१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष ८ आइतबार ०८:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अंगदान गर्न नेता तथा कार्यकर्तालाई एकीकृत समाजवादीको आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष ८ आइतबार ०८:४८:००

एकीकृत समाजवादीले नसर्ने रोगबाट प्रभावितको संख्या उच्च देखिन थालेपछि अंगदान गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार सम्पन्न सचिवालय बैठकले नसर्ने रोगलाई दृष्टिगत गरी नेता तथा कार्यकर्तालाई अंगदान गर्न आह्वान गर्ने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘देश दीर्घरोगले आक्रान्त छ । कलेजो, किडनी ट्रान्सप्लान्टजस्ता जटिल रोग छन् । यस्ता रोगहरूलाई दृष्टिगत गर्दै हाम्रो पार्टीका नेता कार्यकर्ताहरूलाई अंगदान गर्न आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने ।

जगन्नाथ खतिवडा, उपमहासचिव, एकीकृत समाजवादी
देश दीर्घरोगले आक्रान्त छ । कलेजो, किड्नी ट्रान्सप्लान्टजस्ता जटिल रोग छन् । यस्ता रोगलाई दृष्टिगत गर्दै हाम्रो पार्टीका नेता–कार्यकर्तालाई अंगदान गर्न आह्वान गर्ने निर्णय भएको छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९–८० मा मात्रै नसर्ने रोगका १५ लाख २१ हजार ३६ बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेका थिए, जुन कुल जनसंख्याको ५.२२ प्रतिशत हो । अस्वस्थ जीवनशैली र खानपान मुख्य कारक मानिने नसर्ने रोगबाट पीडितहरूको बढ्दो संख्या हेर्दा बर्सेनि अवस्था भयावह बन्दै गएको छ । 

सचिवालय बैठकले ११–१३ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी र पोलिटब्युरो बैठक स्थगित गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो । खतिवडाका अनुसार केन्द्रीय कमिटी बैठकमा विधानबारे थप छलफल हुनेछ । सचिवालय बैठकमा विधानबारे नेताहरूले मिश्रित धारणा राखेका थिए । ‘११–१३ पुसमा आह्वान गरिएको केन्द्रीय कमिटीको बैठकमा विधानका बारेमा बृहत् छलफल हुनेछ । त्यसपछि आगामी १४ र १५ माघमा आह्वान गरिएको केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत हुनेछ । यसअघि ९ र १० पुसमा तय गरिएको स्थायी कमिटीको बैठकलाई केन्द्रीय कमिटी बैठकमा समायोजन गरिएको छ,’ खतिवडाले भने ।

केन्द्रीय कमिटीको संख्या १७५ हराहारीमा हुनुपर्ने, प्रतिनिधि परिषद्लाई अधिकारसम्पन्न गराउनुपर्नेलगायतका विषयमा नेताहरूले जोड दिएका छन् । हाल केन्द्रीय कमिटी चार सयको हाराहारीमा छ । यस्तै, पाका र युवा पुस्तालाई समेटेर अगाडि बढ्नुपर्ने, केन्द्रीय परिषद्लाई अधिकारसम्पन्न बनाउनुपर्ने विषयमा पनि नेताहरूले जोड दिएका छन् ।