Skip This
नवराज विकहरूको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार १६:१o:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नवराज विकहरूको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १६:१o:oo

अन्तर्जातीय प्रेमविवाह गर्न खोज्दा हत्या गरिएका जाजरकोटका नवराज विकसहितका ६ युवाको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।

बुधबार साँझ काठमाडौंको शान्ति बाटिकामा जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले दीप प्रज्वलन गरेको हो।

नवराज विकसहित उनका साथीहरू गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको स्मरण गर्दै न्यायका लागि संघर्ष जारी राख्ने संकल्पसहित दीप प्रज्वलन गरिएको मोर्चाकी महासचिव रूपा सुनारले जानकारी दिइन्।

जाजरकोट भेरी नगरपालिका– ४ रानागाउँका २१ वर्षीय नवराज प्रेमिकासँग बिहे गर्न १८ जना साथीसहित १० जेठ ०७७ अपराह्न रुकुम पश्चिमको चौरजहारी पुगेका थिए । तर, प्रेमिकाको परिवारसहित स्थानीयले दलित भन्दै  लखेटी–लखेटी लाठी र घरेलु हतियारसहित आक्रमण गरेर ६ जनाको हत्या गरेका थिए। अरू साथीहरू भने भागेर, लुकेर ज्यान बचाएका थिए।

त्यससम्बन्धी मुद्दामा साढे ३ वर्षपछि मंगलबार मात्रै जिल्ला अदालत रुकुम पश्चिमले २४ जनालाई जन्मकैद सजाय हुने फैसाल गरेको छ। साथै, त्यसमध्ये १७ जनालाई जातीय विभेदमा थप दुई वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ ।

यसैगरी, दुई वर्ष कैद र ५० हजार जरिवाना पाउने अन्य दुई प्रतिवादी पनि छन् । उनीहरूलाई पनि जातीय विभेदमा यस्तो फैसला आएको हो। यसरी अदालतले २६ जनालाई सजाय हुने गरी फैसला गरेको छ।

सोही फैसलाको स्वागत गर्दै मोर्चाले दीप प्रज्वलन गरेको हो। यो न्यूनतम न्याय भएको बताउँदै महासचिव सुनारले न्यायका लागि अझै संघर्ष गर्नुपर्ने बताइन्।
यसैगरी मोर्चाको अध्यक्षमण्डलकी सदस्य शान्ति गजमेरले सडकदेखि न्यायालयसम्मको संर्घषका कारण यो उपलब्धि हासिल भएको बताइन्। जातीय आधारमा हुने विभेद तथा छुवाछुतको अन्त्य गर्न नेपाली समाजमा जरो गाडेर बसेको जात व्यवस्थाको उन्मूलन गर्नुपर्नेमा उनको जोड छ। त्यसका लागि अबका दिनमा थप संघर्ष गर्न आवश्यक रहेको उनको भनाइ छ।

दीप प्रज्वलन कार्यक्रममा राजनीतिज्ञ, अधिकारकर्मी, उक्त मुद्दामा बहस गरेका अधिवक्ता, पत्रकारलगायतको उपस्थिति थियो।

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका