जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एकजना नक्कली डाक्टरसहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नक्कली डाक्टर महाकाली नगरपालिका– ४ का ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका– १८ का ४६ वर्षीय पुष्कर गुनियाललाई पक्राउ गरिएको हो ।
उनीहरूको कागजपत्र हेर्दा शंका लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौं पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवैजनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवैजनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका– ४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।