१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष १० मंगलबार ११:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष १० मंगलबार ११:५७:००

काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ । समझदारीपत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा तथा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले हस्ताक्षर गरेका हुन् । 

समझदारीअनुसार दुवै पक्षले चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदान–प्रदान गर्ने, शैक्षिक कार्यक्रम विकासजस्ता कार्य गर्ने जनाइएको छ । समझदारी पाँच वर्षका लागि मान्य हुने गरी गरिएको विश्वविद्यालयले जनाएको छ । 

समझदारी हस्ताक्षरपछि विश्वविद्यालयका उपकुलपति प्रा.डा. थापाले काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरीबीचको सहकार्यले नेपालको चिकित्सा क्षेत्र सुदृढ बनाउनमा उल्लेखनीय सहयोग पुग्ने बताए । ०७२ सालको भूकम्प र कोभिड महामारीका वेला स्वास्थ्यकर्मीको महत्व उजागर भएको उनको भनाइ थियो । थापाले भने, ‘अब प्रविधिको व्यापक प्रयोग गर्दै नेपालको चिकित्सा क्षेत्रलाई झनै चुस्त बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ आजको सहकार्यले विशेष भूमिका खेल्नेछ ।’ 

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. अच्युत वाग्लेले यो सहकार्य सबैका लागि सुखद हुने बताए । उनले भने, ‘नेपालको चिकित्सा क्षेत्रमा झन्डै ५० प्रतिशत जनशक्ति काठमाडौं विश्वविद्यालयले उत्पादन गरेको छ र यो जनशक्तिले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरबाट पनि मान्यता पाएको अहिलेको अवस्थामा नेपाल प्रहरी अस्पतालसँगको सहकार्यसमाज र देशका लागि नै ऐतिहासिक हुनेछ ।’

नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीचको सहकार्य गौरवको विषय भएको बताए ।यो सहकार्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विस्तार गर्न, पोस्टग्र्याजुएट कक्षा सरु गर्न र दुवै पक्षबीच रहेको ज्ञान, क्षमतालाई आपसी समझदारीमा विस्तार गर्दै जान मार्ग प्रशस्त भएको उनको भनाइ थियो ।