मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Wednesday, 02 September, 2026
२o८o मङ्सिर ५ मंगलबार १८:o२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

अस्थिरताले राज्यका संरचनालाई कमजोर पार्छ : प्रदेश प्रमुख शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार १८:o२:oo

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशमा पछिल्लो समय बढेको अस्थिरता र अराजकताले राज्यका संरचनाहरू कमजोर बन्दै गएको बताएका छन्।

मंगलबार हेटौँडामा आयोजित प्रदेश लोकसेवा आयोगको चौथो वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राज्यका जिम्मेवार निकायले तत्काल केही नगर्ने हो भने देश संकटमा फस्ने जिकिर गरे। प्रदेश प्रमुख शर्माले देशमा लम्बिएको संक्रमणकालीन अवस्थाले निम्त्याएको अस्थिरताले समाजमा अराजकता सिर्जना गरेको बताए।

उनले देशमा देखिएको समस्या समाधानमा सबै क्षेत्र जुट्नुपर्नेमा जोड दिए। ‘देशमा लम्बिइरहेको संक्रमणकालीन अवस्थाले अस्थिरता र अराजकतालाई निम्त्याएको छ। राज्यका संरचनाहरू कमजोर बन्दै गएका छन्। तत्काल हामी सबै मिलेर केही नगर्ने हो भने देश नै संकटमा नपर्ला भन्न सकिन्न,’ उनले भने।

प्रदेश प्रमुख शर्माले देशमा देखिएको अस्थिरता र अराजकताले राजनीति र प्रशासन क्षेत्रलाई तहसनहस पार्ने उल्लेख गरे। उनले प्रशासन क्षेत्र राज्यको स्थायी संरचना भएको भन्दै देशमा देखिन थालेको समस्या समाधानका लागि पहल गर्न आग्रह गरे।

‘राजनीति र प्रशासनमा संक्रमण राम्रो मानिँदैन। लम्बिइरहेको संक्रमणले अस्थिरतालाई मात्रै बल पुग्छ। यो तपाईं-हामी सबैका लागि घातक हुन्छ,’ उनले भने।

प्रदेश प्रमुख शर्माले लोकसेवा आयोगले निष्पक्ष र स्वतन्त्र रूपमा काम गरेर पद्धतिलाई जोगाउने काम गरेको भन्दै लोकसेवा आयोगले जस्तै राज्यका सबै निकायले स्वतन्त्र, निष्पक्ष तथा दबाब र प्रभावरहित ढंगबाट काम गर्नुपर्नेतर्फ सचेत गराए।