१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोइला किन्न नसक्दा हेटौँडा सिमेन्टको उत्पादन बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:५५:oo

आर्थिक समस्याका कारण पटक–पटक बन्द हुने गरेको हेटौँडामा रहेको नेपाल सरकारको स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द भएको छ । आर्थिक अभावका कारण कोइला खरिद गर्न नसकेपछि उद्योग सोमबारदेखि बन्द 
भएको हो ।  

उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले आर्थिक अभावका कारण कोइला खरिद गर्न नसक्दा उद्योगको उत्पादन बन्द गर्नुपरेको जानकारी दिए । उद्योगलाई नियमित सञ्चालनका लागि मासिक रूपमा करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने उनको भनाइ छ । उनले भने, ‘आर्थिक समस्याले आवश्यक कोइला खरिद गर्न नसकेपछि आजदेखि सिमेन्ट उत्पादन बन्द भएको छ । 

कोइला सप्लायर्सहरूलाई पैसा तिर्न बाँकी छ । पैसा तिर्न बाँकी भएपछि सप्लायर्सहरूले तत्काल कोइला पठाएका छैनन् । त्यसैकारणले केही दिन उद्योग बन्द हुने भएको छ ।’महाप्रबन्धक पाण्डेले उत्पादन भएको सिमेन्ट समयमै बिक्री नहुँदा पनि समस्या भएको बताए । हिजोआज दैनिक दुईदेखि तीन सय बोरा सिमेन्ट मात्रै बिक्री हुने गरेको उनको भनाइ छ । 

उनले भने, ‘उद्योगमा तीन लाख बोरा सिमेन्ट मौज्दात छ । तर, अहिले दैनिक जम्मा दुई तीन सय बोरा सिमेन्ट मात्रै बिक्री भइरहेको छ । उद्योग सहज रूपमा सञ्चालनका लागि कम्तीमा पनि दैनिक तीन चार हजार बोरा सिमेन्ट बिक्री हुुनुपर्छ ।’
चाडपर्वले निर्माणका काममा कमी आएकाले सिमेन्ट बिक्री घटेको हुन सक्ने बताउँदै महाप्रबन्धक पाण्डेले छठपछि सिमेन्ट बिक्री बढ्ने आशा व्यक्त गरे । भुक्तानी गर्ने रकमको व्यवस्था भएपछि केही दिनमै उद्योग पुनः सञ्चालनमा आउने उनको भनाइ छ । 

महाप्रबन्धक पाण्डेले कोइला अभावमा उद्योग बन्द भएको मौका पारेर मर्मतको काम पनि गर्ने बताए । चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले समय–समयमा मर्मत गरिराख्नुपर्ने अवस्था पनि रहेको उनले जानकारी दिए ।

ad
ad