१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख १८ मंगलबार o९:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बगरमा फलेको खुसी : माघेसंक्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याई

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:४८:oo

पुसको पहिलो हप्ताबाट सर्लाहीमा किसानलाई तरुल खन्न भ्याइनभ्याई भएको छ । मुख्य गरेर तरुलको पर्वको रूपमा मनाइने माघेसंक्रान्तिलाई लक्षित गरेर किसानले धमाधम तरुल खन्न सुरु गरेका हुन् । 

जिल्लाको बागमती र बरहथवालगायतका स्थानमा ठूलो मात्रामा तरुलखेती हुँदै आएको छ । राम्रो उत्पादन तथा मूल्यसमेत राम्रो हुने भएपछि किसान तरुलखेतीतर्फ आकर्षित हुने गरेका छन् । 

तरुल लगाउने किसानले अन्तरबालीको रूपमा मकैसमेत फलाउने गरेका छन् । अन्तरबालीबाट समेत फाइदा हुने र तरुलबाट समेत प्रतिकट्ठा १२ हजारदेखि ३५ हजारसम्म आम्दानी हुने गरेको बागमती नगरपालिका– ५ का किसान कर्णबहादुर लामाले बताए । 

यस वर्ष पाँच कट्ठामा तरुल लगाएका उनले प्रतिकट्ठा २० हजारको दरले पैसा लिएको बताए । राम्रो उत्पादन हुँदा मूल्य पनि राम्रो पाइने र सजिलै ठेक्का लाग्ने गरेको उनको भनाइ छ । तरुल खन्ने सिजनमा व्यापारीहरू गाडी लिएर खेतमै पुग्ने गर्छन् । उत्पादन हेरेर प्रतिकट्ठा १२ देखि ३५ हजारसम्म तिरेर आफैँले खनेर लैजाने गरेको व्यापारी बागमती नगरपालिका– ५ का बाबुराम लामाले बताए । 

किसानबाट किनेको तरुल स्थानीय बजारलगायत काठमाडाैं, पोखरा, विराटनगर, हेटौँडाका मुख्य बजारसम्म पुर्‍याएर बेचबिखन हुने गर्छ । माघेसंक्रान्तिको समयमा बजार पुर्‍याएको तरुल राम्रो भाउमा बिक्री हुने गरेको किसानको भनाइ छ ।

तरुल हलुका र खुकुलो माटोमा राम्रो उत्पादन हुने गर्दछ । समयमा मल पानी राखेको अवस्थामा प्रतिकट्ठा एक क्विन्टलसम्म तरुल उत्पादन हुने कृषि प्राविधिक हिमाल शाहीले जानकारी दिए । तरुलले १२ महिनै बजार पाउने गरे पनि विशेष गरी माघेसंक्रान्तिमा मात्र बजार पाउने गरेको छ । 

बगरको तरुलखेतीबाट मनग्य आम्दानी

जिल्लाको बागमती नगरपालिकाको धेरै तथा बरहथवा नगरपालिकाका केही स्थानमा तरुलखेती हुँदै आएको छ । विशेष गरेर बागमती नदी किनारस्थित बागमती बगर क्षेत्रमा किसानले तरुलखेती गर्दै आएका छन् । व्यावसायिक रूपमा उन्नत बिउबिजनको उपलब्धता तथा उत्पादन नभए पनि स्थानीयले आफैँले फलाएको तरुललाई बिउको रूपमा प्रयोग गरेर रातो र सेतो गरी दुई जातको तरुल उत्पादन गर्दै आएका छन् । रातो तरुलको उत्पादन कम हुने तथा खान मिठो हुने गरेकाले धेरै उपभोक्तानको रोजाइमा पर्ने गरेको छ । 

यसको मूल्यसमेत महँगो हुने गरेको कृषि प्राविधिक सुरज खनालले जानकारी दिए । सेतो भने उत्पादन अत्यधिक हुने भए पनि खान त्यति मिठो नहुने उपभोक्ताको भनाइ छ । खुकुलो माटो चाहिने भएकाले बलौटे माटो अर्थात् बगरमा तरुलको उत्पादन राम्रो हुने गरेको किसानको भनाइ छ । विगतको भन्दा उत्पादनमा कम हुँदै गए पनि तरुलखेती बालुवामा सुन बनेको बागमती नगरपालिका– ६ का किसान रामपुकार रायले बताए । 

यहाँ तरुल फागुन–चैतदेखि जेठ–असारसम्म रोप्ने गरिन्छ । तरुलका लागि थांग्रा अनिवार्य चाहिने भएकाले मकैसँगै तरुल रोप्ने चलन छ । मकै उम्रिनका लागि चिसो चाहिने भएकाले वर्षात् भएपछि मात्र तरुल तथा मकै रोप्ने गरिन्छ । कहिलेकाहीँ वर्षात् ढिलो हुँदा तरुल रोप्नसमेत ढिला हुने गरेको किसानको भनाइ छ । यसले गर्दा उत्पादनमा समेत गिरावट आउने गरेको छ ।

बलौटे माटोमा अन्य बाली नहुने तथा जंगली जनावरले समेत नोक्सान नगर्ने भएका कारण तरुल बगरको सुन बनेको स्थानीय किसान सोमबहादुर तामाङले जानकारी दिए । बागमती र बरहथवा नगरपालिकास्थित बगर क्षेत्रमा धेरै खेती हुँदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । बर्सेनि ७० देखि ८० बिघा क्षेत्रफलमा तरुल उत्पादन भइरहेको तथ्यांक छ ।

प्रतिकिसानले तीन सय ५० देखि हजार क्विन्टलसम्म तरुल उत्पादन गरेको पाइएको छ । यसरी उत्पादन भएको तरुल किसानले प्रतिकिलो ३० देखि ४० रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री गर्ने गरेका छन् ।

ad
ad