१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर २ शनिबार १०:४०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साताैँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप १६ मंसिरदेखि नेपालमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर २ शनिबार १०:४०:००

विवादै–विवाद र आर्थिक मन्दीबाट ग्रसित नेपाल कराँते महासंघले २५ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघले साताैँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप १६ मंसिरदेखि आयोजना गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव तथा कराँतेका संस्थापक अध्यक्ष युवराज लामाले महासंघको जिम्मेवारी लिएपछि संघ अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने अवस्थामा पुगेको छ । एसियाली कराँते महासंघको नियमअनुसार यसपटक बंगलादेशले आयोजना गर्नुपर्ने थियो । तर, बंगलादेशले बेवास्ता गरेपछि नेपालले अवसर पायो । 

नेपालको प्रस्तावलाई एसियाली कराँते महासंघ (एकेएफ)ले सहजै स्वीकृत गर्‍यो । ‘बंगलादेशले बेवास्ता गर्दा हामीलाई फाइदा भयो, २५ वर्षपछि हामीले प्रतियोगिता आयोजना गर्ने भएका छौँ,’ महासंघ अध्यक्ष लामाले भने । एक दशकदेखिको विवाद टुंग्याउँदै राखेपले कराँतेका संस्थापक अध्यक्ष लामाको नेतृत्वमा महासंघ दर्ता गरेको थियो । 

महासंघ महासचिव दावा गुरुङले विवादबाट संघ सधैँ थलिएको र आर्थिक स्थिति कमजोर हुँदा प्रतियोगिता आयोजना गर्न लामो समय कुर्नुपरेको जानकारी गराए । ‘धेरै समय विवादमै थलियौँ । कसैले जिम्मेवारी लिएनन्, अहिले महासंघ आएपछि सबै राम्रो हुँदै गएको छ,’ उनले भने । एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराँते महासंघ (डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको छ । प्रतियोगितासँगै रेफ्री कोर्स सेमिनार पनि हुनेछ । १५ मंसिरमा दक्षिण एसियाली कराँते महासंघको कंग्रेस नेपालमै हुनेछ ।

६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने 
प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ । नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतिबन्धमा रहेकाले श्रीलंकाको एनओसी टिम सहभागी हुने जनाइएको छ । क्याडेट, जुनियर, यू–२१ र सिनियरमा गरी चार विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्याडेटमा १२, जुनियरमा १५, यू–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ । तीन सय ५३ खेलाडीको सहभागिता रहने महासंघले जनाएको छ । नेपालबाट ६८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ ।