१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o६:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रसंघीय महासचिव गुटेरेस दसैँपछि आउँदै

नेपालको संक्रमणकालीन न्यायका विषयमा उनको भ्रमणमा छलफल गर्ने सरकारी तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:२३:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतसँग भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ । महासचिव गुटेरेसलाई सरकार प्रमुखलाई दिइने स्तरको सुरक्षा र कूटनीतिक मर्यादा प्रदान हुनेछ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण दसैँपछिका लागि तय भएको छ । उनी १२ वा १३ कात्तिकमा नेपाल आउने कार्यतालिकामा परराष्ट्र मन्त्रालयले भ्रमणको गृहकार्य गरिरहेको छ । ‘महासचिवको भ्रमणका लागि हामी गृहकार्य गरिरहेका छौँ ।

दुईपक्षीय सहमतिमा हामी मिति सार्वजनिक गर्नेछौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नयाँ पत्रिकासँग भनिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ ।  

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसलाई न्युयोर्कमा भेटेर नेपाल भ्रमणका लागि अनुरोध गरेका थिए । नेपाल भ्रमणलाई महासचिवले प्राथमिकतामा राखेका छन् । नेपालको संक्रमणकालीन न्यायका विषयमा उनको भ्रमणमा छलफल गर्ने सरकारी तयारी छ । 

महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतसँग भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ । महासचिव गुटेरेसलाई सरकार प्रमुखलाई दिइने स्तरको सुरक्षा र कूटनीतिक मर्यादा प्रदान हुनेछ ।

महासचिव गुटेरेसको चासो नेपालमा जलवायु परिवर्तनको असरका विषयमा छ । नेपाल भ्रमणका क्रममा उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको अध्ययन गर्ने र नोभेम्बरमा युएईमा आयोजना हुने जलवायुसम्बन्धी उच्चस्तरीय सम्मेलनमा विश्वलाई चासो व्यक्त गर्ने गरी उनको कार्यालयले तयारी गरिरहेको छ । 

महासचिवको भ्रमण यही साताका लागि तय भएको थियो । तर, इजरायलमा  हमासले गरेको २० असोजको आक्रमणपछि उत्पन्न परिस्थितिले उनको भ्रमण पछि सरेको थियो । महासचिव नेपालबाटै बिआरआईसम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन सोमबार चीन जाने कार्यक्रम थियो । 

उपप्रधानमन्त्री श्रेष्ठ आज चीन जाँदै
चीनले आयोजना गर्न लागेको ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै छन् । यसका लागि उनी सोमबार चीनको राजधानी बेइजिङ जाँदै छन् ।बिआरआईसम्बन्धी कार्यक्रम कात्तिक १ र २ मा हुँदै छ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दै छन् । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार चिनियाँ राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनेछन् ।

चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेका हुन् । श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, स्वकीय सचिवद्वय सुरेशकाजी श्रेष्ठ र सुमन आचार्य रहनेछन् । 

नेपाललाई लामो समयदेखि निमन्त्रणा आए पनि कुन तहको सहभागिता हुने भन्ने तय भइसकेको थिएन । १ कात्तिकमा कार्यक्रमको उद्घाटन सत्र हुँदै छ । उपप्रधानमन्त्री श्रेष्ठ सोही दिन आयोजित ग्रिन डेभलपमेन्ट हाई लेभल फोरम अफ बिआरआई समिट कार्यक्रमका मुख्य वक्ताका रूपमा सहभागी हुनेछन् । 

उपप्रधानमन्त्री श्रेष्ठले २ कात्तिकमा  चीनको आपतकालीन व्यवस्थापन मामिलामन्त्री वाङ सियाङचीसँग भेटवार्ता गर्नेछन् । दुई देशबीच विपत् व्यवस्थापनमा गर्न सकिने सहकार्यका विषयमा छलफल हुनेछ । यसैगरी, उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियाङचाउसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । सबै भेटवार्ताहरू प्रधानमन्त्री प्रचण्डको पछिल्लो चीन भ्रमणमा भएका सहमति कार्यान्वयनमा केन्द्रित हुने कूटनीतिक स्रोतहरूको भनाइ छ । 

चिनियाँ राष्ट्रपतिले बिआरआई अवधारणा अघि सारेको एक–दशकका अवसरमा कार्यक्रम हुन लागेको हो । चिनियाँ विदेश मन्त्रालयका अनुसार हालसम्म विश्वका १५० मुलुक र ३० वटा अन्तर्राष्ट्रिय संस्थाहरूले बिआरआईमा हस्ताक्षर गरिसकेका छन् । नेपालले सन् २०१७ मेमा बिआरआईको फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालैको चीन भ्रमणमा नेपाल र चीनबीच चाँडै नै बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षरका लागि छलफल तीव्र बनाउने सहमति भएको छ । 

ad
ad