Skip This
कांग्रेस र मधेश बलियो भए मात्रै संविधानको रक्षा हुन्छ : देउवा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ५ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८o पौष ५ बिहीबार २o:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस र मधेश बलियो भए मात्रै संविधानको रक्षा हुन्छ : देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८o पौष ५ बिहीबार २o:o५:oo

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भए मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन्।

कांग्रेस मधेश प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरु भएको प्रथम मधेश प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले संघीयता, समावेशिता र पछिल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेश बलियो हुनुपर्ने बताए।

पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नुपरेको उल्लेख गरे।

उनले पार्टीभित्रको अविश्वास र अन्तर्घातलाई रोकेर एकताबद्ध हुन सके कांग्रेसलाई थप ठूलो पार्टी बनाउन सकिने धारणा राखे। त्यसका लागि सबैले एकजुट भएर पार्टी संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो।

सम्मेलनमा पार्टी उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेशलगायत प्रदेश सरकारले संघीयताको कार्यान्वयनका सन्दर्भमा व्यक्त भएका असन्तुष्टि सम्बोधन गर्न कांग्रेससहितको वर्तमान सरकारले छिट्टै आवश्यक प्रक्रिया टुंगाेमा पुर्‍याउने बताए। 

उनले विगतमा मधेशवादी दलहरूले संविधान संशोधनका लागि उठाएका माग सम्बोधन गर्न कांग्रेसले दोस्रोपटक संविधान संशोधनको प्रस्ताव पेस गरे पनि अन्य दलका कारणले सफल नभएको स्मरण गर्दै फेरि पनि कांग्रेसले नै मधेशका चिन्ता र चासो सम्बोधन गर्न नेतृत्व गर्ने बताए।

त्यसैगरी, उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संघीयता कार्यान्वयनका लागि बाँकी रहेका काम टुंग्याउन आवश्यक कानुन बनाउने प्रक्रिया सुरु भइसकेको बताए। उनले संसद्को आउँदो अधिवेशनमा संघीयता कार्यान्वयनसँग जोडिएका धेरै कानुन निर्माण गरिसक्ने र तत्काल गर्नुपर्ने कामका लागि अध्यादेशको सहारा लिन सकिने पनि बताए। 

महामन्त्री गगनकुमार थापाले देशमा बढ्दै गएको कुशासनका कारण जनतामा निराशा बढेको र त्यसलाई आशामा बदल्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने बताए। 

पछिल्लो समय बढेका आक्रोशका आवाजलाई विभिन्न कोणबाट समीक्षा गरे पनि त्यस्तो तागत जनअसन्तुष्टिका कारण प्राप्त भइरहेको भन्दै महामन्त्री थापाले त्यसलाई सम्बोधन गर्न काम गरेर देखाउनुको विकल्प नभएको बताए। 

उनले भने, ‘जनता रिसाएका छन्। बेथिति बढेको छ, व्यवस्थाले काम गर्न सकेन भन्ने आरोप छ। तर, त्यसको जिम्मा कसले लिने हो रु चार प्रदेशमा मुख्यमन्त्री, सात प्रदेशमा कांग्रेससहितका सरकार, सबैभन्दा बढी पालिकामा कांग्रेसकै जनप्रतिनिधि छन्। त्यसैले, हामीले बोलेर होइन काम गरेर देखाउनुपर्छ।’

त्यसैगरी, अर्का महामन्त्री विश्वप्रकाश शर्माले मधेशमा संघीयताका लागि उठेका नारा कांग्रेस नेतृत्वले सुनेकै कारण तत्कालीन अवस्थामा देशमा संघीयता आएको भन्दै यसको रक्षाको दायित्व पनि मधेस र कांग्रेसको काँधमा रहेको बताए। 

‘अहिले पनि मधेसका गुनासो, असन्तुष्टिहरू छन्। तिनको सम्बोधनका लागि कांग्रेसले समन्वय गर्छ। मधेश मुस्कुराएमा मात्रै देश मुस्कुराउन सक्छ, सामाजिक रूपान्तरणसहितको यात्रा सफल हुन सक्छ। त्यसमा हामी सचेत छौँ,’ महामन्त्री शर्माले भने।