१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २१ आइतबार
  • Friday, 09 May, 2025
२o८o असोज २१ आइतबार o६:२८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इजरायलमा हमासको हमला : नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज २१ आइतबार o६:२८:oo

सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका विद्यार्थी घाइते

इजरायलमा रहेका एक नेपाली विद्यार्थीले टेलिफोनमा नयाँ पत्रिकासँग भने– बंकरबाहिर रहेका वेला ग्रिनेड लागेका दुई साथी गम्भीर छन्
किबुजको कृषि फार्ममा १७ जना साथी छन् । गाजापट्टीबाट शनिबार बिहानै आएर आतंककारीले हमला गरेका थिए । सबै साथीहरू बंकरमा बस्नुपर्नेमा दुईजना बाहिर रहेका वेला ग्रिनेडले लागेछ । उनीहरू घाइते भए । बाँकी सबै साथीलाई बंकरभित्रै ग्रिनेडको छर्रा लागेको छ ।

परराष्ट्र मन्त्रालयले भन्यो– नौजना नेपाली घाइते र दुईको अवस्था गम्भीर रहेको जानकारी छ
१४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको जानकारी पाएका छौँ । नौजना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको जानकारी छ । थप विवरण आउन बाँकी छ ।

इजरायलको मध्य र दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले गरेको रकेट हमलामा नेपाली पनि घाइते भएका छन् । शनिबार साँझ इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार हमासको हमलामा नौजना नेपाली घाइते भएका छन्, जसमध्ये दुई गम्भीर छन् । 

घाइते नेपाली सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका विद्यार्थी हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो । 

इजरायलको अर्को सहरमा रहेका त्यही समूहका एक विद्यार्थीले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘किबुजको कृषि फार्ममा १७ जना साथी छन् । गाजापट्टीबाट शनिबार बिहानै आएर आतंककारीले हमला गरेका थिए । सबै साथीहरू बंकरमा बस्नुपर्नेमा दुईजना बाहिर रहेका वेला ग्रिनेडले लागेछ । उनीहरू घाइते भए । बाँकी सबै साथीलाई बंकरभित्रै ग्रिनेडको छर्रा लागेको छ ।’ उनले सबै घाइते भएको जानकारी दिए पनि परराष्ट्रले भने नौजना मात्रै घाइते भएको विज्ञप्तिमा जनाएको छ ।

ती विद्यार्थीले शनिबार राति दिएको सूचनाअनुसार घाइतेमध्ये पाँच नेपाली विद्यार्थीलाई उपचारका लागि अस्पताल लगिएको छ । बाँकीको अवस्थाबारे उनले अनभिज्ञता जनाए । १४ नेपाली काम गरिरहेकोे एउटा कृषि फार्ममा शनिबार बिहान ग्रिनेड प्रहार भएको थियो । ती विद्यार्थीले नाम नछाप्न आग्रह गर्दै दिएको सूचनाअनुसार दाङ, सल्यान, गोरखा, कैलाली, कञ्चनपुर, दार्चुलाका विद्यार्थी घाइते भएका छन् । उनीहरू सबै नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार कृषि कार्यका लागि त्यहाँ गएका हुन् । १४ नेपालीमध्ये पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका रहेको जानकारी नेपाली राजदूतावासले परराष्ट्रलाई दिएको छ । परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको जानकारी पाएका छौँ । नौजना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको जानकारी छ । थप विवरण आउन बाँकी छ । ’

गैरआवासीय नेपाली संघका अनुसार इजरालयलमा करिब पाँच हजार नेपाली छन् । परराष्ट्र स्रोतका अनुसार किबुज भन्ने ठाउँको कृषि फार्ममा पनि नेपालीहरू छन्, जसलाई हमासले कब्जामा लिएको छ । घाइते भएका र अन्य नेपाली बंकरमा लुकेका छन् । परराष्ट्रका अनुसार इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरू आक्रमण प्रभावित क्षेत्रमा बसोवास गर्ने नेपालीसँग निकट सम्पर्कमा छन् । घाइते भएका नेपालीको उपचार तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धारका लागि पनि दूतावासले इजरायलका अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको छ । 

घटनाबारे शनिबार साँझ परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयमा सम्बद्ध अधिकारीहरूको बैठक राखेर जानकारी लिएका छन् । परराष्ट्र मन्त्रालयले नेपालका लागि इजरायली राजदूत हनान गोदरसँग पनि त्यहाँ रहेका नेपालीका विषयमा चासो व्यक्त गरेको एक उच्च अधिकारीले जानकारी दिए । ‘हमासको कब्जामा नेपाली मात्र होइनन् । इजरायली सबै रहेको पूरै क्षेत्र नै हमासको कब्जामा छ । नेपालीलाई परिस्थिति सहज नहुन्जेल बंकरमा सुरक्षित भएर बस्न भनेका छौँ,’ परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । 

सरकारले परिस्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकलाई सतर्क रहन र सरकार तथा सम्बद्ध अधिकारीले निर्देशन दिएअनुसार सुरक्षा उपाय पालना गर्न अनुरोध गरेको छ ।

आक्रमणको निन्दा, इजरायलप्रति सहानुभूति 
नेपाल सरकारले इजरायलमाथिको आतंककारी हमला भन्दै हमास हमलाको निन्दा गरेको छ । ‘यस संकटको घडीमा इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौँ, नेपाल सरकार इजरायल सरकारका साथै यस क्रूर हमलाका पीडितहरू र उनीहरूका परिवारहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछ । उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शनिबार बिहानै प्यालेस्टाइनको हमास समूहले इजरायल नियन्त्रित गाजापट्टीमा आक्रमण गरेको थियो भने शनिबार दिनभरि जवाफी आक्रमण भएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।