१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दमक चोकमा थुप्रिएको फोहोर । व्यवस्थापन गर्ने ठाउँ नभएपछि फोहोर प्रशोधन केन्द्रको परिसरमा जम्मा गरेर राखिएको फोहोर । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ल्यान्डफिल साइट नहुँदा दमकमा उठेन फोहोर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o९:oo

झापाको दमक नगरपालिकामा एक सातादेखि फोहोर उठ्न सकेको छैन । ल्यान्डफिल साइट नहुँदा फोहोर व्यवस्थापन हुन नसकेको हो । जसकारण दमक बजारमा दुर्गन्ध फैलिएको छ । सम्झौताअनुसार दमक नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएका नेक्स्टइरा इनर्जी प्रालिलाई ल्यान्डफिल साइट उपलब्ध गराउन सकेको छैन । विगतमा उपलब्ध गराएको ल्यान्डफिल साइट भरिएर फोहोर फाल्ने ठाउँ छैन । 

दमक नगरपालिकाले नेक्स्टइरा इनर्जीलाई दमक– २ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा फोहोर फाल्न ठाउँ उपलब्ध गराएको थियो । तर, नगरपालिकाले उपलब्ध गराएको ठाउँ तीन महिनाअघि नै भरियो । त्यसपछि नेक्स्टइराले फोहोर प्रशोधन केन्द्रका लागि बनाएको संरचना परिसरमा पुर्दै आएको थियो । त्यो ठाउँ पनि भरिएपछि अहिले नगरपालिकाको फोहोर नै उठ्न छाडेको हो । दमक नगरपालिकाले हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा थप ल्यान्डफिल साइट उपलब्ध गराएको थियो । तर, हम्सेदुम्से सामुदायिक वनले त्यहाँ फोहोर व्यवस्थापन गर्न नदिएको नेक्स्टइराका प्रबन्ध निर्देशक विमल खतिवडाले बताए । ‘स्थानीय तहले हामीसँग समन्वय गरेको छैन भनेर वनले फाल्न दिएन,’ उनले भने, ‘हामीसँगको सम्झौतामा नगरपालिकाले ल्यान्डफिल साइट उपलब्ध गराउनेछ । हामीले केही महिनासम्म त फोहोर प्रशोधन केन्द्रको परिसरमा फाल्यौँ । दुईपटक खनेर फोहोर गाडिसक्यौँ । अब त त्यहाँ पनि नमिल्ने भएको छ ।’ 

दमक नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा नेक्स्टइरा इनर्जीलाई दिएको छ । सरकार र विश्व बैंकको २०–२० प्रतिशत अनुदानमा कुल साढे २० करोड लागतमा फोहोरबाट बायोग्यास उत्पादनका लागि सम्झौता भएको छ । यसका लागि प्रशोधन केन्द्र पनि बनेको छ । फोहोर प्रशोधन गर्ने यो कम्पनीलाई दमक बजारबाट दैनिक फोहोर संकलन गरेर व्यवस्थापन गर्ने जिम्मा दिइएको छ । यसरी दमकबाट संकलन भएको फोहोर अहिले गाडेर व्यवस्थापन गरिन्छ । फोहोरबाट ग्यास उत्पादन हुन थाले पनि उत्पादिन बायोग्यास प्रयोगमा ल्याउन नसकिएपछि फोहोर गाड्नुको विकल्प छैन । 

दमकबाट दैनिक ६० टन फोहोर उत्पादन हुँदै आएको छ । ‘ल्यान्डफिल साइट भरिएको नगरपालिकालाई गत फागुनमै जानकारी गराएका थियौँ, तर नगरपालिकाले अझै व्यवस्थापन गरिदिएन । अब फोहोेर उठाउन नसक्ने भयौँ,’ उनले भने, ‘फोहोरलाई कुहिने र नकुहिने छुट्याउने सेक्रिगेसन मेसिन नगरपालिकाले खरिद गरिदिने भनेको हो । यसअघि बजेट छुट्याए पनि खरिद गरिदिएन । यस वर्ष पनि छुट्टिएको छ । अहिले पनि खरिद भएको छैन । यो मेसिन हुने हो भने हामीले हातले फोहोर छान्नुपर्दैन थियो । ८० प्रतिशत फोहोर प्रयोगमा आउँथ्यो । त्यो हुँदा गाड्नुपर्ने फोहोर कम हुने थियो ।’ 

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले फोहोर व्यवस्थापन गर्दै आएको कम्पनीलाई ल्यान्डफिल साइट उपलब्ध गराउने जिम्मेवारी नगरपालिकाको नै रहेको बताए । उनले दमक नगरपालिकाले हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा व्यवस्थापनका लागि ठाउँ तोकिए पनि वनले फाल्न नदिएको बताए । ‘वन पनि यहीँ दमककै हो । फोहोर पनि दमककै हो । वनले किन नदिएको हो ?’ उनले भने, ‘फोहोर व्यवस्थापनका लागि पहल भइरहेको छ । चाँडै निकास निकालेर दमकको फोहोर उठाउँछौँ । ल्यान्डफिल साइट व्यवस्थापनका लागि सर्वदलीय बैठक पनि बोलाएको छ ।’

०७६ माघमा दमकबाट उत्पादित फोहोरबाट ग्यास र प्रांगारिक मल उत्पादन गर्ने गरी नेक्स्टइराले जिम्मा लिएको थियो । २० वर्षका लागि उसलाई जिम्मा दिएको हो । अहिले ग्यास र प्रांगारिक मल उत्पादन भइरहेको छ । फोहोरबाट दैनिक ६ सय किलोग्राम बायोग्यास उत्पादन भए पनि प्रयोगमा आउन सकेको छैन । नेक्स्टइराले सम्झौताअनुसार सिलिन्डरमा भरेर ग्यास बेच्न सकेको छैन । आर्थिक मन्दीका कारण ग्यास बेच्न नसकिएपछि बायोग्यास दैनिक बालेर खेर फालिँदै आएको इक्स्टइराका प्रवन्ध निर्देशक खतिवडाले बताए । 

ad
ad