१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० पौष ६ शुक्रबार १६:१९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन उद्घाटन

Read Time : > 1 मिनेट
२०८० पौष ६ शुक्रबार १६:१९:००

मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ४मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित नेपालको ढल्केबरपछिको दोस्रो ठूलो ४०० केभीको सबस्टेसन उद्घाटन गरेका हुन्।  

इनरुवामा ४०० र २२० केभीका दुईवटा सबस्टेसन निर्माण गरिएको छ। राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाबाट ४०० केभीको सबस्टेसन निर्माण गरिएको हो।

सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट २२०/१३२/३३ केभीको सबस्टेसन निर्माण गरिएको थियो । ४०० र २०० केभी सबस्टेसनको लागत करिब तीन अर्ब ८३ करोड रुपैयाँ छ।  

उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सबस्टेसनको उद्घाटनसँगै यस क्षेत्रको विद्युत् प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार भई सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय पनि थपिएको बताए। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा अढाई सय मेगावाट मात्र विद्युत् उत्पादन भएकोमा हाल एक वर्षमा ५ सय मेगावाट विद्युत् थपिनुले देश बर्बादीतर्फ नभएर प्रगतितर्फ बढेको तथ्य र तथ्यांकले पुष्टि गरेको बताए। 

आगामी दश वर्षभित्र करिब ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने विश्वसनीय आधार देखिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्रसारणलाइन निर्माणमा देखिएको मार्गधिकारको समस्या र स्थानीयहरूका मागलाई सम्बोधन गर्न कानुनी रूपमा थप व्यवस्था गर्न लागिएको जानकारी गराए।
 
हेटाैँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन्। जसको क्षमता ९४५ एमभिए छ। त्यस्तै, २२०/१३२ केभी १६० एमभिए क्षमताका दुई थान र २२०/३३ केभी,   ६३ एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्म छन्। 

इनरुवा–ढल्केबर ४०० केभी प्रसारणलाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदान–प्रदान हुन सक्नेछ। इनरुवा–ढल्केबर प्रसारणलाइनको अहिले तार तान्ने काम भइरहेको छ। 

साथै, १३२ र  ३३ केभी प्रसारण तथा वितरण लाइनमार्फत सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ। सबस्टेसनलाई भविष्यमा आवश्यकताअनुसार थप  विस्तार गर्न मिल्ने गरी निर्माण गरिएको छ। 
 
इनरुवा  ४०० केभी सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी सिमेन्स लिमिटेडसँग पुस ०७५ मा ठेक्का सम्झौता भएको थियो। २२० केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनीहरू सिमेन्स र टेलमोसको कन्साेटियमसँग पुस ०७५ ठेक्का सम्झौता भएको थियो। साथै, २२०/१३२ केभी ट्रान्सफर्मर आपूर्ति तथा जडानका लागि भारतीय कम्पनी टिबिइए इनर्जीसँग कात्तिक ०७७ मा ठेक्का सम्झौता भएको थियो।  

४०० केभी सबस्टेसनको डिजाइन तथा निर्माण सुपरिवेक्षण एनइए इन्जिनियरिङ कम्पनीबाट भएको थियो। २२० सबस्टेसनको परामर्शदाता पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड र एनइए इन्जिनियरिङ कम्पनीले गरेका थिए।