१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हस्तकला व्यापार मेलाको तयारी पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:२o:oo

नेपाल हस्तकला महासंघले आयोजना गर्न लागेको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिताको तयारी पूरा भएको छ । मंसिर ३ देखि ५ गतेसम्म्म काठमाडौंको होटेल हायात रिजेन्सीमा हुने मेलाको तयारी पूरा भएको हो । मेलामा हस्तकलाका विभिन्न विधाका एक सय २० भन्दा बढी स्टल रहने बताइएको छ । विगतका मेलामा हस्तकलाबाहेकका स्टल पनि रहने गरेकोमा यसपटक भने हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले बताए । अधिकांश स्टल बुकिङ भइसकेको उनको भनाइ छ । 

मेलाका आकर्षण
एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरूप वस्तुको प्रदर्शनी मेलाको मुख्य आकर्षण रहने जनाइएको छ । त्यस्तै, परम्परागत तथा नवोदित समसामयिक हस्तकला विधाको कला प्रतियोगिताअन्तर्गत परम्परागत–जडाउ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेसा (नेचुरल फाइबर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी रहने आयोजकको भनाइ छ । त्यस्तै, विभिन्न विधामा जीवनपर्यन्त संलग्न ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान र हस्तकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान रहेको मेला संयोजक शाक्यले बताए । 

शाक्यका अनुसार मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ भने मेला अवलोकनका लागि विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख, राजदूत तथा उच्चपदस्थ अधिकारीहरूलाई पनि आमन्त्रण गरिएको छ । मेला झन्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने आयोजकको अनुमान छ ।

साथै, मेलामा प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई डोर प्राइजको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । ०४८ देखि वार्षिक क्यालेन्डरका रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको सहकार्यमा मेला आयोजना गर्दै आएको जनाइएको छ । मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, सिएनआई, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, काठमाडाैं महानगरपालिका, नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत संघ–संस्थाहरूको सहयोग रहेको छ ।  

ad
ad