१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० पौष ९ सोमबार ०६:४९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्वास्थ्य मन्त्रालयले खोस्यो वीरका बिरामीले १३३ वर्षदेखि पाइरहेको खाना–खाजा

मन्त्रालयले बजेट कटौती गरेपछि गत साउनदेखि अस्पतालले उधारोमा खाजा–खाना ल्याएर दैनिक पाँच सय बिरामीलाई खुवाउँदै आएको छ । तर, लामो समयसम्म आन्तरिक स्रोतबाट बिरामीलाई यो सुविधा दिन नसकिने अस्पतालको भनाइ छ ।

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० पौष ९ सोमबार ०६:४९:००

स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका बिरामीलाई खाजा र खानाका लागि दिइने बजेट  कटौती गरेको छ । स्थापनाकाल अर्थात् १३३ वर्षदेखि वीरले बिरामीलाई दिनको चारपटक खाना र खाजा उपलब्ध गराउँदै आएको छ । तर, चालू आर्थिक वर्षदेखि बजेट कटौती भएपछि यो सुविधालाई निरन्तरता दिन गाह्रो भएको अस्पतालले जनाएको छ । 

अस्पताल प्रशासनका अनुसार गत आर्थिक वर्षसम्म मन्त्रालयले बिरामीको खाजा–खानाका लागि वार्षिक एक करोड ६८ लाख बजेट दिँदै आएको थियो । तर, चालू आर्थिक वर्षदेखि बजेटको अभाव देखाउँदै यो शीर्षक कटौती गरेको छ । गत साउनदेखि अस्पतालले बिरामीलाई उधारोमा खाजा–खाना ल्याएर खुवाउँदै आएको छ । तर, अब आन्तरिक स्रोतबाट पनि धान्न गाह्रो भएको अस्पताल प्रशासनको भनाइ छ । स्थापनाकाल अर्थात् विक्रम संवत् १९४७ देखि नै वीरले बिरामीलाई यस्तो सुविधा दिँदै आएको छ ।

वीरमा औसत दैनिक पाँच सय बिरामीलाई खाजा–खाना खुवाइन्छ । बिहान ब्रेकफास्टमा बिस्कुट र दूध, बिहानको खानामा दाल, भात, तरकारी र कुखुराको मासु, दिउँसोको खाजामा चना, अन्डा र दूध तथा बेलुकीको खानामा दाल, भात, तरकारी र रोटी खुवाइन्छ । यसबाहेक सुगरका बिरामीलाई रोटी, आइसियूमा रहेका र अन्य रोगका बिरामीलाई डाक्टरको सल्लाहअनुसार खानेकुरा दिइन्छ ।

‘यसपटक मन्त्रालयले बिरामीको खानाको बजेटसमेत कटौती गर्‍यो, अस्पताल स्थापनाकालदेखि अहिलेसम्म यस्तो कहिल्यै भएको थिएन,’ वीरको आर्थिक महाशाखाका एक कर्मचारीले भने, ‘केन्द्र सरकारले नै बजेट कटौती गरेपछि हामीले यसलाई निरन्तरता दिनुपर्छ भन्ने पनि छैन । आन्तरिक खर्चले धान्न गाह्रो पनि छ ।’ खर्च अभावका कारण बिरामीलाई दिइँदै आएको खाजा–खानाको सुविधा कटौती गर्ने तयारी भइरहेको उनले बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले वीरको बेड संख्या थपिए पनि सरकारले बजेट झन् घटाएकाले समस्या भएको बताए ।

‘वीरमा बेड संख्या थपियो तर, बजेट घटाइयो । यसपटक बिरामीलाई खुवाउने खाना–खाजा र अक्सिजनको बजेटसमेत कटौती गरेको छ, मन्त्रालयले बजेट कटौती गरेपछि साउनयता खाना–खाजा र अक्सिजन उधारोमा प्रयोग गरेका छौँ,’ उनले भने, ‘सप्लाई गर्नेले निहुँ खोजेर खाना र अक्सिजन बन्द गरिदियो भने समस्या हुन्छ । आन्तरिक स्रोतबाट लामो समयसम्म जोहो गर्न पनि गाह्रो अवस्था छ ।’ उनका अनुसार वीरमा हाल दैनिक १६ सयदेखि दुई हजारसम्म बिरामी आउने गर्छन् । 

अस्पताल प्रशासनका अनुसार दैनिक औसत पाँच सय बिरामीलाई खाजा–खाना खुवाउँदा मासिक १४ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । वार्षिक करिब एक करोड ६८ लाख त्यसमा खर्च हुन्छ । हाल अस्पतालको मासिक आम्दानी र खर्च बराबरी छ । मासिक तीन करोड आम्दानी हुन्छ भने खर्च पनि सोहीबराबर रहेको अस्पतालले जनाएको छ । अझ केन्द्रले दरबन्दी मिलान नगरेपछि आन्तरिक आम्दानीबाट तलब खुवाउने गरी स्वास्थ्यकर्मी तथा कर्मचारी थपिँदै आएका छन् । 

केन्द्र सरकारले भर्ना गर्नुपर्ने पाँच सय चिकित्सक तथा कर्मचारीको दरबन्दी खाली छ । यस्तो अवस्थामा आन्तरिक आम्दानीबाट तलबभत्ता खुवाउने गरी थप ५० जना स्वास्थ्यकर्मी भर्ना गर्ने प्रक्रिया अघि बढाइएको छ । कर्मचारी थप गरेपछि बजेट अभाव हुने भएकोले अस्पताल प्रशासनले बिरामीलाई खाना–खाजाको सुविधा बन्द गर्ने तथा बिरामी जाँच र ल्याबशुल्क बढाउने तयारी गरिरहेको छ । हाल वीरमा स्वास्थ्यकर्मी, प्रशासन, सफाइकर्मी, सेक्युरिटीलगायत गरी दुई हजार हाराहारी कर्मचारी छन् । 

गत वर्ष स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई बिरामीलाई दिइने खाना–खाजासहितको रकम गरि एक अर्ब ४३ करोड बजेट छुट्याएको थियो । तर, चालू आवमा ७३ करोड मात्रै बजेट छुट्याएको छ । यो बजेटले केन्द्र सरकारबाट नियुक्ति पाएका स्वास्थ्यकर्मीलाई तलब दिन मात्रै पुग्ने अस्पताल प्रशासनको भनाइ छ । अस्पतालका उपकरण मर्मत सम्भार, नयाँ उपकरण खरिद, स्वास्थ्यकर्मीलाई ओभरटाइट सुविधा, विपन्न तथा बेवारिसे बिरामीको उपचार खर्च, बिरामीलाई खाना–खाजा, अक्सिजन खरिदलगायतका लागि खर्चले नधान्ने अस्पतालको गुनासो छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भने खानाको बजेट कटौतीको दोष अर्थ मन्त्रालयलाई लगाए । अर्थले स्वास्थ्य क्षेत्रलाई बजेट नै कम दिएकाले वीर अस्पताललाई खाना–खाजालगायतका ५/६ वटा शीर्षकमा दिइने बजेट कटौती गरिएको उनको भनाइ छ । ‘अर्थबाट बजेट नआएपछि हामीले कटौती गरेका हौँ,’ मन्त्री बस्नेतले भने, ‘यसबारे अर्थ मन्त्रालयसँग कुराकानी भइसकेको छ, खाना–खाजालगायत ५/६ वटा शीर्षकमा बजेट कटौती नगर्न अर्थसँग मैले माग गरेको छु ।’ चालू आव ०८०/८१ का लागि स्वास्थ्य क्षेत्रमा कुल ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरिएको छ । 

अर्थले बजेट नै कम दिएपछि कटौती भएको हो
मोहनबहादुर बस्नेत, स्वास्थ्यमन्त्री 

अर्थ मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई बजेट नै कम दिएकाले वीर अस्पतालको बजेट घटेको हो । खाना–खाजालगायतका ५–६ वटा शीर्षकमा दिइने बजेट कटौती गरिएको छ । तर, यस विषयमा मैले अर्थ मन्त्रालयसँग कुराकानी गरेको छु, बजेट मागेको छु । सायद आउँछ होला ।

बजेट कटौतीपछि उधारोमा खाना खुवाइरहेका छौँ
प्रा.डा. भूपेन्द्र बस्नेत, उपकुलपति न्याम्स 

गत वर्ष अस्पतालमा बेड संख्या पाँच सय थियो । त्यति वेला बजेट एक अर्ब ४३ करोड थियो । अहिले बेड संख्या थपेर नौ सय पुर्‍याइएको छ, तर स्वास्थ्य मन्त्रालयले चालू आवमा बजेट ७३ करोड मात्रै दिएको छ । यसपटक त बिरामीलाई खुवाउने खाना–खाजा र अक्सिजनको बजेटसमेत कटौती गरेको छ, मन्त्रालयले बजेट कटौती गरेपछि साउनयता खाना–खाजा र अक्सिजन उधारोमा प्रयोग गरेका छौँ । सप्लाई गर्नेले निहुँ खोजेर खाना र अक्सिजन बन्द गरिदियो भने समस्या हुन्छ । आन्तरिक स्रोतबाट लामो समयसम्म जोहो गर्न पनि गाह्रो हुने अवस्था छ ।

यस्तो छ बिरामीलाई खुवाइने खाना–खाजाको तालिका
ब्रेकफास्ट– बिस्कुट र दूध । बिहानको खाना– दाल, भात, तरकारी र कुखुराको मासु । दिउँसो खाजा– चना, अन्डा र दूध । बेलुकीको खाना– दाल, भात, तरकारी र रोटी
वीर अस्पतालले स्थापनाकाल अर्थात् विक्रम संवत् १९४७ देखि नै बिरामीलाई खाना–खाजाको सुविधा दिँदै आएको छ । नौ सय बेडको वीरमा औसत दैनिक पाँच सय बिरामीलाई खुवाइन्छ । अस्पताल प्रशासनका अनुसार खाजा–खानामा मासिक १४ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ, वार्षिक करिब एक करोड ६८ लाख हुन्छ । तर, चालू आर्थिक वर्षदेखि बजेटको अभाव देखाउँदै स्वास्थ्य मन्त्रालयले यो शीर्षक नै कटौती गरेको छ ।