मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
सुवास भट्ट काठमाडाैं
कमलराज भट्ट काठमाडाैं
२o८२ असार ३२ बुधबार o६:४७:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

७८ लाख घुस डिल गर्ने मन्त्री गुप्ताले दिए राजीनामा, भूमि व्यवस्थामन्त्री अधिकारी पनि कठघरामा

सांसदहरूको माग– गुप्तासँगै भूमि व्यवस्थामन्त्री अधिकारीमाथि पनि छानबिन हुनुपर्छ

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार o६:४७:oo

‘घुस खाइसकेको’ सहकर्मी मन्त्रीको दाबी र त्यसलाई बल पुर्‍याउने घटनाक्रम देखिएकाले मन्त्री अधिकारीमाथि पनि छानबिन गर्नुपर्ने माग

कास्की मालपोतका तत्कालीन प्रमुखको सरुवा थमौती गर्न ५३ लाख घुस खाएको र जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्त गरिदिन भन्दै २५ लाख घुस डिल गरिरहेको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका संघीय मामिलामन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । तर, उनले ‘घुस खाइसकेको’ भनेर पोलेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई भने उन्मुक्तिको प्रयास भएको छ । सहकर्मी मन्त्रीले नै घुस खाएको दाबी गरेपछि मन्त्री अधिकारीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने माग सांसद र सुशासनविद्हरूको छ । 

अडियो प्रकरण, उजुरी र घटनाक्रमले मन्त्री अधिकारीलाई छानबिनको दायरामा ल्याउनुपर्ने सांसदहरूको माग छ । तर, प्रधानमन्त्री केपी ओलीले यस विषयमा उनीसँग सोधपुछ गरेको सार्वजनिक भएको छैन । गुप्ताले बिचौलियासँग घुस डिलका क्रममा गरेको संवादमा मन्त्री अधिकारीले ‘घुस खाइसकेको’ उल्लेख गरेका छन् । ‘बलराम (अधिकारी)ले पैसा खाइसक्यो, उसले काम गर्दैन,’ गुप्ताले बिचौलियासँग भनेका छन् ।

भूमि समस्या समाधान आयोगका अध्यक्षका लागि भएको घुस डिल प्रकरणले अन्य जिल्लाका नियुक्तिको पारदर्शितामाथि पनि प्रश्न उठाएको छ । २९ पुस ०७९ मा भूमि व्यवस्थामन्त्री अधिकारीले ७० जिल्लामा आयोगका अध्यक्ष नियुक्त गरेका थिए । त्यसपछि बाँकी सात जिल्लामा समेत अध्यक्ष नियुक्त भई हाल ७७ वटै जिल्लामा अध्यक्ष तोकिएका छन् । सत्तासहयात्री कांग्रेस र एमालेको संयुक्त भागबन्डामा आयोगका जिल्ला अध्यक्ष नियुक्ति गरिएका थिए । पछिल्लो घुस डिलको घटनाले बाँकी जिल्लाका अध्यक्ष नियुक्तिमा पनि आर्थिक लेनदेन र हिनामिना भएको आशंकालाई बल पुर्‍याएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले निवर्तमान मन्त्री गुप्तालाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन् । घुस डिल प्रकरणमा जोडिएका भूमि व्यवस्थामन्त्री अधिकारी र अन्य व्यक्तिमाथि पनि छानबिन हुनुपर्ने उनीहरूको माग छ । 

सुशासनका पक्षमा वकालत गर्ने पूर्वसचिव शारदाप्रसाद त्रितालले राजीनामा दिए पनि गुप्तामाथिको छानबिन जारी रहनुपर्ने र यो प्रकरणमा नाम जोडिएका मन्त्री अधिकारीमाथि पनि छानबिन हुनुपर्ने बताए । ‘मन्त्री गुप्ताले राजीनामा दिएका आधारमा बाँकी छानबिन रोकिनुहुन्न । पदमा भए पनि नभए पनि छानबिन अनिवार्य रूपमा हुनुपर्छ । किनभने यो त पदमा हुँदा गरेको भ्रष्टाचार हो । भूमि व्यवस्थामन्त्रीमाथि पनि छानबिन हुनुपर्छ । अडियोमा भूमि व्यवस्थामन्त्रीको पनि स्पष्ट नाम आएकाले उनीमाथि छानबिन आवश्यक छ,’ उनले भने । 

तर, भूमि व्यवस्थामन्त्री अधिकारीले आपूmमाथि लागेको आरोपको खण्डन गरेका छन् । ‘जसलाई नियुक्त गर्ने नाममा पैसाको डिल भयो भनिएको छ, उसको नियुक्ति भएकै त छैन । मैले उसलाई गरेकै छैन । अनि म कसरी जोडिन्छु ?’ उनले भने । गुप्ताले राजीनामा दिए पनि गुप्तामाथि थप अनुसन्धान प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने स्पष्ट छैन । उनीविरुद्ध अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी छ । राजीनामापछि उनीमाथि छानबिन हुनुपर्ने चौतर्फी माग छ । 

अडियो सार्वजनिक भएको पाँचौँ दिनमा मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई उनले राजीनामापत्र बुझाएका हुन् । नयाँ पत्रिकाले गत शनिबारदेखि यसबारे शृंखलाबद्ध रूपमा समाचार प्रकाशित गरेको छ । गुप्ताले छानबिनकै लागि आफूले मार्गप्रशस्त गरेको दाबी गरे ।‘ममाथि आरोप लाग्यो । नैतिकताका आधारमा राजीनामा गरेँ । यस विषयमा निष्पक्ष छानबिन हुनुपर्छ । सम्बन्धित निकायले छानबिन गरोस् । म दोषी भए कारबाही गरोस्’, उनले भने, ‘म देशको कठघरामा उभिएको छु । छानबिन कुरेर बस्नु नै उचित हुन्छ ।’ 

मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित गत १० असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । मन्त्री गुप्ताले नै भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको अलग्गै अडियो पनि सार्वजनिक भएको थियो । यी उजुरी र प्रमाण सार्वजनिक भएपछि मन्त्री गुप्ता दबाबमा थिए । 

त्यसैबिच घुस प्रकरणमा मन्त्री गुप्तामाथि छानबिन अघि बढाइएको अख्तियारले जनाएको छ । ‘यससम्बन्धीको उजुरी कायम भएको छ । आयोगबाट छानबिन प्रक्रिया अघि बढको छ,’ अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले नयाँ पत्रिकासँग भने । छानबिनका क्रममा अहिले अख्तियारले मन्त्री गुप्ताको घुस डिलको अडियो परीक्षण गरिरहेको छ । घुसको प्रारम्भिक उजुरीका रूपमा अडियोलाई मानेर अख्तियारले त्यसको परीक्षण गरिहेको हो । ‘अडियो परीक्षणको नतिजा आएपछि अलि स्पष्ट होला,’ अख्तियार स्रोत भन्छ, ‘यससँग जोडिएका अन्य तथ्य प्रमाणको खोजी कार्य पनि जारी छ ।’ 

पोखरामा जग्गासम्बन्धीका धेरै विवादका कारण कास्की मालपोत कार्यालय आकर्षकमा गनिन्छ । जसका कारण मालपोत प्रमुखको सरुवा–थमौतीमा व्यापक चलखेल हुने गरेको छ । पछिल्लो समय पोखरा महानगरपालिका– १६ बाटुलेचौर (महेन्द्रगुफा जाने बाटो)मा रहेको लिचिघारीको १३५ रोपनी जग्गाको विषय चर्चामा छ । दशकौँदेखि विवादमा रहेको यस जग्गामा बिचौलिया छिरेका छन् । उक्त जग्गा हत्याउन बिचौलियाले अनुकूल मालपोत प्रमुख लाने प्रयत्न गर्दै आएका छन् । 

यही सिलसिलामा लिचिघारीको जग्गा हत्याउन कास्कीको प्रमुख मालपोत अधिकृतको थमौतीमा मन्त्री गुप्तासँग ५३ लाखको घुस डिल भएको थियो । तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई गत २२ पुसमा कास्की मालपोतबाट सरुवा गरेर लमजुङ मालपोतमा पठाइएको थियो । अधिकारीको ठाउँमा चिरञ्जीवी पौडेल आएका थिए । पौडेलबाट काम नहुने निष्कर्षमा पुगेपछि बिचौलिया अधिकारीको थमौतीमा लागेको थियो । त्यही क्रममा घुस डिल भएको थियो ।

लिची बगैँचाको जग्गा हत्याउनेलगायतका योजनाअन्तर्गत बिचौलियाले यसअघि पनि अधिकारीको सरुवा रोकेको थियो । ०७९ पुसमा कास्की मालपोत आएका अधिकारीलाई ०८० मंसिरमा बागलुङ सरुवा गरिएको थियो । तर, बिचौलियाको समूहले सरुवा रोकेर उनलाई पुन: पोखरा मालपोतमै थमौती गरेको थियो । मन्त्री अधिकारीले मन्त्रालयले नियमित प्रक्रियाअनुसार कर्मचारी सरुवा गरेको बताए । ‘मन्त्रालयले नियमित प्रक्रियाअनुसार काम गर्ने हो । कसैको इन्टरेस्टअनुसार होइन,’ उनले भने ।