Skip This
आइसिसी एकदिवसीय विश्वकप : पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रा कायमै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Saturday, 27 July, 2024
अहमदाबाद
२o८o असोज २८ आइतबार o६:o३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी एकदिवसीय विश्वकप : पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रा कायमै

Read Time : > 2 मिनेट
अहमदाबाद
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार o६:o३:oo

अहमदाबादमा पाकिस्तानलाई सात विकेटले हराउँदै भारतले अपराजित यात्रा आठौँ खेलसम्म पुर्‍यायो

आइसिसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानविरुद्धको अपराजित यात्रा आठौँ खेलसम्म पुर्‍याएको छ । शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी मैदानमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको सानदार जित निकालेको हो । प्रतिस्पर्धात्मक हुने अनुमान गरिए पनि पाकिस्तान घरेलु टोली भारतविरुद्ध निरीह भयो । पाकिस्तान भारतविरुद्ध बलिङ, ब्याटिङ र फिल्डिङमा चुक्यो । कुनै पनि समय पाकिस्तानले भारतलाई दबाबमा राख्न सकेन । 

भारतले एक सय ९२ रनको विजयी लक्ष्य तीन विकेट गुमाएर ३०.३ ओभरमा पूरा गरेको थियो । कप्तान रोहित शर्मा र श्रेयस अयरले अर्धशतकीय इनिङ्स खेले । उनले तेस्रो विकेटका लागि श्रेयस अयरसँग ७७ रनको बलियो साझेदारी गरेका थिए । पाकिस्तानका तर्फबाट कप्तान बाबर आजमले अर्धशतक बनाए पनि अन्य ब्याटर ठूलो रन बनाउन चुकेका थिए । मोहम्मद रिजावले ४९ रन बनाएर आउट भए । भारतका पाँच बलरले समान दुई विकेट लिए । जितपछि भारतका कप्तान रोहितले बलिङ राम्रो भएको बताए । ‘हाम्रो बलिङ निकै राम्रो भयो । यो पिचमा २८०–२९० बन्ने गर्छ । तर, बलरले १९० मै पाकिस्तानलाई रोक्नु धेरै राम्रो हो,’ रोहितले भने, ‘हामीले ६ अंक जोडेका छौँ । प्रत्येक खेल जित्दै जानुपर्छ,’ उनले भने ।

भारत प्रतियोगितामा अपराजित छ । तीन खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लन सफल भयो । समान ६ अंक भए पनि भारतले न्युजिल्यान्डलाई नेट रनरेटमा पछि पारेको हो । पहिलो हार बेहोरेको पाकिस्तान चार अंकसहित चौथो स्थानमा छ । यसअघि भारतले अस्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानविरुद्ध आठ विकेटको जित निकालेको थियो । पाकिस्तानले नेदरल्यान्ड्सलाई पहिलो खेलमा ८१ रनले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्‍यो ।

पाकिस्तानका कप्तान बाबरले सुरुवात उत्कृष्ट भए पनि योजनाअनुसार खेल्न नसकेको प्रतिक्रिया दिए । ‘हामीले सुरुवात राम्रो गर्‍यौँ । साझेदारी पनि सफल भएको थियो । सामान्य क्रिकेट खेल्दै अगाडि बढ्ने योजना थियो । मध्यक्रम नचल्दा सफल भएनौँ,’ बाबरले भने । अहमदाबादको पिचमा दुई सय ९० को लक्ष्य राखे पनि सफल नभएको बाबरले बताए । 

चलेन साहिनको स्विङ
तीव्र गतिका बलर साहिन शाह अफ्रिदीले २.५ ओभरमै शुभमन गिलको विकेट लिँदै पाकिस्तानको आशा बढाएका थिए । अफ्रिदीले गिललाई सादव खानबाट क्याच गराएका हुन् । तर, रोहितले विस्फोटक ब्याटिङ गरेपछि पाकिस्तानी बलरको केही चलेन । विराट कोहली ९.५ ओभरमा हसन अलीको बलमा मोहम्मद नवाजबाट क्याच भए । २१.४ ओभरमा रोहितलाई साहिन साह अफ्रिदीले अहमेद अफ्तिखरबाट क्याच गराएका थिए । साहिनले दुई विकेट लिए पनि अन्य बलरले सानदार प्रदर्शन गर्न सकेनन् । साहिनको पनि सोचेजस्तो बलिङ रहन सकेन । 

पाकिस्तानको मध्यक्रम चलेन
टस हारेर ब्याटिङमा आएको पाकिस्तानले सुरुआत उत्कृष्ट गर्‍यो । तर, मध्यक्रममा ब्याटर चल्न नसक्दा पाकिस्तान ठूलो स्कोर बनाउन चुकेको थियो । बाबरले मात्रै अर्धशतक बनाए । रिजवान ४९ रनमा आउट भएका थिए । बाबर आउट हुँदा तेस्रो विकेट गुमाएको पाकिस्तानको खातामा एक सय ५५ रन थियो । तर, उनी आउट भएपछि कुनै पनि खेलाडी क्रिजमा लामो समय टिक्न सकेनन् । बाँकी ३६ रन बनाउने क्रममा पाकिस्तानको आठ विकेट गएको थियो । पाकिस्तान ४२.५ ओभरमा अलआउट हुँदा मात्र एक सय ९१ रन बनायो ।

पाकिस्तानी इनिङ्समा कुनै पनि खेलाडीले छक्का प्रहार गर्न सकेनन् । बाबरले ५८ बलमा सात चौकासहित ५० रन बनाए । उनलाई मोहम्मद सिराजले बोल्ड गरेका हुन् । ६९ बलमा सात चौकासहित ४९ रन बनाएका रिजवान बुमराहको बलमा बोल्ड भए । यसअघि ओपनर अब्दुल्लाह साफिकले २० र इमाम उल हकले ३६ रन बनाएका थिए ।

तेस्रो विकेटका लागि रिजवान र बाबरले ८२ रनको बलियो साझेदारी गरे । पहिलो विकेट गुमाउँदा पाकिस्तानले ४१ रन बनाएको थियो । हसन अलीले १२ रन बनाउनेबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

भारतका पाँच बलरले दुई विकेट लिए
पाकिस्तानविरुद्ध भारतले ६ बलर प्रयोग गरेको थियो । जसमा पाँच बलरले समान दुई विकेट लिन सफल भएका थिए । प्लेयर अफ दी म्याच जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रवीन्द्र जडेजाले समान दुई विकेट लिए । दुई ओभर बलिङ गरेका सार्दुर ठाकुरले विकेट लिन सकेनन् ।

कप्तान रोहित र श्रेयसको सानदार ब्याटिङ
एक सय ९२ रनको लक्ष्य पछ्याएको भारतले सानदार जित निकाल्न सफल भयो । कप्तान रोहित र श्रेयसले अर्धशतकीय इनिङ्स खेलेका थिए । रोहितले पहिलो बलमै चौका प्रहार गर्दै सानदार सुरुवात गरेका थिए । रोहितले ६३ बलमा समान ६ छक्का र चौका प्रहार गर्दै ८६ रन बनाएका हुन् । शुभमन गिल र विराट कोहली समान १६ रन बनाएर आउट हुँदा रोहितले बलियो साझेदारी गर्न पाएनन् ।

चाैंथो नम्बर क्रिजमा आएका श्रेयसले रोहितसँग मिलेर ७७ रनको साझेदारी गरेपछि भारत सहज जिततर्फ लम्किएको थियो । श्रेयसले ६२ बलमा तीन चौका र दुई छक्कासहित अविजित ५३ रन बनाएका थिए । लोकेशकुमार राहुलले १९ रनको योगदान गरे । 

कोहली र रोहितले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । श्रेयस र राहुलले अविजित ३६ रनको साझेदारी गरे । यसअघि नवौँ ओभरमा विराट रनआउट हुनबाट बचेका थिए । तर, १०औँ ओभरमा क्याचआउट भए । नवौँ ओभरमा रोहित र विराटबीच तालमेल भएन । जसको सिकार हुनबाट रोहित बचेका थिए । साहिन अफ्रिदीको थ्रो स्टम्पमा लागेन । जसको कारण विराटले जीवनदान पाएका थिए ।