१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 31 October, 2024
२o८१ जेठ ३ बिहीबार ११:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा यार्सा संकलकको दुर्घटना बिमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:२१:oo

यार्सा टिप्न विभिन्न पाटनमा जाने संकलकहरूको सुरक्षाका लागि दुर्घटना बिमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाले संकलकहरूको दुर्घटना बिमा गरेको हो ।

यर्सा टिप्न पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आर्थिक  वर्ष ०७६/७७ देखि दुर्घटना बिमा शीर्षकमा बजेट छुट्याउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले जानकारी दिए ।

उनका अनुसार यो बिमा प्राप्त गर्न वैधानिक तरिकाले पालिकाको प्रवेश शुल्क तिरेको हुनुपर्नेछ । वनमा प्रवेश शुल्क लिँदा गाउँपालिकाले संकलकको आवश्यक व्यक्तिगत विवरणसमेत लिने गरेको छ । पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्य टोली र हेरालु वन सुरक्षा युवादस्तालाई पनि यस बिमा कार्यक्रममा समेटिएको रावलले बताए । पालिकाले बिमाका लागि चालू आवमा रु. पाँच लाख बजेट विनियोजन गरेको उनको भनाइ छ । 

गत वर्ष बिमा कार्यक्रमबाट दुईजनाको परिवार लाभान्वित भएका थिए । बिमाबापत पीडित परिवारले न्यूनतम रु. ५० हजार र अधिकतम रु. एक लाख ५० हजारसम्म रकम पाउनेछन् ।

पालिकाको सीमित बजेटले थोरै भए पनि पीडामा पर्ने व्यक्ति र परिवारलाई राहत पुगोस् भनेर यो प्रयास सुरु गरिएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । यस कार्यमा संघीय र प्रदेश सरकारले पनि लगानी गर्नुपर्ने उनको भनाइ छ ।

यार्सा टिप्न जाने हजारौँ संकलकको जीवन र आश्रित परिवारको भरणपोषणका लागि राज्यको दायित्व निर्वाह गर्नुपर्छ,’ अध्यक्ष लामाले भने, ‘कर्णाली प्रदेश सरकारले कर्णालीवासीको दुर्घटना बिमा कार्यक्रम लागू गरेको धेरै भए पनि यार्सा संकलक भने यसबाट लाभान्वित हुन नसकेको उनले बताए । बिमा प्राप्तिका जटिल प्रक्रिया हुँदा गरिब तथा विपन्न परिवार यस कार्यक्रममा सहभागी हुन नसकेका अध्यक्ष लामाको भनाइ छ ।

आगामी दिनमा यार्सा संकलकको अनिवार्य बिमा गर्ने नीति सरकारले नै लिनुपर्नेमा उनले जोड दिए। मुगुका दुई दर्जनभन्दा बढी पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि यही जेठ १५ गतेदेखि वन प्रवेश खुल्ला गरिनेछ ।

बर्सेनि पाटनमा सयौँ यार्सा संकलक बिरामी तथा घाइते हुने गर्छन् । गत वर्ष यार्सागुम्बा संकलकको क्रममा जुम्ला पातारासीका तीनजनाले ज्यान गुमाएका थिए । यस वर्ष पनि गत साता जुम्ला पातारासी गाउँपालिका– ३ का एकजना युवकको यार्सागुम्बा टिप्न पाटन उक्लिने क्रममा लेक लागेर मृत्यु भएको थियो ।

हरेक वर्ष पाटन क्षेत्रमा लेक लागेर होस् या हिमपहिरोमा पुरिएर वा अन्य विभिन्न कारणले यर्सा संकलकले ज्यान गुमाउँदै आएका छन् । पालिकाको बिमा योजनाले पीडित र आश्रित परिवारलाई ठूलो राहत पुग्ने र समयानुसार बिमा रकम समायोजन हुनुपर्ने स्थानीयको भनाइ छ ।