१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शान्ता कमली काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मनाङमा पर्यटकको चहलपहल बढ्दै

Read Time : > 1 मिनेट
शान्ता कमली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२६:oo

थोराङ्ला पास, लार्के पास, काला पास, ४,९१९ मिटरमा रहेको तिलिचो ताल अवलोकनका लागि पर्यटकहरू निकै उत्साहित हुने गर्छन् 

सिजन सुरु भएसँगै हिमाली जिल्ला मनाङमा पर्यटक बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ । एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले दैनिक रूपमा ८० भन्दा बढी पर्यटक मनाङ आइरहेको बताए । ‘सिजन सुरु भएकाले यहाँ आउने पर्यटक बढ्दै गएका छन् । यहाँका होटेल भरिभराउ हुने गर्छन्,’ उनले भने । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अत्यधिक पर्यटक आउने गर्छन् ।

लमजुङको सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वार मानिन्छ । त्यहाँबाट पर्यटक खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामेबाट थोराङ्ला पास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानी भएर पोखरा निस्कने गर्छन् । पदयात्राका सौखिन पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ पार गर्न निकै उत्साहित हुने गर्छन् । अन्नपूर्ण पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । 

थोराङ्ला पास, लार्के पास, कालापास, ४,९१९ मिटरको तिलिचो ताल अवलोकनका लागि पर्यटकहरू निकै उत्साहित हुने गर्छन् । त्यस्तै, चामे, तिमाङ, दानाक्यु, बगरछाप, धारापानी, ढिकुरपोखरी, पिसाङ, हुम्डे, भ्राका, मनाङ, खाङसार, थोराङ फेदी, नार, फुलगायतका स्थान पनि पर्यटकको रोजाइमा पर्छन् । 

मनाङ ङिस्याङ गाउँपालिका पिसाङका याङडुङ गुरुङले पछिल्ला वर्षमा मनाङमा स्वदेशी पर्यटकको संख्या बढ्दै गएको बताए । ‘पहिले विदेशी धेरै हुन्थे, अहिले नेपाली पर्यटक धेरै आउँछन्, मनाङ स्वदेशी तथा विदेशीको पर्यटकीय गन्तव्य बनेको छ,’ उनले भने । विदेशीको रुचि पदयात्रामा देखिने गरेको छ भने स्वदेशीहरू सवारीसाधनमार्फत मनाङका रमणीय गन्तव्य घुम्न रुचाउँछन् । 

यो सिजनमा मनाङका खर्क अनि घाँसे मैदानहरू हरियो हुने र त्यहाँ लगाइएको फापर र उवा फुलेको मनोरम दृश्यले पनि पदमार्गमा आउने विदेशी पर्यटकलाई आकर्षित गर्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङले जनाएको छ । 

ad
ad