१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
भीम रेग्मी
२o८१ जेठ ४ शुक्रबार o७:२१:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

नेपालको ‘जेड पुस्ता’ र विश्वविद्यालयको अवस्था

नेपालको शैक्षिक विकासको चरण र नेपालका विश्वविद्यालयको विकासक्रमलाई हेर्दा ‘जेड पुस्ता’ सन्तुष्ट हुन सक्ने ठाउँ भेटिन्न

Read Time : > 5 मिनेट
भीम रेग्मी
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:२१:oo

परिचय   पुस्तान्तरणको समयलाई पश्चिमाहरूले सन् १९०१ देखि २०१२ सम्मलाई विभिन्न चरणमा फरक–फरक शैलीका पाँच पुस्ता मान्छन् । १९९७ देखि २०१२ को अवधिमा सामाजिक सञ्जालको विकाससँग जन्मेको र हुर्केको पुस्तालाई जेड पुस्ता (जेनेरेसन जेड) भनेर चिनिन्छ । जेड पुस्ताले हाल विश्वको जनसंख्याको २५ प्रतिशत र बजारमा सात ट्रिलियन अमेरिकी डलरबराबरको सामान खरिदमा प्रतिनिधित्व गर्ने तथ्यांकले देखाएको छ । संसारमा हाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको संख्यामा यही उमेरको पुस्ता नै धेरै छ । 

विश्वमा २०२५ सम्मको मानिसको कार्यशक्तिलाई हेर्दा यो समूहमा २७ प्रतिशत श्रमशक्ति समावेश हुन्छ । यो पुस्ता निकै समानुभूतिशील, सनकी, आत्मसुरक्षात्मक र आफ्नो समयभन्दा निकै परसम्म हेर्न र बुझ्न रुचाउने समूहमा पर्छ । लैंगिक रूपमा सहयोगी, सौन्दर्य मापदण्डमा रुचि राख्ने, भेदभावविरुद्धको लडाइँमा समर्थन गर्ने र देश वा कुनै पनि संस्थाका नीति, प्रक्रिया र लाभमा जोडिएर आफ्ना आवश्यकता पूरा गर्न तयार हुनु यस पुस्ताको विशेषता हो ।  

आजको जेड पुस्ता ‘सहस्राब्दी पुस्ता’ (१९८१ देखि १९९६ मा जन्मेको पुस्ता) भन्दा प्रविधिमा निपूण र सहज छ । जेड पुस्तामध्ये धेरैजसो कम्प्युटर, ल्यापटप, सेलफोन, इन्टरनेट र सामाजिक सञ्जालसाथ हुर्केका छन् । यो पुस्ता पछिल्लो चरणमा कोभिड महामारीदेखि विश्वको आर्थिक संकटबारे समेत सचेत छ । पैसा बचत गर्न ध्यान दिने र पैसाले सबै कुरा बन्छ भन्ने मनस्थितिमा हुर्केको यो पुस्ता धेरै अपरिचित खतरा वा अनिश्चितताको भावनासँग पनि परिचित छ । त्यसैले उनीहरू आफ्नो र सार्वजनिक सुरक्षाबारे निकै चिन्तित छन् । खण्डित परिवार र सामाजिक सम्बन्ध टुटेको यो समूहसँग बलियो पारिवारिक संरचना भने छैन । 

यो पुस्ता राष्ट्रियताको कुरा गरेर साँघुरिनुभन्दा आफूलाई विश्वव्यापी नागरिक ठान्छ । उद्यमी भावनाको विकास भित्रैदेखि पलाएका कारण यिनीहरू विचारमा खुला छन् । र, विश्वको बिग्रिँदो पर्यावरणबारे उनीहरूमा गहिरो चिन्ता र चासो छ ।१९९७ मा जन्मेको यो पुस्ता अहिले २६ वर्षको भएको छ । पछि यिनको सोचमा आउने विकासबारे सबै निष्कर्ष अहिल्यै निकाल्न भने गाह्रो छ । अर्थव्यवस्था, वातावरण र विश्वको अवस्थाका कारण अस्थिरता र असुरक्षाको भावना बढ्न पनि सक्छ । विचारमा स्वतन्त्र र संसारभरका मानिसलाई साथी बनाएर आफू बसेको विश्वलाई मार्सल म्याक्लुहानले १९६२ मा नयाँ प्रविधिमाथिको अन्तरनिर्भरताले विश्व एउटा गाउँ बनेको भन्ने कुरामा यी सहमत छन् । तसर्थ, मिडिया प्रविधिको प्रयोगबाट विश्वभरका मानिसलाई एक सूत्रमा जोड्ने अभियानमा पश्चिमको जेड पुस्ता तल्लीन छ ।

 जेड पुस्ता र नेपालको उच्च शिक्षा :  नेपालमा २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना हुँदा नेपालको सर्वांगीण विकासका लागि दक्ष जनशक्ति तयार पार्ने, स्तरयुक्त उच्च शिक्षा दिलाउने, विविध पक्षमा अनुसन्धान गर्नेजस्ता उद्देश्य लिइएका थिए । २००७ सालको प्रजातन्त्रका लागि लड्ने पुस्ता वैश्विक रूपमा हेर्दा परिवार उछालको पुस्ता थियो र उक्त पुस्ताको राजनीतिमा प्रभाव रहेको समयमा त्रिभुवन विश्वविद्यालय स्थापना भएको हो । तर, त्रिविदेखि नेपालमा रहेका अन्य विश्वविद्यालयमा अहिले यही जेड पुस्ता नै सक्रिय विद्यार्थीका रूपमा कक्षाकोठामा छ ।  

विश्वविद्यालयमा अब आउने पदाधिकारीले अनुसन्धानले देखाएका परिणामका आधारमा निश्चित प्रक्रिया अघि सारेर ‘जेड पुस्ता’को मनोभावनालाई पूरा गरेमा मात्र नेपालको उच्च शिक्षाले फड्को मार्न सक्छ
 

नेपालको शैक्षिक विकासको चरण र नेपालका विश्वविद्यालयको विकासक्रमलाई हेर्दा जेड पुस्ता सन्तुष्ट हुन सक्दैन । नेपालको आजको सामाजिक, सांस्कृतिक, आर्थिक र प्राविधिक विकाससित यो पुस्ता शारीरिक र मानसिक रूपमा सन्तुष्ट नभएकै कारण आफूलाई कमजोर र निराश ठान्छ । प्रविधिमा निकै रुचि राख्ने, कुनै पनि समस्याबारे कसैसित सम्झौता नगर्ने र तोकिएको समयमा काम सम्पन्न गर्न रुचाउने यो पुस्ता नेपालको उच्च शिक्षाबारे निकै सशंकित छ । समयमा विद्यार्थी भर्ना नहुने, कक्षा नियमित सञ्चालन नहुने, क्यालेन्डरअनुसार परीक्षा सञ्चालन नहुने र समयमै नतिजा प्रकाशित नहुनेजस्ता कारणले उनीहरूमा नेपालको उच्च शिक्षाबारे नैराश्य बढेको छ । 

यो उमेर समूहका युवाले मानिसको दैनिक व्यवहारलाई केन्द्रमा राख्छन् । उनीहरूले कक्षाकोठादेखि प्रविधि प्रयोगमा शिक्षकबाट बढी अपेक्षा राख्छन् । तर, शिक्षकको सिकाउने पुरानो शैलीका कारण उनीहरूमा सिक्ने प्रतिबद्धता घट्दै गएको छ । प्रविधिमा पहुँच नहुने आर्थिक रूपले कमजोर विद्यार्थीले अरू सहपाठीभन्दा आफूलाई कमजोर पाएका छन् । सरकारले सामाजिक दायित्वअन्तर्गत आर्थिक रूपले कमजोर र दुर्गममा जन्मेका जेड पुस्ताका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउनुपर्छ । र, नेपालका विश्वविद्यालयमा अब आउने पदाधिकारीले अनुसन्धानले देखाएका परिणामका आधारमा निश्चित प्रक्रिया अघि सारेर जेड पुस्ताको मनोभावनालाई पूरा गरेमा मात्र नेपालको उच्च शिक्षाले फड्को मार्न सक्छ ।

उल्लिखित संकथनलाई केन्द्रमा राख्दा वर्तमान समयमा नेपालको उच्च शिक्षामा देखिएका चुनौती समाधान हुन नसकेका कारण नै बाह्र कक्षा पास भएका विद्यार्थी नेपालमा बस्न चाहँदैनन् । नेपालका विश्वविद्यालयमा भर्ना नखुल्दै विदेशी सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी भर्ना हुने संख्या ह्वात्तै बढेको छ । ०६२–६३ पछि नेपालमा धेरै विदेशी विश्वविद्यालयले पढाइ थालेका छन् । नेपालमा आबद्ध भएको जनाउँदै सञ्चालनमा आएका कलेजले विद्यार्थीको भविष्य र देशको शैक्षिक प्रणालीमाथि प्रश्न उठाएका छन् । नेपालमा यस्ता विदेशी कलेजले कक्षा १२ को नतिजा आउनुअगाडि नै विद्यार्थी भर्ना गरेका कारण नेपालका त्रिविलगायत अन्य विश्वविद्यालयलाई विद्यार्थीको अभाव भएको छ । तसर्थ, नेपालको शिक्षा क्षेत्रका छिरलिएका मुद्दालाई प्राविधिक र सामाजिक चुनौती मानेर नयाँ प्राज्ञिक प्रक्रियाको दृष्टिकोणबाट छलफलसहित उचित निकास निकाल्नु आवश्यक छ । 

अध्ययनले देखाएअनुसार जेड पुस्ताका विद्यार्थीको विचारमा शैक्षिक प्रक्रियाको दक्षताका लागि सबैभन्दा महत्वपूर्ण पाटो भनेको अनुसन्धानको निष्कर्षअनुसार आफूलाई बदल्नु हो । उनीहरूले प्राप्त परिणामका आधारमा नयाँ, आकर्षक करिअरका लागि शिक्षालय सल्लाहकार बनेको देख्न चाहन्छन् । तथ्यले देखाएअनुसार उनीहरू अविश्वसनीय रूपमा लचिलो तर शिक्षाको कुरा आउँदा आफ्नै मार्ग तयार पार्ने इच्छाशक्तिमा दृढ छन् । यस कथ्यबाट बुझिने भनेको उनीहरूसँग सीपमा–आधारित प्रशिक्षण र आजीवन शिक्षाको आवश्यकताबारे गहिरो सम्बन्ध होस् र यस्तो शिक्षाले भविष्यको बाटो तयार बनाओस् भन्ने चाहन्छन् ।  

०७८ को जनसंख्याको आँकडाअनुसार नेपालमा यो पुस्ताको संख्या ३१.७ प्रतिशत छ । विश्वमा हेर्दा यो पुस्ताको ५४ प्रतिशत युवाले प्रत्येक दिन चार घन्टा सामाजिक सञ्जालमा समय बिताउँछन् । ३० प्रतिशत युवाले त्योभन्दा बढी समय फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक आदिमा बिताउँछन् । प्रत्येक आठ सेकेन्डमा आफूले सोचेजस्तो भएन भने ध्यान केन्द्रित गर्न नसक्ने सनकी स्वभाव उनीहरूमा छ । कुनै पनि विषयमा झुटलाई पचाउन नसक्ने र लामो समयसम्म पर्खेर एउटै शैक्षिक तहमा पढ्न नरुचाउने यो समूहले पढाइका साथसाथै कमाइमा पनि ध्यान दिन्छ । लामो र पट्यारिलो शैक्षिक सत्र यिनलाई मन पर्दैन । 

०६२–६३ को परिवर्तन र जेड पुस्ता :  वैश्विक रूपमा नेपालको जेड पुस्ता माओवादीले १९९६ मा सशस्त्र युद्ध सुरु गरेको एक वर्षपछि जन्मेको हो । १० वर्षे युद्धलाई सुनेको, पढेको र पारिवारिक रूपमा भोगेको यो पुस्ता २००६–०७ को शान्ति प्रक्रियापछि नेपालीमा उर्लिएको आकांक्षासँगसँगै हुक्र्यो । ०७२ को भूकम्पको त्रासदी, संविधान घोषणाको समयको नाकाबन्दी र कोभिडको त्रासबारे यो पुस्ता जानकार छ । ०२० पछि कोभिडसँगै नेपालको जेड पुस्ताले औँलाको टुप्पामा प्रविधिलाई राखेको छ ।

उनीहरू आफूलाई डिजिटल युगको मूल निवासी ठान्छन् । आफ्नो अनौठा अनुभव र अध्ययनका कारण विश्वदेखि नेपालमा बिग्रेको अर्थ–राजनीतिका कारण आफ्नो जीवनका अपेक्षा कमजोर बनेको सोच्छन् । उनीहरूका प्राथमिक अपेक्षामध्ये पढाइ र कार्यस्थलको वातावरण मैत्रीपूर्ण र लचिलो हुनुपर्छ ।

जेड पुस्ता डिजिटल युगमा हुर्किसकेको छ । उनीहरूसँग प्रविधिसँग सहज र प्राकृतिक सम्बन्ध छ । विश्वमा सबैभन्दा विविधता अपनाएको पुस्ता पनि यही हो । उनीहरूले कक्षाकोठामा समावेशिता र विविधतालाई महत्व दिन्छन् । यो पुस्ताले परम्परागत मापदण्डलाई चुनौती दिन्छ । उनीहरूले आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनमा सन्तुलन राख्न खोज्ने हुँदा राजनीतिमा पनि यस्तै हेर्न चाहन्छन् । सन् १९९६ अघिको भन्दा यो पुस्ता सिर्जनशील, महत्वाकांक्षी, व्यावसायिक र आफ्नो उद्देश्यतिर निर्देशित देखिन्छ । आजको २१औँ शताब्दीमा यो पुस्ताका विद्यार्थीका लागि शीर्ष प्राथमिकतामा क्यालेन्डरमा चल्ने शैक्षिक संस्था र तिनको जीवनका आवश्यकता पूरा गर्न सक्ने विश्वविद्यालय बनाउनुपर्ने देखिन्छ । 

यो पुस्ता आफ्नो सफलता सिर्जना गराउने किसिमको उच्च शिक्षा चाहन्छ । नेपालका विश्वविद्यालयले तिनलाई सीप विकास गर्न प्रविधि र अनुसन्धानको पाटोसित जोडेर पढाउनु आवश्यक छ । यसैलाई नै यस पुस्ताले ठूलो अवसर मान्छ । उनीहरूलाई शिक्षकले सह–शिक्षाकर्ताका रूपमा व्यवहार गरेर शैक्षिक प्रमाणपत्रलाई विश्वविद्यालयले पुँजीकरण गरिदिनु आवश्यक छ । उनीहरू असल शिक्षकसित जीवनको पाइलटभन्दा पनि पहिला सहचालक बन्न खोज्छन् । तसर्थ, उनीहरूका लागि सहभागितामूलक शिक्षणविधि मुख्य हो । यो पुस्ताले शिक्षामार्फत आफूलाई स्क्रिन एडिक्ट नबनाई शिक्षाले ब्रान्ड प्रबन्धक बनाएको हेर्न चाहन्छ । 

निष्कर्ष :  विद्यार्थी जीवनचक्रलाई सीप निर्माणको अवसरका रूपमा बदलेर उनीहरूको भविष्यको बाटो भेटाउन सहयोग गर्ने शिक्षा यस पुस्ताको आवश्यकता हो । यो समूह शिक्षालाई पैसाको अर्थोपार्जनसित जोड्न चाहन्छ । यो समूहका विद्यार्थी आर्थिक क्षमताका लागि शिक्षित हुन र आफूलाई तयार पार्ने अवसर खोज्न उच्च शिक्षाका केन्द्र धाइरहेका हुन्छन् । उनीहरूको मुख्य सोच भनेको आफ्नो सोचअनुसारको क्याम्पस वा विश्वविद्यालय होस् भन्ने हो ।

आफ्नो अपेक्षाअनुसार उच्च शिक्षा पूरा हुन्छ भन्ने बुझाइसाथ पढाइका लागि भर्ना हुन्छन् । यदि आफ्नो सोचलाई हाम्रा शिक्षा केन्द्रले बाटो नदेखाएमा बीचैमा कक्षा छोड्ने र निराश बन्ने यो समूहको मनोभावना बुझेर हामीले हाम्रा विश्वविद्यालयलाई बदल्नैपर्छ । यदि तिनले सीप र कामकेन्द्रित शिक्षा पाएनन् भने शारीरिक र मानसिक रूपले निकै कमजोर र निराश बन्छन् । शिक्षा क्षेत्रमा हुने झुटा आश्वासन तिनलाई मन पर्दैन । अब हाम्रो साझा लक्ष्य भनेको हामी बदलिन्छौँ र नेपाललाई बदल्छौँ भन्ने हुनैपर्छ । र, नेपालको उच्च शिक्षामा हुर्केका गलत कथ्य र सूचनालाई हटाएर तालिकाअनुसारको पढाइ र परीक्षाको सामयिक नतिजाले मात्र अबका विद्यार्थीको आत्मबल बढाउँछ भन्ने नेपालका विश्वविद्यालयले बुझ्न ढिलो गर्नुहुँदैन । 

(रेग्मी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छन्)

 

ad
ad