१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जाडो छल्न सहर झरे मनाङवासी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:२३:oo

मनाङ ङिस्याङ गाउँपालिका– ८ की सुनिता गुरुङको परिवार यस वर्षको जाडो छल्न सहर झरिसकेकाे छ। मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झरेका हुन्। 

जाडो बढेपछि उनीहरू मात्रै होइन, चारवटा गाउँपालिका रहेको मनाङका अधिकांश स्थानीय तीन महिनाका लागि बेँसी झरिसकेका छन्।

माथिल्लो मनाङमा धेरै जाडो हुन थालेपछि पुसदेखि फागुनसम्मका लागि सहर झर्ने मनाङीहरू यस वर्ष भने छिट्टै जाडो बढेकाले मंसिर पहिलो सातादेखि नै  जाडो छल्न सहर झरेका हुन्। 

मनाङवासीको यो परम्परागत चलन रहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले बताउँछन्। मनाङवासी अधिकांशको लमजुङको बेँसीसहर, चितवन, पोखरा, काठमाडौंलगायतका सहरमा घर छ।

उनीहरू मनाङमा भएको घरलाई कुरुवाको जिम्मा लगाएर तल झर्ने गर्दछन्। घरमालिकहरू तल झरेपछि घर कुरुवाहरू घरको सुरक्षा गरेर बस्ने मनाङको पहिल्यैदेखिको चलन हो।

मनाङ ङिस्याङ गाउँपालिकाकी सोनी घलेले अब एकैचोटि फागुनमा ग्याल्पो ल्होसार मनाउन गाउँ फर्किने बताइन्। कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले मनाङका बासिन्दाले विश्वासिलो व्यक्तिलाई पारिश्रमिक दिएर घर कुर्न लगाउने र आफू जाडो छल्न सहर झर्ने गरेको बताए। 

‘जाडो समयमा हिमपात पर्दा घरमा आएको हिउँ काटेर फाल्न र पन्छाउनका लागि घर कुरुवा राख्ने चलन छ,’ उनी भन्छन्, ‘केही मात्रामा घरमूलीका केही सदस्यहरू आफैँ घरमा बस्ने गर्दछन् भने धेरैजसो मनाङी घर कुरुवा राखेर जाडो छल्न तल झर्ने गर्दछन्।’ मनाङको चारवटा गाउँपालिकाका स्थानीयमध्ये ५० प्रतिशत जनसंख्या जाडो छल्न काठमाडौं, पोखरा, चितवन, लमजुङलगायतका स्थानमा पुग्ने गर्दछन्।

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङको चामेमा तापक्रम माइनस १४ सेन्टिग्रेटसम्म झरेको छ भने माथिल्लो मनाङमा अझै तापक्रम माइनसमै छ। घाम नउदाउँदासम्म तापक्रम माइनसमै हुने उनले बताए। प्रजिअ लामिछानेका अनुसार माथिल्लो मनाङमा रहेका प्रहरी चौकी, बैंकसमेत चामेमा झरेका छन्। 


 

ad
ad