मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एकजनाको मृत्यु भएको छ। जुम्ला पातारासी गाउँपालिका ३ का अन्दाजी २५–२६ वर्षीय सुर्जबहादुर रावतको लेक लागेर मृत्यु भएको हो।
बिहीबार यार्सागुम्बा टिप्न भनी पाटनतर्फ जाँदै गर्दा लेक लागी बिरामी भएपछि उनलाई पुलु स्वास्थ्य चौकीमा ल्याई सामान्य उपचार गराएपछि थप उपचारका लागि मुगु जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा रिउसबगर भन्ने स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी गराए।
मृतक रावतको जिल्ला अस्पताल मुगुमा बिहीबार नै पोस्टमार्टम भएर शव आफन्तहरूले बुझिसकेको पनि प्रनाउ थापाले बताए।
यार्सा टिप्न जाँदा हाई अल्टिच्युडका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नहुँदा वर्षेनी यार्सा पाटन क्षेत्रमा यर्सा संकलकहरूले ज्यान गुमाउँदै आएका छन्।
गत वर्ष मात्र यार्सा टिप्न मुगुका पाटनहरूमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर मृत्यु भएको थियो। यो वर्ष मुगुम कार्मारोङ गाउँपालिकाले आगामी जेठ १५ गतेबाट यार्सा टिप्नका लागि मुगुका २ दर्जन बढी पाटनहरू खुला गर्ने बताएको छ।