Skip This
धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्टस् क्लब विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १८ सोमबार १७:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्टस् क्लब विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १७:२८:oo

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत सोमबार भएका खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्टस् क्लब विजयी भएका छन्।

धनगढी क्रिकेट एकेडेमीले कैलाली बहुमुखी क्याम्पसलाई ४३ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। टस हारेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो।

धनगढीका लागि कप्तान विजय रानाले सर्वाधिक ४१ रन बनाए। त्यस क्रममा उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, हृतिक थापाले ३० बलमा ५ चौका र १ छक्कासहित अविजित ३७ रन बनाए। नीरज ऐरले १० बलमा १ चौका र २ छक्काको मद्दतमा २१ रन जोडे। कैलाली बहुमुखीका अभिषेक कुँवर, लोकेन्द्र खनाल र दीप कँडेलले २-२ विकेट लिए।

एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कैलाली बहुमुखी क्याम्पसले पूरै ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। धनगढी क्रिकेट एकेडेमीका नीरज ऐरले ४ तथा अनिष अवस्थी र मान साउदले २-२ विकेट लिए। ऐरले ३ ओभरमा १ मेडन ओभर फाल्दै ४ रन खर्चिए। कैलालीको ब्याटिङमा गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

दोस्रो खेलमा धनगढी स्पोर्टस् क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको धनगढी स्पोर्टस् क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो। धनगढीका लागि ओपनर आयुष्मान बमले सर्वाधिक ४५ रन बनाए। त्यस क्रममा उनले ३५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, नारायण जोशीले २५ बलमा ३५ रन र आयुब चन्दले २९ बलमा ३२ रन बनाए। सुनील धमलाले २५ रन जोडे । कैलाली जिल्ला क्रिकेट संघका नरेन साउदले ३ तथा राहुल केसी र डबल ऐरले १-१ विकेट लिए।

एक सय ६७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जिल्ला क्रिकेट क्लबले १५.२ ओभर खेल्दै ९४ रनमा सबै विकेट गुमायो। उसका दीपक टमटाले ३३ रन तथा विनोद नाथ र नरेन साउदले १३-१३ रन योगदान दिए। बलिङतर्फ भोजराज भट्ट र दीपकचन्द ठकुरीले ३-३ तथा नारायण जोशीले २ विकेट लिए।

प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ। लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा जारी प्रतियोगिताको आठौँ संस्करणको उपाधि विजेताले दुई लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।