर निकालिदिने हुँदा फोहोर बाहिर देखिएको रारा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू बताउँछन्। पर्यटकको भिडभाड बढ्दो क्रममा रहेकाले फोहोरको उचित व्यवस्थापनका लागि ढक्कन भएका डस्टबिनहरू राख्ने निकुञ्जले जनाएको छ।

केही वर्षअघि नेपाल टेलिकमको सहयोग तथा छायानाथ-रारा नगरपालिकाको पहलमा निकुञ्जका विभिन्न स्थानमा ढक्कन भएका डस्टबिन राखिए पनि रातारात सबै डस्टबिन चोरी भएको थियो। त्यसयता सम्बन्धित निकायले खाल्डो खन्नेबाहेक अन्य पहल नगर्दा बतास वा चराचुरुंगीले फोहोर छरिदिने हुँदा फोहोर देखिने गरेको प्रमुख संरक्षण अधिकृत घिमिरेले बताए।

वर्षौँदेखि राराको विकासको नाममा आउने करोडौँ रकम  बालुवामा पानीजस्तै भएको स्थानीयको आरोप छ। रारामा आउने प्रदेश सरकार र संघीय सरकारका योजना कसरी माग हुन्छ, कहिले सम्झौता हुन्छ र कहिले कोबाट अनुगमन हुन्छ आफूहरूलाई पत्तो नहुने छायानाथ-रारा नगरपालिकाकी उपप्रमुख ऎश्वर्या मल्लले बताइन्।

ad
ad