जाजरकोटमा केन्द्रविन्दु बनाई गएको भूकम्पका कारण प्रभावित भएका आफ्ना सदस्यका लागि डिप्रोक्स लघुवित्तले राहत प्याकेज घोषणा गरेको छ । लघुवित्तले जाजरकोटको खलंगा र मिलबजार शाखा कार्यालयअन्तर्गतका सदस्यहरू तथा पश्चिम रुकुमका सिमबजार शाखाका सदस्यसहित आसपासका अन्य क्षेत्रमा समेत प्रभावित आफ्ना सदस्यका लागि राहत प्याकेज ल्याएको हो ।
जसअनुसार ज्यान गुमाएका सदस्यको हकमा मृतकको परिवारलाई २५ हजार रुपैयाँ, परिवारका अन्य सदस्यहरूको ज्यान गुमेकोमा परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने जनाइएको छ । सदस्य तथा निजका परिवार घाइते भएमा प्रतिघाइते १० हजार रुपैयाँ, सदस्यको बस्ने घर पूर्ण रूपमा क्षति भएमा पाँच हजार रुपैयाँ र आंशिक क्षति भएमा दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने संस्थाले जनाएको छ ।
शाखा कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार खलंगा जाजरकोटमा संस्थामा आबद्ध पाँचजना सदस्य र आठजना सदस्यका छोराछोरीसमेत १३ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका र एक सय ५४ वटा घर पूर्ण रूपमा क्षति तथा पाँच सयवटा घर सामान्य क्षति भएको जनाइएको छ ।
शाखा कार्यालय मिलबजार जाजरकोटमा एकजना सदस्यको मृत्यु भएको र एकजना सदस्यको परिवारको मृत्यु भएको साथै ६० घर पूर्ण रूपमा क्षति भएका र दुई सय घरमा आंशिक क्षति भएको संस्थाले जनाएको छ ।त्यस्तै, पश्चिम रुकुमको सिमबजार शाखामा आबद्ध सदस्यहरूका ५० घर पूर्ण रूपमा क्षति भएका र दुई सय घरमा आंशिक क्षति भएकोे
जनाइएको छ ।