१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० मङ्सिर २९ शुक्रबार १०:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२०औँ हस्तकला व्यापार मेला सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० मङ्सिर २९ शुक्रबार १०:४१:००

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा आयोजना भएको २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाल हस्तकला महासंघले आफ्नो स्वर्ण वर्ष पुगेको अवसर पारेर विगतका वर्षहरूमा जस्तै नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा मेलाको आयोजना भएको हो ।

उद्घाटनपछि राष्ट्रपति पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको बताए । उनले भने, ‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवं संवद्र्धन गर्दै विश्वमा परिचित गराउने महत्वपूर्ण क्षेत्र हो ।’

२८ मंसिरदेखि २ पुससम्म सञ्चालन हुने मेला काठमाडौंको अन्नपूर्ण होटेलमा आयोजना गरिएको छ । मेला एक लाखले अवलोकन गर्ने लक्ष्य लिएको नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए । मेलाले नेपालको स्वदेशी उत्पादनलाई विदेशसम्म निर्यातमा प्रवद्र्धन गरी आर्थिक लाभ लिनुका साथै रोजगार सिर्जना गर्नका लागि प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ ।

अहिलेको मेलाले उद्यमी, कलाकार, कालिगडबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । मेलामा नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय आयातकर्ताको चाहनाअनुरूप वस्तु डिजाइन र रङ संयोजनबारे उद्यमी–व्यवसायीमा जानकारी आदान–प्रदान गरिने संघले जनाएको छ ।