१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० कार्तिक २० सोमबार ०९:१२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इन्जेक्सनबाट औषधि दिएलगत्तै पाटन अस्पतालमा उपचाररत दुई बिरामीको मृत्यु

स्वास्थ्यकर्मीको लापरबाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप, प्रयोग गरेको औषधि ‘सिज’ गरेको अस्पताल प्रशासनको भनाइ

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० कार्तिक २० सोमबार ०९:१२:००

पाटन अस्पतालमा उपचाररत दुई बिरामीको एन्टिबायोटिक औषधि दिएलगत्तै ज्यान गएको छ । शनिबार दिउँसो ४ः३० बजे दुई प्रकारका औषधि इक्जेन्सनबाट दिएलगत्तै ओखलढुंगाकी ९६ वर्षीया जनमाया राई र मकवानपुरका ६७ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए । शनिबार बिरामीको चेकजाँचका लागि राउन्डमा आएको नर्सको टोलीले बिरामीलाई इन्जेक्सनबाट औषधि दिएको थियो । 

अस्पताल प्रशासनका अनुसार दुवै बिरामीलाई उच्च निमोनिया संक्रमण देखिएको थियो । त्यसमध्ये राईको मुटुमा पनि समस्या देखिएको थियो । उच्च निमोनिया देखिएकाले इन्जेक्सनबाट हिपारिन र सेफ्राएसम एन्टिबायोटिक औषधि प्रयोग गरिएको थियो । हिपारिनले रगत सञ्चालन गर्न मद्दत पुर्‍याउँछ भने सेफ्राएसमले इन्फेक्सन कम गर्छ । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार यी औषधि निमोनियाका बिरामीलाई खुवाइने अत्यावश्यक तथा सामान्य औषधि हुन् । सामान्यतया यी औषधिले हानि गर्दैनन् । तर, हिपारिन र सेफ्रिएसम एन्टिबायोटिक इन्जेक्सन दिनेबित्तिकै दुवैजनाको ज्यान गयो । 

सुरुमा ९७ वर्षीया राईलाई नर्सको टोलीले खुट्टाको साप्रा र पाखुराबाट इन्जेक्सनमार्फत औषधि दिएको थियो । त्यसलगत्तै नगरकोटीलाई एन्टिबायोटिक औषधिको इन्जेक्सन दिइयो । तर, एन्टिबायोटिक दिएको क्षणभरमै दुवैको ज्यान गयो । एन्टिबायोटिक दिनबित्तिकै दुवैजनाको शरीर काँप्न थालेको र तत्काल मृत्यु भएको आफन्तको आरोप छ । मृतक राईका नाति विसन राईले अस्पतालको लापरबाहीले हजुरआमाको मृत्यु भएको बताए ।

‘बिहान मैले नै खाना खुवाएको थिएँ, हाँस्ने–बोल्ने गर्नुहुन्थ्यो, तर इन्जेक्सन लगाउनेबित्तिकै, जिउ थरथर काँप्यो, हेर्दाहेर्दा उहाँको मृत्यु भयो,’ उनले भने, ‘उहाँसँगै बेड नम्बर १९१ मा रहनुभएका कृष्णबहादुर नगरकोटी पनि ज्यान गयो ।’ उनले मृत्युको कारण इन्जेक्सन रहेको भन्दै स्वास्थ्यकर्मीलाई कारबाही हुनुपर्ने बताए । ‘इन्जेक्सन दिएको एक–दुई मिनेटमा हजुरआमाको मृत्यु भयो, त्यहीँ नजिकै रहनुभएका कृष्णबहादुर नगरकोटीको त चार–पाँच सेकेन्डमै सास गयो,’ उनले भने, ‘नर्सले हात र फिलामा दुई थरी औषधि दिनुभएको थियो, दिनेबित्तिकै दुवैजनाको शरीर काँपेको थियो ।’ 

डा. रवि शाक्य निर्देशक, पाटन अस्पताल

संयोगले त्यस्तो भएको हुन सक्छ, उक्त औषधि प्रयोग नगर्ने भनेर सिज गरिसकेका छौँ, अब औषधिको गुणस्तरीयता हेर्छौँ । यदि औषधिमा समस्या रहेछ भने स्वास्थ्यकर्मीलाई कारबाही हुन्छ, बाँकी जानकारी पोस्टमार्टमपछि पनि खुल्छ ।

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आइतबार दिउँसो अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । उनीहरूले इन्जेक्सनमा दिएको औषधिकै कारण बिरामीको मृत्यु भएको भन्दै स्वास्थ्यकर्मीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । मृतकका आफन्तले विरोध प्रदर्शन गरेपछि आइतबार दिउँसो अस्पताल परिसर अस्तव्यस्त बनेको थियो । झडप हुने अवस्था निम्तिएपछि जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले मृतकका आफन्त र अस्पताल प्रशासनसँग छलफल गरेको थियो । सो क्रममा अस्पताल प्रशासनले तत्काल छानबिन समिति गठन गर्ने, मृतकाको शरीर पोस्टमार्टम गर्नेलगायत निर्णय गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले इन्जेक्सनबाट औषधि दिएका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रहरीलाई जानकारी गराएको बताए । ‘घटनाबारे छानबिन समिति गठन गर्ने निर्णय भएको छ, यदि लापरबाही रहेछ भने कारबाही हुन्छ,’ उनले भने, ‘बिरामीलाई इन्जेक्सनबाट दुईवटा औषधि दिएको देखिन्छ ।’ 

तर, अस्पताल प्रशासनले नर्स तथा चिकित्सकको कुनै लापरबाही नहरेको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. शाक्यले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुन सक्ने बताए । ‘संयोगले त्यस्तो भएको हुन सक्छ, उक्त औषधि प्रयोग नगर्ने भनेर सिज गरिसकेका छौँ, अब औषधिको गुणस्तरीयता हेर्छौँ,’ उनले भने, ‘यदि औषधिमा समस्या रहेछ भने स्वास्थ्यकर्मीलाई कारबाही हुन्छ, बाँकी जानकारी पोस्टमार्टमपछि पनि खुल्छ ।’ उनका अनुसार बिरामीलाई दिइएको उक्त औषधि अस्पतालको हाताभित्रै रहेको फार्मेसीबाट ल्याइएको थियो । फार्मेसीमा समेत उक्त औषधि सिज गरिएको छ ।