१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
भीम रेग्मी
२o८१ जेठ ४ शुक्रबार o७:o८:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

हाम्रो शिक्षा र समाजको दूरी

दिगो भविष्य सिर्जना गर्न हौसला दिने शिक्षाले नै राम्रो समाज निर्माण गर्न सक्छ

Read Time : > 5 मिनेट
भीम रेग्मी
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:o८:oo

२१ औँ शताब्दीले हामीलाई अभूतपूर्व चुनौती दिएको छ । नयाँ परिस्थितिसँग जुध्न नागरिकलाई कसरी सक्षम बनाउने भन्नेमा शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ । तर, हाम्रो तयारी र सोच बिलकुल अनुकूल छैन । शिक्षकले विद्यार्थीलाई कसरी कल्पनाशील, सिर्जनात्मक र स्वावलम्बी बनाउँछन् र नीति–निर्माताले कसरी उपयुक्त शिक्षाको डिजाइन गर्न सक्छन् भन्नेले आधा काम फत्ते गर्छ । अहिले हाम्रा स्कल कस्ता देखिन्छन् ? सहरमा समेत धेरै स्कुल गतिला छैनन्, कैयाैँ त संरचनाविहीन छन् । गाउँका संरचनाका हिसाबले केही स्कुल हेर्न लायक भए पनि बाँकी गोठभन्दा कमजोर छन् । के यस्ता संरचना भएका स्कुलले विद्यार्थीलाई भोलिको चुनौती सामना गर्न तयार पार्न सक्छन् ? 

हाम्रो इतिहास :  थापाथली स्कुललाई नेपालको पुरानो स्कुल भनिए पनि सत्य होइन । महोत्तरीको मटिहानी स्कुल १६औँ शताब्दीको मानिन्छ । भोजपुरको दिङ्लामा षडानन्दले सुरू गरेको गुरुकुल, अर्घाखाँचीको हरिहर पीठ, पर्वत पांगमा सुरू भएको ज्योतिष पढाइ नेपालको शिक्षाका पुराना रैथाने केन्द्र थिए । पाणिनीले झेलम नदीको छेउ पाकिस्तान र अफगानिस्तानको बीचमा गुरुकुल चलाएका थिए । राजर्षि जनकले अष्टावक्रलाई दिएको सम्मानले उनको शिक्षाप्रतिको लगाव देखिन्छ । विश्वामित्रले सुरू गरेको कौशिकी सभ्यता, याज्ञवल्क्यले गुरु वैशम्पायनसँग विद्रोेह गरी प्राप्त गरेको ज्ञान, रघुवंश महाकाव्यअनुसार जैमिनिले रिडीको छेउछाउमा गरेको शिक्षा क्षेत्रको काम उल्लेखनीय छन् । 

गौतमबुद्धले सारनाथबाट शिक्षाको सुरुवात गरेका थिए । बुद्धको संघ निर्माण शिक्षाको प्रचार–प्रसारसँग जोडिएको थियो । नेपालमा याज्ञवल्क्य, विश्वामित्र, जैमिनि र बुद्ध आदिले प्राचीन गुरुकुल चलाए । इमानसिंह चेम्जोङका अनुसार किराँतको वेद भनेर चिनिने मुन्धुम शिक्षाले नेपालको शिक्षामा भूमिका खेलेको थियो । तर, २०२८ पछि सञ्चालनमा आएको शिक्षाले हाम्रा पुराना केन्द्रलाई विनिर्माण गरेर लागू गरेको नयाँ शिक्षामा हामी पारंगत हुन सकेनौँ । परिणामतः हाम्रा राम्रा विद्यार्थी १२ कक्षाको परीक्षा दिएपछि राहदानी बनाउने भिडमा उभिनुपर्ने परिस्थिति भयो । 

समस्या :  हाम्रा स्कुल तन्दुरुस्त छैनन् । समाजले शिक्षकप्रति हेयभाव राख्छ । तथापि, हाम्रो समयमा पहिलेका शताब्दीको तुलनामा परिवर्तन द्रुतगतिमा भएका छन् । पृथ्वीमा जीवनको अवस्था परिवर्तन हुँदै छ । तापक्रम बढ्दै गइरहेको छ, थुप्रै प्रजाति लोप भइरहेका छन् । हामी ठूला र विकसित देशको बीचमा, तर कुरामा मात्र लट्ठिएका छौँ । यसले हाम्रो सम्भावनाको खोजी गर्दैन । फरक स्थानमा एकैसमयमा फरक गुणस्तरका प्रमाणपत्र विद्यार्थीलाई बाँडिरहेका छौँ । सन् २०१९ पछि विश्वव्यापी रूपमा महामारीले पारेको असर बुझ्न हाम्रो शिक्षा फलदायी हुन सकेन ।

 घुमन्ते सिकारी युग र नयाँ औद्योगिक समाज :  कृषिको युगभन्दा लगभग १२ हजार वर्ष पहिला मानिस ढुंगेयुगमा थियो । कृषिको विकाससँगै गाउँ र सहरको जन्म भयो । गाउँ र सहरवरपरका क्षेत्रमा अरूले उत्पादन गरेको देखेर कृषि उत्पादनको विकास हुन थाल्यो । एक पुस्ताबाट अर्काेमा ज्ञान र सीपहरूको हस्तान्तरण भयो । समाजमा परिवर्तन देखिन थाले । मानिसले विभिन्न समूहमा बसेर सीप र ज्ञान सिकेँ । पुरानो समाजले आवश्यकताअनुसार ज्ञान र सीपको प्रसारणलाई विविधीकरण गर्‍यो । औद्योगीकरणले युरोप पूरै बदलियो । यस जटिल समयमा सक्षम व्यक्तिको माग बढ्यो ।

स्कुलले विद्यार्थीलाई एक–अर्कासँग प्रतिस्पर्धा गर्न सिकाए । त्यसैले, उनीहरूले गम्भीर समस्या एक–अर्काको सहयोगबाट समाधान हुन्छ भन्ने सिक्न सकेनन् । अनावश्यक व्यक्तिगत प्रतिस्पर्धाले रचनात्मकता र स्वतन्त्र सोच हुर्काउनमा बाधा 
गरेको छ ।
 

ज्ञानको आवश्यकता बढ्यो । नयाँ औद्योगिक समाजमा नागरिकका आवश्यकता पूरा गर्न त्यसैअनुसारको पढाइ, लेखाइ आवश्यक भयो । हामी भने शक्तिपीठको पूजामा रमाएर बस्दै आयौँ । हाम्रो पुरानो ज्योतिष ज्ञान र विश्वकर्माको सीप जड वस्तु बनेर रह्यो । देश बनेन । राजनीतिक प्रणाली फेरियो । चिन्तन फेरिएन । ठूलो समस्या यहीँबाट सिर्जना भयो । 

२०औँ र २१औँ शताब्दीको शिक्षा :  २०औँ शताब्दी जनसंख्या विस्फोटनको समय बन्यो । यो समयले विज्ञान र प्रविधिको निरन्तर र द्रुत विकाससहित सूचना र सञ्चार क्षेत्रमा निकै विकास ग¥यो । २०औँ शताब्दीको सुरुमा करिब १.६ अर्ब रहेको जनसंख्याले शताब्दीको अन्तसम्म आइपुग्दा ६ अर्ब नाघ्यो । थपिएको जनसंख्यालाई खाना पु¥याउनमा शिक्षामार्फत भएका अनुसन्धानले सजिलो बनायो ।

शिक्षण र शिक्षाको विकासमा स्कुलमा कम्प्युटर र आइसिटी टेक्नोलोजीको प्रयोग यसै समयमा भयो । २०औँ शताब्दीको ८० को दशकदेखि सुरु भएको पश्चिमा शैलीको खुलाबजार नीतिका कारण शिक्षामा वैयक्तिक स्वतन्त्रताको कुराले हाम्रा प्राचीन शैलीका समाज भत्किए । शिक्षामा निकै अराजक दृश्य देखिन पुग्यो । समाजमा बढेको उपभोगवादको स्तर, जैविक क्षेत्रमा गम्भीर क्षति र बढ्दो आर्थिक असमानताले समाजमा द्वन्द्वको बिउ रोपियो । समाजमा शिक्षाको नभई शक्तिको होडबाजीमा शासक अन्धो नै बनेका छन् । 

हामीलाई मानव समाजको विकास गर्न सक्ने रैथाने शिक्षाको आवश्यकता छ । मानिसको साझा हितका खातिर जीवनको रक्षा गर्ने शिक्षा चाहिएको छ । तर, ज्ञानको रूपमा प्राप्त इन्टरनेटले मानिसलाई उपभोगवादी र स्वार्थी बनाएको छ । यस्तो समयमा शिक्षण र शिक्षाको विकासमा निकै चुनौती थपिएका छन् । हामीले जिउँदा सपना बाँड्न सकेका छैनौँ । अबको ३० वर्षपछि पुरानो सोच भत्केर नयाँ सोचको सुरु हुनेछ । तसर्थ, ३० वर्षपछिलाई सम्झेर शिक्षामा नयाँ नीति नबनाउने हो भने आगामी पुस्ताले अहिलेको पुस्तालाई राणाकालको जस्तै कालोयुगको रूपमा चित्रित गर्नेछ । 

अनुकूल शिक्षाको विकास :  स्कुलहरूले दिने शिक्षाले समाज निर्माणमा विभिन्न सम्भाव्यता बोकेको हुन्छ । स्कुल आफैँ राजनीति उद्देश्य पूरा गर्न खोलिएका हुन्छन् । तसर्थ, स्कुलहरू नेपालको राणाकाल, पञ्चायतदेखि आजसम्म प्रचलित शक्ति संरचनालाई टिकाउन नै खोलिएका थिए । ०६२–६३ पछि र विशेषगरी ०७२ को संविधानपछि नेपालमा नीति–निर्माताले हाम्रा स्थानीय ज्ञान, विश्वास र आवश्यकतामा आधारित हुने गरी सिर्जनशील नागरिक तयार पार्ने शिक्षा दिन चुकेका छन् ।  

नवीन ज्ञानले व्यक्ति र समुदायलाई अधिकार पनि दिन्छ । प्रचलित शक्ति संरचनामा समाजको फाइदाका लागि परिवर्तन गर्न तीनको क्षमता प्रयोग गर्छ । नेपालको शिक्षाले राजनीतिक आन्दोलनमा चेतना त थप्यो, तर समाज निर्माणमा कमजोर भूमिका खेल्यो । छिमेकी चीन र भारतको शिक्षाले सन् १९४० को दशकमा औपनिवेशिक शक्तिलाई समाप्त पारे । आज ती दुवै देश विकासको गतिमा लम्किँदा हामी टुलुटुलु हेरिरहनु युक्तिसंगत हुँदैन ।

कथित पहिलो विश्वको तुलनामा हाम्रो शैक्षिक प्रणाली निकै भुत्ते छ । उनीहरूले पाउलो फ्रेयर, जोन डेवे, एन्टोन मकरेन्को, निल्स सेभेरिन, ग्रुन्डटविग र अन्य धेरै रुपान्तरणकारी विद्वान्बाट सिके र समाजलाई सिकाए । हामीले पनि प्रगतिशील शिक्षाबाट समाज बदल्नुको विकल्प छैन । यसमा दक्षिण एसियाको रैथाने ज्ञान र सीपको प्रयोग हुनुपर्छ । बच्चाको पहिलो गुरुकुल परिवार भएको हुँदा हजुरबा, हजुरआमादेखि सामाजिक रूपमा सिकेका कथ्यबाट छुट्टिएको शिक्षाले नेपाली समाज निर्माणमा भूमिका खेल्न सक्दैन । 

हाम्रो स्कुल प्रणाली : आजसम्म हामीले सिकाउने भनेको घोक र लेख नै हो । किनकि हामीलाई नम्बर धेरै चाहिन्छ । स्कुलले अझै पनि बच्चाहरूलाई उत्तर औद्योगिक र कृत्रिम बौद्धिकताको समाज अनुकूलका सीप र ज्ञानबारे सिकाउन सकेका छैनन् । स्कुलले विद्यार्थीलाई एकअर्कासँग प्रतिस्पर्धा गर्न सिकाए । त्यसैले, उनीहरूले गम्भीर समस्या एकअर्काको सहयोगबाट समाधान हुन्छ भन्ने सिक्न सकेनन् । अनावश्यक व्यक्तिगत प्रतिस्पर्धाले रचनात्मकता र स्वतन्त्र सोच हुर्काउनमा बाधा गरेको छ । 

आजका विद्यार्थीले सामना गरिरहेका चुनौती सन् १९८० पछिका खुलाबजार नीतिका उपज हुन् । कुरामा समाजवादउन्मुख संविधान भन्ने र शिक्षा नीति खुलाबजारमा आधारित हुँदा समाजमा तालमेल देखिएन । पुँजीवादी प्रणालीका नकारात्मक पक्षले हाम्रो समाज भत्कायो । सबैका विरूद्ध सबैको प्रतिस्पर्धा अहिले सरकारले लिएको अर्थतन्त्रको पाटो हो । यसले मानिसलाई छोटो अवधिमा नै नाफाका लागि सोच्न र कार्य गर्न उत्प्रेरित गरायो । आर्थिक विकास नभई आर्थिक वृद्धिमा जोड दियो । समाज बदल्ने हो भने अनन्त आर्थिक वृद्धिको विचारलाई त्यागेर रुपान्तरणमुखी शिक्षाको सुरुवात गर्नुपर्छ । 

नयाँ पुस्तालाई सक्षम बनाउन नयाँ शिक्षा दिनुपर्छ । गलत चिन्तन र काममा प्रश्न गर्न सक्ने नागरिक बनाउनुपर्छ । व्यक्तिको सिर्जना र क्षमताको प्रयोग गरेर दिगोपनलाई बढाउनुपर्छ । तसर्थ, विद्यालय, शिक्षण र सिकाइ समाजमा छलफलको विषय हुनुपर्छ । यसले आउँदो पुस्तालाई यथास्थितिमाथि प्रश्न गर्ने, स्वतन्त्र रूपमा सोच्ने र समाजमा परिवर्तनका लागि प्रभाव पार्न सक्ने नागरिक बनाउँछ । 

पश्चिमाहरू आलोचनात्मक सोचको कुरा गर्दा सुकरात र पाउलो फ्रेयरको कुरा गर्छन् । हामी याज्ञवल्क्यले गुरु वैशम्पायनसँग विद्रोेह गरी ज्ञान निर्माणमा भूमिका खेलेकोदेखि एकलव्यले गुरु द्रोणविना पनि सीप सिकेको कुरा सिकाउन सक्छौँ । सुकरातले शिक्षामा द्वन्द्वात्मक विधि प्रयोग गरे । माक्र्सले हेगेलको आदर्शवादी बुझाइलाई समाज परिवर्तनार्थ द्वन्द्ववादको व्याख्या गरे । आलोचनात्मक सोचलाई उत्प्रेरित गर्न याज्ञवल्क्यदेखि सुकरात, माक्र्स र फ्रेयरको मूल्य–मान्यताबाट छलफलमा सहभागी बनाउने र प्रश्न सोध्ने शिक्षाको आधार बन्नुपर्छ । 

पाउलो फ्रेयरको भूमिका आलोचनात्मक सोचको विकास र विद्यार्थीलाई स्वतन्त्र पार्न महत्वपूर्ण छ । स्कुलमा शिक्षक, विद्यार्थी, समाज र राजनीतिक प्रणालीबारेमा जीवन्त बहस हुनुपर्छ । अन्यथा, ग्रुन्डटविगको भनाइमा त्यो स्कुल कालो स्कुल र त्यस्तो शिक्षा मृत्युको शिक्षा हुन जान्छ । उनी शिक्षण प्रक्रियालाई जीवन्त र प्रबुद्ध बनाउनेमा जोड दिन्थे । डेनमार्कका क्रेस्टन कोल्डले ग्रुन्डटविगको प्रणालीमा टेकेर विशेषगरी छोरी र किसानका बालबच्चाको शिक्षामा जोड दिए । उनीहरू परीक्षा दिन नभई साथी र शिक्षकसँग अन्तक्र्रियामा भाग लिन आउँथे । यो शिक्षा नेपालको ग्रामीण तहमा उपयोगी हुन्छ । 

जर्मनीका बिल्डुङले स्वखेतीको जर्मन परम्परालाई प्रयोग गरे । जर्मनीसँग सम्बन्धित ज्ञान र छविमा जोड दिएर स्थानीय दर्शनलाई शिक्षामा प्रयोग गरे । यसले व्यक्तिको मन र हृदयको सामन्जस्य गरेर बृहत्तर समाज निर्माण गराउन सहयोग ग¥यो । पृथ्वी हाम्रो साझा घर हो । हाम्रा बच्चा र भविष्यका पुस्ताका लागि दिगो संसार सिर्जना गर्नु हाम्रो साझा कार्य हो । यसैअनुरूपको शिक्षा आवश्यक छ । 

निष्कर्ष :  द्रुत परिवर्तनशील समाजमा युगानुकूल पुस्ता तयार गर्नु आजको चुनौती हो । अबको शिक्षा भोलिको समाज बदल्न र सामाजिकता बढाउन प्रयोग हुनुपर्छ । स्थानीय ज्ञान, सीप र भोगाइलाई जानेर लागू गर्ने नागरिक चाहिएको छ यतिखेर । सरकारले पूर्वाधारमा जस्तै शिक्षामा लगानी थप्नुपर्छ । हामीलाई शिक्षण र शिक्षाका लागि लक्ष्यको बृहत्तर अवधारणा चाहिन्छ । लक्ष्य फराकिला र प्रत्येक विद्यार्थीको समग्र विकास गराउने हुनु आवश्यक छ । शिक्षा मानव जातिलाई वर्तमान र आगामी समयमा सामना गर्ने विभिन्न चुनौतीका बारे बुझाउन सक्ने हुनुपर्छ । आफू र प्रकृतिको दिगो भविष्य सिर्जना गर्न हौसला दिने शिक्षाले नै राम्रो समाज निर्माण गर्न सक्छ ।
 (रेग्मी त्रिविमा प्राध्यापन गर्छन्)

ad
ad