१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पाँच महिनामा सरकारकाे आम्दानी तीन खर्ब ८३ अर्ब, खर्च चार खर्ब ५२ अर्ब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:२५:oo

चालू आर्थिक वर्ष ०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मंसिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ। यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ।

चालू आवका लागि सरकारले कुल रु. १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखबराबरको बजेट ल्याएको थियो। मंसिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च रु. चार खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख अर्थात् वार्षिक लक्ष्यको २५.८७ प्रतिशत छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो पाँच महिना अवधिमा चालू खर्च ३१.५३, पुँजीगत खर्च ११.९४ र वित्तीय व्यवस्थातर्फको खर्च १८.५२ प्रतिशत छ। चालू आर्थिक वर्षका लागि चालू शीर्षकमा रु. ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाखबराबरको बजेट ल्याइएकामा मंसिर मसान्तसम्ममा रु. तीन खर्ब ५९ अर्ब ९९ करोड ५७ लाखबराबर खर्च भएको छ। 

पुँजीगत शीर्षकमा रु. तीन खर्ब दुई अर्ब सात करोड ४४ लाखबराबरको वार्षिक बजेट रहेकामा हालसम्म रु. ३६ अर्ब ६ करोड तीन लाखबराबर मात्रै खर्च भएको छ। त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा रु. तीन खर्ब सात अर्ब ४५ लाख ३६ हजारबराबर वार्षिक विनियोजन रहेकामा हालसम्म रु. ५६ अर्ब ९३ करोड ९७ लाखबराबर खर्च भएको छ।

चालू आवको पहिलो पाँच महिना अवधिमा सरकारको राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको देखिँदैन। चालू आवका लागि कुल रु. १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाखबराबर राजस्व उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २६.०७ प्रतिशत अर्थात् रु. तीन खर्ब ८३ अर्ब ९२ करोड ४२ लाखबराबर मात्रै राजस्व संकलन भएको छ।

यो अवधिसम्मको सरकारको आयव्ययको विश्लेषण गर्दा आम्दानीको तुलनामा रु. ६९ अर्ब सात करोड १५ लाख बढी खर्च भएको छ। अर्थात् पाँच महिना अवधिमा रु. ६९ अर्बभन्दा बढीको बजेट घाटा सरकारले व्यहोरेको छ।

सरकारले चालू आवमा कर राजस्वतर्फ रु. १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख र गैरकर राजस्वतर्फ रु. एक खर्ब १७ अर्ब ६ करोड २१ लाखबराबर संकलन गर्ने उद्देश्य राखेको छ। त्यस्तै, रु. ४९ अर्ब ९४ करोड ३० लाखबराबर वैदेशिक अनुदान उठाउने सरकारी लक्ष्य छ। 

चालू आर्थिक वर्षको सुरुवाती पाँच महिना अवधिमा कर राजस्व संकलन वार्षिक लक्ष्यको २५.८३ प्रतिशत अर्थात् रु. तीन खर्ब ३७ अर्ब १८ करोड ६७ लाख छ भने गैर करराजस्व संकलन वार्षिक लक्ष्यको २२.४२ प्रतिशत अर्थात् रु. २६ अर्ब २४ करोड २५ लाखबराबर छ। 

चालू आवको मंसिर मसान्तसम्ममा सरकारले रु. दुई अर्ब ७५ करोड ८० लाखबराबर वैदेशिक अनुदान लिएको छ।

ad
ad