१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संघीय सरकार र संसदमा केन्द्रीकृत मानसिकता हाबी : मुख्यमन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:१५:oo

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार र संसदमा केन्द्रीकृत मानसिकता हाबी भएका कारण संघीयता कार्यान्वयनमा समस्या आएको आरोप लगाएका छन् । शुक्रबार हेटौँडामा पत्रकारहरूसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले संघीय सरकार र संघीय संसद्का प्रतिनिधिहरूमा केन्द्रीकृत मानसिकता रहेको आरोप लगाएका हुन् । उनले सरकार र संसद् दुवैले प्रदेशलाई अधिकार दिन नखोजेको बताए ।

‘संघीयता कार्यान्वयनमा अझै संघीय सरकार र प्रतिनिधिसभा संसदमा केन्द्रीकृत मानसिकता हाबी छ । उनीहरू प्रदेशलाई अधिकार दिँदा आफू कमजोर हुन्छौँ भन्ने सोचाइ राख्छन् । जुन संघीयताविरोधी कुरा हो,’ उनले भने ।

संघीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको उनले दाबी गरे । प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटनाक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । ‘कोशी प्रदेशले केही हदसम्म केन्द्रलाई दबाब दिने र अधिकार लिने काम गरेको छ। हेटौँडामा भइरहेको मुख्यमन्त्रीहरूको बैठकबाट फरक शैलीबाट अघि बढ्ने निर्णय गर्छौँ । हाम्रो प्रयासले संघीय सरकार र सुतिरहेको प्रतिनिधिसभालाई दबाब दिएर अधिकार विकेन्द्रीकरणका लागि घचघच्याउने काम गर्नेछ,’ मुख्यमन्त्री कार्कीले भने ।

संघीय संसदमा प्रतिनिधि बनेकाहरूले समयमा नै साझा अधिकारका सूचीका कानुनहरू निर्माण नगर्दा र अधिकार प्रत्यायोजन नगर्दा संघीयता कार्यान्वयनमा थप समस्या परेको उनको भनाइ छ । संघीय सांसदहरूमा नै केन्द्रीकृत शासन व्यवस्थाप्रतिको मानसिकता कायम रहेकाले संघीयताको मर्मअनुसार संसदमा अधिकार प्रत्यायोजनका लागि आवश्यक कानुन निर्माणको पहलकदमी हुन नसकेको उनले दाबी गरे ।

ad
ad