१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चन्दननाथ र भैरवनाथमा नयाँ  लिंगाे ठड्याएर जुम्लामा घटस्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:५७:oo

जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथको मन्दिरमा नयाँ लिंगो खडा गरिएको छ। हरेक वर्ष घटस्थापनाका दिन नयाँ लिंगो फेर्ने चलनअनुसार आइतबार चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगो फेरिएको हो।

असोज २५ गते चन्दननाथ– ३ ढाँड थपालाको जंगलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र भक्तजनहरूले संयुक्त रूपमा लिंगो ल्याएका थिए। आइतबार पुराना लिंगो प्रतिस्थापन गरेर नयाँ लिंगो खडा गरिएको चन्दननाथ र भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ।

चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा राखिन्छ भने भैरवनाथ मन्दिरमा ४८ हाते लिंगाे र ४८ हातकै ध्वजा राखिन्छ। दुवै मन्दिरमा करिब ४२ हाते सहायक लिंगाे पनि खडा गरिएको चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिका अमर थापाले  बताए।

‘चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो फेरिसकेपछि मात्र जुम्लाका घरघरमा घटस्थापना गर्ने चलन छ,’ उनले भने, ‘मन्दिरकै माटो लिएर जमरा राख्ने चलन छ। मन्दिरमा जय स्तम्भसहित पाँचवटा लिंगो खडा गरिएको छ।’

चन्दननाथ–भैरवनाथ मन्दिरमा नयाँ लिंगाे फेरिएसँगै जुम्लामा विधिवत् रूपमा दसैँ सुरु भएको मानिन्छ। पछिल्लो समय भक्तजनहरूको संख्या घटे पनि युवाहरूको पहलमा लिंगाे ल्याउने काम भएको अध्यक्ष थापाले बताए।

घटस्थापनाकै दिन उत्पादन वृद्धि होस्, भोकमरी नहोस् भन्ने कामनासहित चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सी धानको सिक चढाउने परम्परासमेत रहेको संस्कृतिका जानकार रमानन्द आचार्यले बताए।

‘बाबा चन्दननाथले आफ्नै बलबुतामा मार्सी धानको बिउ पत्ता लगाएर विस्तारका लागि आफ्ना बलशाली शिष्य लछालकृति पैकेलोलाई खटाएका थिए,’ आचार्यले भने, ‘मार्सी धानको प्रयोग सफल भएपछि बाबा चन्दननाथको सम्मानस्वरूप लिंगाे खडा गर्ने रित बसालिएको हो।’

उनका अनुसार लछालकृति पैकेलाले तातोपानी– २ मा पर्ने गुरु फोक्टो नामक खेतमा पहिलोपटक मार्सी खेती सुरु गरेका थिए। त्यो सफल भएपछि यसको जस चन्दननाथ बाबालाई गयो। जसका कारण जुम्ली किसानले आफूले खानुभन्दा पहिले मार्सी चामलको सिक चन्दननाथ मन्दिरमा चढाउने परम्परा बसेको मानिन्छ।

मन्दिरमा सिक दिने परम्पराले बिउ जोगाउने काम गरेको इतिहास र संस्कृतिका जानकार सिंजा कनकासुन्दरीका तुंगनाथ उपाध्यायले बताए। ‘सिक भनेर ल्याएको धान असल हुन्थ्यो। एक ठाउँको बिउ अर्को ठाउँमा साटफेर हुन्थ्यो,’ उनले भने, ‘नयाँ माटोमा नयाँ बिउ परेपछि उत्पादन घट्दैन थियो। पछिल्लो समय सिक दिने चलन घटेपछि ठाउँठाउँमा धान बाली बिग्रँदै गएको छ।’

ad
ad