पाथीभरा केबलकार निर्माणविरुद्ध संघर्ष गर्दै आएको समूहले आह्वान गरेको बन्दका कारण ताप्लेजुङको यातायात ठप्प भएको छ। संघर्षरत रहेको समूहले बुधबार र बिहीबार दुईदिने यातायात बन्दको आह्वान गरेको हो।
बन्दका करयाण मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङमा यातायात ठप्प भएको हो। सो समूहले आह्वान गरेको दुईदिने बन्दका कारण बुधबार बिहानैदेखि बेलुकासम्म नै यातायात सेवा ठप्प रह्याे।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको तथा आफ्नो मागविपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरिएको भन्दै संघर्षरत समूहले मंगलबार नै विज्ञप्ति जारी गर्दै मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हो।
बन्दका कारण मेची राजमार्ग र तमोर करिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधन ठप्प भएका छन्। यस्तै, ताप्लेजुङभित्र सञ्चालन हुने स्थानीय यातायात सेवा पनि ठप्प भएको छ।
यातायात सेवा ठप्प हुँदा मेची राजमार्ग हुँदै तथा तमोर करिडोर हुँदै ताप्लेजुङदेखि पाँचथर, धनकुटा चौबिसे, भेडेटार हुँदै धरान, इटहरीका लागि यात्रा गर्ने तथा ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा जाने करिब एक सय जिप तथा बसहरू रोकिएका कारण यात्रुहरू अलपत्र परेका छन्।
स्थानीय जनताको माग र भावनाविपरीत केबलकार निर्माण गर्ने कार्यअन्तर्गत परियोजना स्थलमा रुख कटान गर्न सुरु गरिएपछि संघर्षरत समूह थप आन्दोलित बनेको तथा केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेको मुक्कुमलुङ संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायत विभिन्न ६ वटा समूहले संयुक्त विज्ञप्ति प्रकाशित गरी यातायात बन्दको आह्वान गरेका हुन्।
पवित्र आस्थाको केन्द्र तथा ऐतिहासिक पवित्र धार्मिक स्थलमा बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराँससहितका लोपोन्मुख वनस्पतिहरू डकैत शैलीमा कटान गर्न थालिएकाले आफूहरू आन्दोलनमा उत्रनुपरेको संघर्षरत पक्षले उल्लेख गरेका छन्।
ऐतिहासिक स्थलको वन उजाड बनाउने गरी रुख कटान गर्ने व्यक्तिहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र केबलकार योजना रद्द गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।