१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख १९ बुधबार o८:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कांग्रेसको मधेश प्रदेश सम्मेलनमा देउवाले भने–‘निर्वाचन प्रणालीका कारण कांग्रेसको बहुमत आएन’

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५८:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले जनताको बीचमा पार्टी लोकप्रिय भए पनि वर्तमान निर्वाचन प्रणालीका कारण बहुमत ल्याउन नसकेको बताएका छन् । समानुपातिक, समावेशी निर्वाचन प्रणालीका कारण कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेको उनको भनाइ छ । तर, सोही कार्यक्रममा सहभागी महामन्त्री गगन थापाले भने जनताको चाहनाअनुसार राम्रो काम गरे यही प्रणालीमा पनि बहुमत प्राप्त गर्न सकिने बताएका छन् । 

कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको बिहीबार जनकपुरधाममा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले कांग्रेस संसद्मा ठूलो दल भए पनि वर्तमान निर्वाचन प्रणालीका कारण बहुमत ल्याउन नसकेको बताए । कांग्रेस र मधेशबीचको सम्बन्ध सेतुका रूपमा रहेको बताउँदै सभापति देउवाले भने, ‘हामीले मधेशलाई विपन्न होइन, सम्पन्न मधेश बनाउन चाहेका छौँ । त्यसकारण मधेशमा कांग्रेसलाई बलियो बनाउन साथीहरूले आ–आफ्नो स्थानबाट जुट्नुपर्छ ।’ उनले कांग्रेस बलियो भए मात्रै संविधान र परिवर्तनको रक्षा हुने जिकिर गरे । दुई दिनसम्म चल्ने सम्मेलनमा आठ जिल्लाका आठ सय २५ प्रतिनिधि सहभागी रहेको मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले जानकारी दिए । 

वरीयता विवादले कोइराला अनुपस्थित, निधिले आशनग्रहण गरेनन्
सम्मेलनको उद्घाटन सत्रमा अतिथिका रूपमा आमन्त्रण गरिए पनि नेता शेखर कोइराला उपस्थित भएनन् । १४औँ महाधिवेशनमा देउवासँग सभापति पदमा निर्वाचन लडेका कोइरालाको वरीयता विवाद कांग्रेसमा देखा पर्दै आएको छ । सोही विवादका कारण मधेश प्रदेशको पहिलो अधिवेशनमा कोइराला उपस्थित नभएको मधेशका केही नेताले बताए । 

कोइरालाको वरीयतालाई लिएर मधेश प्रदेश कार्यसमितिमा संस्थापन र इतर समूहबीच विवाद नै भएको थियो । इतर समूहले कोइरालालाई देउवापछिको सम्मान दिएर आशनग्रहण गराउनुपर्ने अडान राखेको थियो । बुधबार मधेश प्रदेश कार्यसमितिको बैठकमा पनि कोइराला समूहले जोडतोडले यो कुरा उठाएको थियो । तर, मधेश प्रदेश सभापति कृष्ण यादवसहित संस्थापन पक्षधर नेताहरूले अस्वीकार गरे । संस्थापन इतर समूहले कोइरालालाई उपसभापति पूर्णबहादुर खड्काभन्दा माथिको वरीयतामा राख्नुपर्ने अडान राखेका थिए । केही दिनअघिको बैठकमा त इतर समूहका आठ कार्यसमिति सदस्यले नोट अफ डिसेन्ट नै लेखेका थिए । 

उद्घाटन सत्रमा पूर्वउपसभापति विमलेन्द्र निधिले भने वरीयता नमिलाएको भन्दै मञ्चमा आसनग्रहण गरेनन् । मञ्चमा आसनग्रहणका लागि बोलाउँदा उनी अस्वीकार गरी दर्शकदीर्घामै बसे । मधेश सभापति यादवसहितले पटक–पटक मञ्चमा आउन निधिलाई आग्रह गरे पनि उनी दर्शकदीर्घामै बसिरहे । 

नेता इमानदार बने यही प्रणालीमा जनताले बहुमत दिन्छन् : थापा
कांग्रेस महामन्त्री गगन थापाले देशमा भष्टाचार, कुशासन बढिरहेकाले संघीयताविरुद्ध आवाज चर्को हुँदै गएको बताए । उनले माओवादी नेतृत्वपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले विकृति र विसंगतिलाई हटाएर देशमा सुशासन कायम गर्ने दाबी गरे । सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहे पनि सग्रम देशको नेतृत्व कांग्रेसले गरिरहेको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘सातवटा प्रदेशमध्ये चारवटा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ । तीन सयभन्दा बढी स्थानीय तहमा कांग्रेसको नेतृत्व छ । त्यसकारण हामीले इमानदारीपूर्वक काम गरिदियो भने ०८४ मा जनताले यही निर्वाचन प्रणालीमा पनि कांग्रेसलाई बहुमत दिन्छन् ।’

ad
ad