Skip This
परराष्ट्रसचिव लम्सालले सम्हालिन् कार्यभार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
तस्बिर : रासस ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार २२:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

परराष्ट्रसचिव लम्सालले सम्हालिन् कार्यभार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार २२:५८:oo

नवनियुक्त परराष्ट्रसचिव सेवा लम्सालले शुक्रबार परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेकी छिन् । कार्यभार सम्हालेपछि उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता जनाइन् । वैश्विक संकट विद्यमान रहेका वेला नेपालीको हित संरक्षण गर्ने दायित्वमा आफू सक्रिय हुने पनि उनको भनाइ छ ।

‘मुलुकको परराष्ट्र नीतिअनुरूप द्विपक्षीय एवं बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिएर छिमेकी मुलुकसँग सम्बन्ध सञ्चालनलाई विशेष प्राथमिकतामा राखेर काम गर्नेछौँ,’ लम्सालले भनिन् । लम्सालले विदेशमा रोजगारीका लागि जान चाहने युवालाई रोजगार अनुमतिपत्र प्रदान गर्ने पनि बताइन् । 

इजरायलमाथि आक्रमणका क्रममा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइ प्राथमिक एजेन्डा भएको उनले बताइन् । ‘विपिन जोशीको रिहाइका लागि सक्रियता बढाउँछौँ,’ कार्यभार सम्हालेपछि परराष्ट्र मन्त्रालयमा पत्रकारहरूसँग उनले भनिन् । 

करिब २० महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धबाट प्रत्यक्ष प्रभावित नेपालीका समस्या समाधानमा पनि पहल गरिने उनले बताइन् । रुसी सेनामा भएका थुप्रै नेपाली युवालाई स्वदेश फर्काउनेदेखि युद्धकै क्रममा युक्रेनको कब्जामा पुगी युक्रेनी हिरासतमा रहेका नेपाली नागरिकलाई फर्काउने पनि सरकारको नीति रहेको उनकाे भनाइ छ । 

कोरोना महामारीपछिको संकटग्रस्त विश्व, अफगानिस्तानमा सत्ता परिवर्तन, युक्रेनमाथि रुसी हमला, इजरायलमाथि सुरुमा हमासको आक्रमण र अहिले हमासलाई समाप्त पार्न इजरायली सेनाको अन्धाधुन्ध कारबाहीको पृष्ठभूमिमा लम्साल परराष्ट्रसचिव भएकी छिन् । उनले उल्लेखित परिवेशमा नेपालको अडान र नेपालीको हित सुरक्षित गर्न प्रभावकारी कूटनीतिक कदम चाल्नुपर्नेछ । 

उनी परराष्ट्रसचिव हुने पहिलो महिला हुन् । सरकारले बिहीबार उनलाई परराष्ट्र मन्त्रालयको सचिवमा पदोन्नति गरेको थियो । उनी २३ असोज ०७७ देखि बिहीबारसम्म परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिइन् । अब परराष्ट्र मन्त्रालयमा वरिष्ठतम् सहसचिव अमृतबहादुर राईले प्रवक्ताको समेत जिम्मेवारी पाएका छन् । 

सचिव लम्सालले यसअघि मन्त्रालयमा संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छिन् । उनी ०७३ देखि पाकिस्तानका लागि नेपाली राजदूत थिइन् । त्यसअघि लम्साल संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्युयोर्कमा उपप्रमुखका रूपमा कार्यरत थिइन् । परराष्ट्र मन्त्रालयमा उनले चीन हेर्ने  महाशाखाकाेसमेत नेतृत्व गरेकाे अनुभव छ । 

परराष्ट्र सेवामा ०६७ मा उपसचिवका रूपमा प्रवेश गरेकी उनले अन्तर्राष्ट्रिय कानुन डिभिजनमा काम गरेकी थिइन् भने उनले पासपोर्ट विभागको निर्देशकका रूपमा पनि काम गरेकी छिन् । उनी निजामती सेवामा भने ०५५ मा अधिकृत तहमा प्रवेश गरेकी थिइन् । भोजपुर दिङ्लामा ४ असार ०२४ मा जन्मिएकी लम्सालका तीन छोरी र एक नाति छन् ।

ad
ad