१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० पौष १ आइतबार १०:४५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै

Read Time : > 1 मिनेट
२०८० पौष १ आइतबार १०:४५:००

जिल्ला प्रहरी कार्यालय लमजुङमा हिंसामा परेर न्यायको माग गर्न प्रहरीसमक्ष आउनेको संख्या बढ्दो छ । पहिले–पहिले घरको कुरा बाहिर लैजानु हुँदैन भन्ने मानसिकताका कारण हिंसाका घटना बाहिर आउँदैनथे । पछिल्लो समय महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेका छन् । 

प्रहरीमा आएका घरेलु हिंसाबाट पीडित महिलाको अधिकांश उजुरी मिलापत्रमा सीमित हुने गरेको पाइन्छ । प्रहरीबाहेक जिल्लाको आठवटै स्थानीय तहको न्यायिक समितिमा परेका उजुरीसमेत मिलापत्रमै सीमित हुने गरेको पाइन्छ । चालू आर्थिक वर्ष ०८०/८१ को साउनदेखि मंसिर तेस्रो सातासम्म २४ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएका छन् । त्यसमध्ये १९ वटा मिलापत्र भएका छन् भने चारवटा मात्र अदालती प्रक्रियामा गएको छ । 

यस्तै, आर्थिक वर्ष ०७९/८० मा ४७ वटा घरेलु हिंसाका उजुरी प्रहरीकोमा आएकोमा ३८ वटा मिलापत्र भएका छन् भने सातवटा अदालती प्रक्रियामा गएका छन् । जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार कुटपिट गरी घरनिकाला गरिएको, शारीरिकसँगै मानसिक यातना दिने, आवश्यक खर्चसमेत नदिई आर्थिक अभावमा पारेर यातना दिनेलगायतका महिला हिंसाको उजुरी आउने गरेका छन् । 

त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा ८४ वटा घरेलु हिंसाको उजुरी आएकामा ७४ वटा घरेलु हिंसाको उजुरी मिलापत्र गरी टुंगाइएको छ भने आठवटा अदालती प्रक्रियामा रहेका छन् । त्यस्तै, ०७७/७८ मा ९२ वटा घरेलु हिंसाका उजुरी रहेका छन् । यी उजुरीमध्ये ६८ वटा मिलापत्रमा टुंग्याएको छ । केन्द्रका अनुसार शारीरिक, मानसिक, आर्थिक यातना दिएकालाई मिलापत्र गराएपछि पीडितको त्यस्तो समस्या नदेखिएको, खानलाउन दिएको पाइएको छ । सक्दो छलफल गर्दै विवाद मिलापत्र गराउने र कुरा मिल्दै नमिलेमा मात्र अदालत पठाउने गरेको छ । 

पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाका आउने गरेको राइनास नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङले बताए ।