१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश सांसदसँग जनताको सवाल-जवाफ

खानेपानी, सडक, सिँचाइ, कृषिको विकासमा ध्यान नदिएको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१४:oo

मधेश प्रदेश सभा सदस्यसँग सिराहाको लहान नगरपालिका १५ ढोढनाका सर्वसाधारणले खानेपानी, सडक, सिँचाइ, कृषि क्षेत्रको विकास र प्रदेश सांसद्को बजेटमा गरिएका विकास निर्माणसम्बन्धी कामको भुक्तानीमा ध्यान नदिइएको गुनासो गरेका छन्। 

मधेश प्रदेश सभा सचिवालयद्वारा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेश फाउन्डेसनको सहकार्यमा सिराहाको लहान नगरपालिका १५ ढोढनास्थित राजदेवी मन्दिरको धर्मशालाको सभाकक्षमा बुधबार दिउँसो आयोजित कार्यक्रममा स्थानीय सर्वसाधारणले संघीयतापछि पनि विकास, पहिचानको सवालमा आफूहरूमाथि विभेद गरिएको गुनासो गरे। 

मधेश प्रदेश सभाको विकास समितिका प्रदेश सभा सदस्यहरू रामसरोज यादव, रत्नेश्वरलाल गोइत, राजेन्द्रप्रसाद चौधरी, शम्भुकुमार साहको उपस्थितिमा ‘सार्वजनिक सुनुवाइ’अन्तर्गत विकास समितिसँग नागरिक तथा सरोकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रममा सहभागी सर्वसाधारणले दुई १० वर्ष पुरानो इतिहास बोकेको राजदेवी पञ्चावती मन्दिरको पहिचानका लागिसमेत प्रदेश सभाले भेदभाव गरेको गुनासो गरे। 

‘हरेक वर्षको चण्डी पूर्णिमामा नेपाल भारतसहितका विभिन्न ठाउँबाट आउने हजारौँ श्रद्धालुहरूले पशु बली चढाउने राजदेवी मन्दिरको विषयमा प्रदेश सरकारको धार्मिक पर्यटन क्षेत्रको रूपमा पनि समावेश नगरिनु विभेद हो,’ स्थानीय मिहीलाल चौधरीले भने, ‘मन्दिरमा आउने श्रद्धालुका लागि स्वच्छ खानेपानी, सडक, कृषिमार्फत जीविका चलाइरहेका स्थानीय सर्वसाधारणको विकासका लागि प्रदेश सरकारले ध्यान दिएन।’ 

जंगल क्षेत्र रहेको नगरको विकट ठाउँ मानिने ढोढनाको विकासका लागि कृषिको व्यवसायीकरण, भरपर्दो सिँचाइ, प्रांगारिक तथा जैविक मल उत्पादन र प्रयोग, बेरोजगार युवाहरूका लागि वैकल्पिक रोजगारीको व्यवस्था गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रमसँगै पर्याप्त बजेटसहितको कार्यक्रम दिइनुपर्ने स्थानीय देवराज चौलागाईंले माग गरे। 

तीन तहको सरकारमार्फत समाधान

कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै विकास समितिका सदस्य रामसरोज यादवले प्रदेशअन्तर्गतका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेका धार्मिक पर्यटकीय क्षेत्रको पहिचान, त्यसको ऐतिहासिकताको खोजी गर्न प्रदेश सरकार चुकेकाे बताए। 

‘त्यस्ता ठाउँहरूको यकिन गरी स्थानीय, प्रदेश तथा संघीय सरकारको योजना र प्राथमिकीकरणसहित एकीकृत प्रयासमा मात्र विकास हुन सक्छ,’ उनले भने, ‘संघीयताको प्रारम्भिक अभ्यासको चरणमा रहेकाले केही कमजोरी भएका छन्, आगामी दिनमा यो क्षेत्रको विकासका लागि प्रदेश सभामा विकास समितिमार्फत प्रयास गर्छौँ,’ प्रदेशस्तरको पर्यटन विकाससम्बन्धी विधेयक प्रदेश सभामा टेबुल भएपछि राजदेवी मन्दिरलाई समेत समावेश गरिने उनको प्रतिबद्धता थियो। 

प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले खानेपानी, सडक, बिजुलीजस्ता आधारभूत सेवाबाट वञ्चित बेतहा खोला क्षेत्रको विकासका लागि आफूले अधिकतम प्रयास गरिरहेको जानकारी दिँदै भने, ‘कृषिको व्यावसायीकरणमार्फत स्थानीय रोजगारीको सिर्जना गर्न तीन तहकै सरकारले सहयोगसहित वातावरण बनाइदिनुपर्छ।’ 

अर्का प्रदेश सभा सदस्य रत्नेश्वरलाल गोइतले सधैँभरि समस्याको रूपमा रहने रासायनिक मलको विकल्पमा जैविक, कम्पोस्ट र प्रांगारिक मलको उत्पादनका लागि नीति तथा कार्यक्रम, बजेट विनियोजन गर्न प्रदेश सभाले प्रयास गरिरहेको दाबी गरे भने प्रदेश सभा सदस्य शम्भुकुमार साहले पूर्व - पश्चिम लोकमार्गदेखि दक्षिण र उत्तरतिर तीन खालको मधेश रहेको चर्चा गर्दै त्यो क्षेत्रको विकासका लागि तीन तहकै सरकारको संस्थागत प्रयास हुनुपर्ने औँल्याए। 
 

कार्यक्रममा युएनडिपीका बिटु श्रीवास्तवले आफ्नै गाउँघरमा आएका प्रदेश सभा सदस्यहरूस्ँग स्थानीय नागरिकले राखेका समस्या समाधान गर्न प्रदेश सभा सदस्यहरूले गम्भीरतापूर्वक  लिनुपर्ने बताए। 

फाउन्डेसनका कार्यक्रम प्रबन्धक कृष्णकुमार साहले सर्वसाधारणले राखेका स्थानीय आवश्यकतामा आधारित योजनाको सवाल सम्बोधनका लागि प्रदेश सभा सदस्यहरूलाई जवाफदेही बनाउन आफूहरूले सहजीकरण गरिरहेको बताए। 
 

ad
ad