१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक : मन्त्रीहरूको समीक्षा र राष्ट्रिय सभाका उम्मेदवारको विषय मुख्य एजेन्डा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:२९:oo

कांग्रेसले आफू सहभागी सरकारको काम र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन समीक्षा गर्ने भएको छ । बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा सरकारको समीक्षाको विषयलाई एजेन्डाका रूपमा प्रवेश गराउन लागेको हो । बैठकका एजेन्डाबारे बुधबार सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच धुम्बाराहीमा छलफलसमेत भएको थियो ।

महामन्त्री शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारको विषय एजेन्डाका रूपमा लैजान लागेको जानकारी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकवर्षे समीक्षा गरेसँगै कांग्रेसले पनि आफू सहभागी सरकार र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्न लागेको जानकारी दिए । बैठकपछि मन्त्री फेरबदल हुने–नहुने विषयमाथि छलफल हुने उनको भनाइ छ । ‘प्रधानमन्त्रीले चाहँदा पनि मन्त्री फेरबदल हुन सक्छ । केन्द्रीय समिति बैठकमा पनि मन्त्री फेरबदलको विषय उठाउँछौँ । प्रधानमन्त्रीको एक वर्षको समीक्षा आएको छ । कांग्रेसबाट सरकारमा रहनुभएका मन्त्रीहरूबाट के कति काम भए–भएनन्, समीक्षा गछौँ । त्यसपछि मन्त्रीहरूको भविष्यबारे टुंगो लाग्नेछ,’ उनले भने । 

विश्वप्रकाश शर्मा महामन्त्री, कांग्रेस
प्रधानमन्त्रीले चाहँदा पनि मन्त्री फेरबदल हुन सक्छ । केन्द्रीय समिति बैठकमा पनि मन्त्री फेरबदलको विषय उठाउँछौँ । प्रधानमन्त्रीको एक वर्षको समीक्षा आएको छ । कांग्रेसबाट सरकारमा रहनुभएका मन्त्रीहरूबाट के कति काम भए–भएनन्, समीक्षा गछौँ । त्यसपछि मन्त्रीहरूको भविष्यबारे टुंगो लाग्नेछ ।

कांग्रेसमा मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर असन्तुष्टि देखिँदै आएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा कांग्रेसबाट नौ मन्त्री छन् । ती मन्त्रीको कार्यसम्पादन उत्कृष्ट नभएको भन्दै पार्टीमै आलोचना हुँदै आएको छ । यसअघिको कार्यसमिति बैठकमा पनि पार्टी र सरकारको कार्यशैलीमा तालमेल नभएको भन्दै आलोचना भएको थियो । त्यसपछि सभापति शेरबहादुर देउवाले विधानअनुसार दुई महिनामा र कांग्रेसले पारित गरेको कार्यतालिकाअनुसार दुई महिनाको पहिलो साता बैठक राख्नुपर्नेमा सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठ्ने र फेरबदलको विषय उठ्ने सम्भावना देखेपछि बैठक टार्दै आएका थिए । सभापति देउवाले राष्ट्रिय सभा निर्वाचनअघि विवाद रोक्न विभाग गठनलगायत कामलाई थाती राख्दै आएका छन् । केन्द्रीय सदस्य प्रदीप पौडेललगायतले देउवालाई बैठक बोलाउन पटक–पटक दबाब दिँदै आएका थिए । गत ४–८ असोजमा बसेको केन्द्रीय समिति बैठकपछि केन्द्रीय समितिको बैठक बसेको छैन ।

बैठकमा मुख्य रूपमा राष्ट्रिय सभामा उम्मेदवारको विषय एजेन्डाका रूपमा छ । २९ मंसिरमा बसेको कार्यसम्पादन समिति बैठकले १० पुसभित्र प्रदेशलाई नाम पठाउन निर्देशन दिएको थियो । तर, धेरै आकांक्षी र विवादको सम्भावनाका कारण प्रदेशले सबै आकांक्षीको सूची केन्द्रमा पठाएका छन् । 

कांग्रेस विधानको धारा ३२ को उपधारा ९ मा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने क्षेत्रका एक सिटका प्रदेशले सहमति या बहुमतबाट तीनजनाको नाम निर्णय गरी केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ । यसरी आएका नामबाट केन्द्रीय संसदीय समितिले टुंगो लगाउनुपर्ने र केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर, कांग्रेसले हालसम्म संसदीय समिति गठन गरेको छैन । यसअघिका तीनै तहको निर्वाचनमा पनि सभापति देउवाले संसदीय बोर्ड गठनमा कुनै चासो दिएका थिएनन् । कांग्रेसको शेखर–गगन समूहले भने नयाँलाई अवसर दिनुपर्ने, उम्मेदवार छनोटमा मापदण्ड बनाउन र बोर्ड गठनका लागि दबाब दिने तयारी गरेको छ ।

उम्मेदवारको टुंगो भने केन्द्रीय समिति बैठक सकिएसँगै लगाउने तयारी छ । महामन्त्री शर्माले बैठकपछि गठबन्धन दलमा छलफल गर्ने र १८ पुसपछि उम्मेदवारको टुंगो लाग्ने बताए । ‘केही दिन बैठक लम्बिन सक्छ । गठबन्धनमा पनि छलफल गर्नुपर्नेछ । सम्भवतः १८ पुसपछि उम्मेदवारको टुंगोमा पुग्नेछौँ,’ उनले भने । 

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बैठकले मापदण्ड बनाउने र उम्मेदवारको टुंगो नेतृत्वले टुंग्याउने गरी जिम्मेवारी दिने तयारीमा रहेको बताउँछन् । बैठकमा संस्थापन पक्षकै नेताहरूले सिफारिसमा अधिकांश अवसर पाएकाको नाम समेटिएको भन्दै ‘नयाँलाई अवसर’का लागि दबाब दिने तयारी गरेका छन् । राष्ट्रिय सभाका १९ सदस्यीय चुन्न ११ माघमा हुन निर्वाचन हुँदै छ । २३ पुसमा मनोनयनको मिति छ । 

ad
ad