१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
ट्युबेलबाट पानी थाप्दै खानेपानी ट्यांकीको छेउमै घर रहेकी तुलसा राई (बायाँ) र ट्युबेलको पानी राख्दा दूषित पानीले राता भएका भाँडा
२०८० कार्तिक २८ मंगलबार ०५:२७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सवा १३ करोड लागतको खानेपानी आयोजना सात वर्षसम्म अधुरै

Read Time : > 2 मिनेट
२०८० कार्तिक २८ मंगलबार ०५:२७:००

पौने चार करोड खर्चिँदा ३० प्रतिशत काम, डिभिजन प्रमुख काफ्ले भन्छन्– बजेटको अनुपातलाई हेर्दा आयोजना सम्पन्न गर्न अझै दश वर्ष लाग्छ  

कन्काई नगरपालिका– २ जामुनबारीकी तुलसा राई (८८) को घरछेउमै खानेपानीको ट्यांकी छ। तर, उनले दैनिक रूपमा ट्युबेलको दूषित पानी प्रयोग गर्नुपर्छ। विपन्न तुलसाको घरमा पानी शुद्धीकरण गर्ने फिल्टरसमेत छैन। 

घरमा गाडेको ट्युबेलको पानी आर्सनिकयुक्त छ। पानी थापेकाे भाँडा नै केहीबेरमै रातो हुन्छ। पानी गन्हाएर खाइनसक्नु भएपछि गाउँबाट ट्युबेलको पानी ल्याएर प्रयोग गर्छिन् तुलसा। ‘यो कलको पानीले त भाँडा माझ्दा भाँडा नै रातो हुन्छ। नुहाउन पनि गाउँबाट पानी ल्याएर नुहाउँछु,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘मेरो घरको कलको पानी त गन्हाएर खान सकिँदैन। गाउँबाट ल्याएर खान्छु। फिल्टर किन्ने पैसा छैन। त्यसै खाँदा पानी गन्हाउँछ।’

तुलसा बसेको गाउँ भौगोलिक हिसाबले सुगम हो। उनको गाउँ पूर्व–पश्चिम राजमार्गदेखि दुई किलोमिटर उत्तरमा पर्छ। तर, सुगम गाउँका नागरिक नै शुद्ध पानीको पहुँचबाट टाढै छन्। सात वर्षअघिबाट घरछेउमै चार लाख ५० हजार लिटरको खानेपानी ट्यांकी निर्माण सुरु गरिएको छ। तर, समयमा काम नसक्दा स्थानीय शुद्ध पिउने पानीबाट वञ्चित छन्। ‘ट्यांकी बनाएको त धेरै भयो। तर, अहिलेसम्म पानी आएको छैन,’ उनले भनिन्, ‘ट्यांकी हेरेर हामी फोहोर पानी खान्छौँ। आसै आशामा निराश भइयो।’

आर्थिक वर्ष ०७३/७४ मा १२ सय घरधुरीका लागि जामुनबारी–प्रजापति–कन्काई खानेपानी आयोजनाको काम सुरु गरिएको थियो। तर, सात आर्थिक वर्ष बितिसक्दा पनि खानेपानी आयोजनाको काम बल्ल ३० प्रतिशत मात्र भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले जनाएको छ। अझै उक्त खानेपानी आयोजना कति वर्षमा सकिने हो भन्ने जवाफ खानेपानी तथा सरसफाइ डिभिजनसँग समेत छैन। काम सुरु भएको करिब आठ वर्षमा पनि काम नसकिँदा स्थानीय ट्युबेलको अशुद्ध पानी पिउन बाध्य छन्। 

ट्युबेलको आर्सनिक पानीले स्थानीयको स्वास्थ्यमा समेत प्रभाव पारेको कन्काई– २ का नेत्रप्रसाद अधिकारीले बताए। ‘हामी त बाध्य भएर यो पानी खाइरहेका छौँ। यसले हाम्रो स्वास्थ्यमा कति असर गरेको होला? पानी गन्हाएर खान पनि मुस्किल पर्छ। सेतो लुगा यो पानीले धुनेबित्तिकै रातो हुन्छ,’ उनले भने, ‘केहीबेर पानी भाँडामा राखियो भने रातो बस्छ। यस्तो पानी कहिलेसम्म खाने? सरकारले किन वास्ता नगरेको?’

जामुनबारी–प्रजापति–कन्काई खानेपानी उपभोक्ता समितिले प्रत्येक घरबाट गत वैशाखमा पाँच हजार संकलन गरेको थियो । तर, अझै खानेपानी आउने छाँटकाँट नरहेको अधिकारी बताउँछन्। ‘दसैँसम्म पानी खुवाउने भनेर वैशाखमा पाँच हजार लगे। तर, अहिलेसम्म पाइप बिछ्याउने काम भएको छैन। घरछेउमा ट्यांकी छ। तर, कलको अशुद्ध पानी खानुपर्ने बाध्यता छ। चार ठाउँ कल गाड्दा केही मात्रामा नगन्हाउने पानी आएको छ,’ उनले भने, ‘घरेलु तरिकाले फिल्टर गरेर पानी खाएका छौँ। कति शुद्ध छ भन्ने जाँच गरेको पनि छैन।’

उपभोक्ता समिति भन्छ– सरकारले पैसा नदिँदा समस्या
सरकारले समयमा पैसा नदिँदा समयमा खानेपानी आयोजनाको काम गर्न नसकिएको जामुनबारी–प्रजापति–कन्काई खानेपानी उपभोक्ता समितिका अध्यक्ष ऋषिकेश खतिवडाले जानकारी दिए। उनका अनुसार ट्यांकी निर्माणको काम भए पनि करिब ४५ किलोमिटर पाइप विस्तार गर्ने काम हुन नसकेको बताए। ‘सरकारले समयमा र एकैपटक पैसा नदिँदा समस्या भएको छ। त्यसकारण पनि काम सकिएको छैन। ट्यांकी त बनायौँ, तर बल्ल चार किलोमिटर पाइप बिछ्याएका छौँ। अझै ४१ किलोमिटर पाइप बिछ्याउनुपर्नेछ,’ उनले भने, ‘यसपटक बजेट आउँछ कि भनेको प्रदेश सरकारमा राजनीतिक चलखेलले सरकार ढल्ने/बन्ने गर्दा बजेट आएको छैन। काम गर्न पाएका छैनौँ।’ अब नियमित काम गर्दा एक वर्षमा मात्र काम सकिने उनी बताउँछन्। ‘राजमार्गनजिकको यो गाउँ दुर्गममा भन्दा पनि समस्यामा छ। खानेपानी नहुँदा नागरिकले दूषित पानी खाएका छन्,’ उनले भने, ‘सरकारले यस्ता कुरामा चाहिँ ध्यान दिनुपर्छ। सरकारकै कारण समयमा काम सकिएन।’ 

पौने चार करोड खर्चिँदा ३० प्रतिशत काम
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका अनुसार यो खानेपानी आयोजनामा हालसम्म तीन करोड ६३ लाख ७४ हजार खर्च भएको छ। जसबापत ३० प्रतिशत हाराहारी काम भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्लेले जानकारी दिए। चालू आर्थिक वर्षमा प्रदेश सरकारले यो आयोजनाको कामका लागि ८७ लाख ५० हजार रुपैयाँ दिने भएको छ। यद्यपि, यो बजेटले काम भने सुुरु हुन सकेको छैन। उक्त आयोजना निर्माण सम्पन्न गर्न १३ करोड २५ लाख ७७ हजार लाग्ने अनुमान खानेपानी तथा सरसफाइ डिभिजनको छ। जसमा स्थानीयले श्रमदानमार्फत दुई करोड ९६ लाख ८१ हजारबराबरको योगदान गर्नुपर्ने हुन्छ। 

सरकारले पछिल्लो आठवटा आर्थिक वर्षमा दिएको बजेटको अनुपातलाई हेर्दा यो आयोजना सम्पन्न गर्न अझै दश वर्ष लाग्ने डिभिजन प्रमुख काफ्लेले बताए। ‘यो एकमुष्ठ ठेक्का लगाएको योजना होइन। त्यसकारण कति वर्षमा सकिन्छ भन्न सकिँदैन। यहाँ केही काम उपभोक्ता समितिमार्फत भएको छ भने केही काम ठेक्का लागेर भएको छ,’ उनले भने, ‘काम कहिले सकिन्छ भन्ने कुरा सरकारले बजेट कति पठाउँछ भन्नेमा भर पर्छ। अहिलेको गति हेर्दा अझै दश वर्ष लाग्न सक्छ।’ यद्यपि, चालू आर्थिक वर्षमा केही परिवारलाई खानेपानी खुवाउने योजना रहेको उनले बताए।