
इजरायलको मध्य र दक्षिण क्षेत्रमा शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा १० नेपालीको ज्यान गएको छ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आइतबार राति इजरायलको राजधानी तेलअभिभबाट नयाँ पत्रिकासँग टेलिफोनमा भनिन्, ‘१० जना नेपालीहरूको दुःखद निधन भएको छ। शव लैजान र बाँकी रहेका नेपालीहरूको उद्धारका लागि छलफल भइरहेको छ।’
मृत्यु हुनेमा घोडाघोडी– ४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी– ६ बझाङका गणेशकुमार नेपाली, बौनियाँ– ३ कैलालीका आशिष चौधरी, लेकम– ५ दार्चुलाका दीपेशराज बिष्ट, पचनाली– ३ डोटीका राजन फुलारा छन्।
यस्तै, लामिखाल– ८ डोटीका पदम थापा, शारदा– ३ सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन– ४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही– ६ धनुषाका आनन्द साह र मधुवन– १ सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको राजदूत रिजालले पुष्टि गरिन्। उनीहरू शनिबार बिहानदेखि हराइरहेका थिए।
इजरायलका लागि नेपाली राजदूतावासले निधन भएका, घाइते भएका र बेपत्ता भएका नेपाली विद्यार्थीहरूको सूची आइतबार परराष्ट्र मन्त्रालयलाई पठाएको छ।
त्रिवेणी - १ सल्यानका प्रमोद केसी र भजनी त्रिशक्ति ४ कैलालीका वीरेन्द्र चौधरीलाई उद्धार गरेर राजधानी तेलअभिभतर्फ पठाइएको सोही समूहका विद्यार्थी नरेशसिंह भण्डारीले जानकारी दिए। उनका अनुसार भीमदत्त - ३ कञ्चनपुरका बिपिन जोशी अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
चारजना भने अस्पतालमा उपचाररत छन्। शारदा–२ सल्यानका विधान सेजवाल, डाँगीशरण -३ दाङका रविन डाँगी, टीकापुर ९ कैलालीका धनबहादुर चौधरी र गोर्खा ८ गोर्खाका हिमाञ्चल कट्टेल अस्पतालमा उपचाररत छन्। उनीहरू चारैजनालाई सोमबार उद्धार गरेर राजधानी तेलअभिभ ल्याउने तयारी भइरहेको छ ।
मृतक १० जना विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयबाट बिएससी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो।