Skip This
‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणको वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १९ मंगलबार १o:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणको वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १o:५९:oo

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा बिर्सन नहुने बताएका छन् ।

उनले इसिमोड स्थापनाको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सिमानाभित्र नभई सीमापारि र विश्वस्तरमा समेत पर्न जाने स्पष्ट पारे। पौडेलले भने, ‘अहिलेको विश्व मानवसिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले संकटमा छ। पहाडी संवेदनशील भू–बनाेट र कमजोर आर्थिक–सामाजिक कारणहरूले गर्दा हिन्दूकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ ।’

राष्ट्रपति पौडेलले नेपालजस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्यसरह  योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भएको उल्लेख  गर्दै केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका क्रममा आफूले कार्बन उत्सर्जनको कारक नभएर पनि नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरको मार सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन गरेको आग्रह  स्मरण पनि गराए ।

पौडेलले भने, ‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रासामु ठूलो चुनौती छ । हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिणी तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानिनोक्सानी पुगिरहेको छ ।’ 

उनले  नेपाल सरकारले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण, जीविकोपार्जनसम्बन्धी मुद्दामा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताए । राष्ट्रपति पौडेलले नेपाल इसिमोडको संस्थागत विकास गर्न र समग्र हिन्दूकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिबद्ध भएको र भविष्यमा समेत नेपालको सहयोग जारी रहने बताए ।

उनले भने, ‘हिन्दूकुश पर्वतीय शृंखला यस क्षेत्रका लागि मात्र नभएर संसारकै लागि खाद्यान्न, ऊर्जा, पानी, सांस्कृतिक र जैविक विविधताका लागि महत्वपूर्ण सम्पत्तिको रूपमा रहेको सबैलाई विदितै छ । हिन्दूकुश हिमालयको पर्यावरणीय सेवाको छातामुनि संसारका एकचौथाइ मानवजीवन आश्रित छन् । यो क्षेत्रको संरक्षण कति महत्वपूर्ण छ भन्ने यसबाट पनि प्रस्ट हुन्छ।’

उनले इसिमोडलाई हिन्दूकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभाव क्षेत्रमा रहेका झन्डै दुई अर्ब जनता तथा सामुद्रिक तटका देशहरूलाई समेत साथ लिई थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिए ।