१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
एजेन्सी मुम्बई
२०८० असोज ३० मंगलबार ०६:१२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१२८ वर्षपछि ओलम्पिकमा फर्कियो क्रिकेट

आइओसीको १४१औँ बैठकले सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट खेल समावेश गर्ने निर्णय गरेको छ, दुई प्रतिनिधिले मात्र क्रिकेटको विपक्षमा मतदान गरे

Read Time : > 1 मिनेट
एजेन्सी, मुम्बई
२०८० असोज ३० मंगलबार ०६:१२:००

ओलम्पिक खेलकुदको इतिहासमा एक सय २८ वर्षपछि क्रिकेट खेल समावेश हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सोमबार मुम्बईमा भएको कार्यकारी बैठकमा क्रिकेट खेललाई सन् २०२८ को अमेरिकाको लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेश हुने निर्णय भएको हो । बैठकमा दुई प्रतिनिधिले मात्र क्रिकेटको विपक्षमा मतदान गरेका थिए । यसबाहेक आइसिसीको कार्यकारी कमिटीका सबै सदस्यले क्रिकेटकै पक्षमा मतदान गरेका थिए । आइओसीले क्रिकेटसहित पाँच खेललाई २०२८ को ओलम्पिकमा समावेश गराउने निर्णय गरेको छ । 

क्रिकेटसँगै बेसबल एन्ड सफ्टबल र लाक्रोसले ओलम्पिकमा पुनरागमन गरेको छ । फ्ल्याग फुटबल र स्क्वास लस एन्जलस ओलम्पिकबाटै डेब्यु खेलका रूपमा रहनेछ । सन् १९०० को पेरिस ओलम्पिकमा अन्तिमपटक क्रिकेट खेल भएको थियो । सन् २०२० को टोकियो ओलम्पिकमा बेसबल र सफ्टबल खेल समावेश थियो । सन् १९०२ र १९०८ को ओलम्पिकमा लाक्रोस समावेश थियो । आइओसीका अध्यक्ष थोमस बाचले पाँच नयाँ खेल अमेरिकन खेल संस्कृतिसँग जोडिएको र यसले अमेरिकन स्पोर्टस्लाई विश्वमा देखाउने जनाए ।

‘आगामी ओलम्पिकमा समावेश भएका पाँच खेलले एन्जलसलाई विशेष बनाउने विश्वास लिएको छु,’ बाकले भने, ‘हाम्रो १४१औँ बैठकले औपचारिक रूपमा क्रिकेटसँगै अन्य चार खेललाई ओलम्पिकमा समावेश गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।’

 टी–२० फर्म्याटमा खेल हुने
ओलम्पिकमा टी–२० फर्म्याटमा खेल हुनेछ । ओलम्पिकका लागि २०२५ मा छनोट प्रक्रिया सुरु हुनेछ । सन् २०२८ को ओलम्पिकमा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ । आइओसीका अध्यक्ष वाचले लस एन्जलस ओलम्पिकमा समर्थकहरूले फरक अनुभव गर्ने बताएका छन् । ‘अमेरिकामा आयोजना हुने ओलम्पिकमा समर्थक र दर्शकले फरक किसिमको अनुभव गर्नेछन्,’ उनले भने, ‘यसले अमेरिकन खेलकुदलाई एक नयाँ उचाइमा पुर्‍याउनेछ ।’ 

सन् २००७ र २०१२ को ओलम्पिकमा स्वर्णविजेता इटालियन खेलाडी निकोलो क्याप्रियनले पाँच नयाँ खेलले ओलम्पिकलाई आकर्षक बनाउने बताए । ‘विश्वकै चर्चित खेल ओलम्पिकमा समावेश हुँदा हामीलाई खुसी लागेको छ, पक्कै पनि यसले नयाँ सन्देश विश्व खेलकुदलाई दिनेछ,’ उनले भने । अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आइसिसी टी–२० पुरुष क्रिकेट विश्वकप आयोजना गर्दै छन् ।