१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
विभेदविरुद्ध संघर्ष समिति गठन गर्न मोरङको पथरीमा सोमबार भेला भएका दलित अगुवा
२o८१ बैशाख १८ मंगलबार o९:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दलितलाई बहिष्कार प्रकरण : राज्यलाई दबाब दिन संगठित हुँदै दलित समुदाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:५६:oo

मोरङको पथरीशनिश्चरे नगरपालिका– १० जिरिखिम्तीमा जातीय विभेदविरुद्ध न्याय खोज्दा समाजले नै बहिष्कार गरेको घटनामा दलित समुदाय जुर्मुराएका छन् । नयाँ पत्रिकामा शुक्रबार ‘जातीय विभेदविरुद्ध न्याय खोज्दा दलित समुदाय नै बहिष्कारमा’ शीर्षकमा समाचार प्रकाशन भएपछि दलितका विभिन्न संघ­–संस्थाले चासो देखाएका हुन् । सोमबार उनीहरूले संघर्ष समिति बनाएर राज्यलाई दबाब दिने उद्घोष गरेका छन् । 

दलित अभियन्ता गोपाल लकान्द्रीको संयोजकत्वमा संघर्ष समितिमा अधिकांश बहिष्कारमा परेका दलितलाई समावेश गरिएको छ । ‘नयाँ पत्रिकामा समाचार प्रकाशनपछि हामीले दलितमाथि भएको यो अमानवीय व्यवहारको विषयमा जानकारी पायौँ । यस्तो अमानवीय व्यवहारविरुद्धमा बोल्नुपर्छ भनेर विभेद र बहिष्कारमा परेका साथीहरूलाई समेटेर संघर्ष समिति गठन गरेका हौँ,’ लकान्द्रीले भने, ‘पथरीशनिश्चरे अहिले जातीय विभेदको हब बनेको छ । यहाँ बर्सेनि दलितले विभेद् खेपेका घटना आइरहेका छन् । त्यसैले दबाब जरुरी रहेको महसुस गरेका छौँ ।’ संघर्ष समितिले बहिष्कारमा परेका दलितको न्यायका लागि अब दलित नेतृत्वसँग छलफल गरेर आन्दोलनको तयारी गर्ने उनले बताए । 

गत जेठमा पथरीशनिश्चरे नगरपालिका– १० जिरिखिम्तीकी रीता विश्वकर्मालाई पुराणमा पूजा गर्न खोज्दा स्थानीय शान्ति सुवेदीले जातीय विभेद गरेकी थिइन् । उक्त विभेदविरुद्ध रीता प्रहरी हुँदै अदालत गएपछि अहिले जिरिखिम्तीका दलितलाई सहयोग गर्ने केही गैरदलितसहित करिब २५ घर दलितलाई बहिष्कार गरिएको छ । न्याय खोज्दा ‘रिस साँध्न’ अहिले विवाह, मेलापात, गाउँमा हुने सामूहिक कार्यमा दलित समुदायलाई एक्ल्याइएको छ । 

दलितलाई बहिष्कार गर्न स्थानीय गैरदलितहरू इन्द्रबहादुर कार्की, जगत तिवारी, ठाकुरप्रसाद दाहाल, लक्ष्मीप्रसाद भट्टराई, रमेश ढुंगानालगायतले गरेको दलितसँग छोरीले विवाह नै गरेका कारण गैरदलितले बहिष्कार गरेका लक्ष्मण गुरागाईंले बताए । ‘नयाँ पत्रिकामा यहाँको समाचार आएपछि मलाई फोन गरेर जनक पोखरेलले दबाबसमेत दिए,’ उनले भने । जातीय विभेदमा अगुवाइ गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने उनले बताए । ‘उनीहरूलाई कारबाही गरेर यहाँ राज्यले सहभोजको आयोजना गरोस्,’ संघर्ष समितिका उपसंयोजकसमेत बनेका गुरागाईंले भने, ‘दलितलाई पनि मानवीय व्यवहार हुनुपर्छ । हाम्रो माग यति हो ।’

दलितका विभिन्न संघ–संस्थाले चासो दिएपछि न्याय पाउने आशा पलाएको बहिष्करणमा परेका जिरिखिम्तीका इन्द्रबहादुर विश्वकर्माले बताए । उनका अनुसार गत जेठअघि पनि विभेद थियो । तर, अहिलेको जस्तो सबै मिलेर दलितलाई बहिष्कार भने गरेका थिएनन् । 

विभेदविरुद्ध दलित संघसंस्थाको विज्ञप्ति 
पथरीशनिश्चरेमा दलित समुदायलाई गरेको बहिष्कारविरुद्ध दलितसँग सम्बन्धित विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । विश्वकर्मा एकता समाज, नेपाल दलित संघ, उत्पीडित मुक्ति समाज, नेपाल दलित मुक्तिमोर्चा, नेपाल दलितमुक्त संगठनलगायत संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले सोमबार विज्ञप्ति जारी गर्दै यो घटनामा न्यायपूर्ण निकासका लागि सबैलाई आग्रहसमेत गरेका छन् । उनीहरूले विभेद गर्नेलाई कानुनी कारबाहीको मागसमेत गरेका हुन् । 

ad
ad