१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
चीनको बैहेतन जलविद्युत आयोजना । तस्बिर : रोयटर्स
रासस बैङ्कक
२o८१ बैशाख २० बिहीबार १३:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

खडेरीले जलविद्युतमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट

Read Time : > 1 मिनेट
रासस, बैङ्कक
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:२२:oo

खडेरीले सन् २०२३ को पहिलो ६ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ। विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको दाबी गरेको छ।

नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलविद्युत् उत्पादनको गिरावटले विद्युतीय संक्रमणको गतिलाई नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ।

यस वर्षको जुनसम्ममा विश्वव्यापी जलविद्युत् उत्पादन ८.५ प्रतिशतले गिरावट भएको बताइएको छ। यो पछिल्लो दुई दशकमा कुनै पनि पूर्ण वर्षमा भएको गिरावटभन्दा बढी हो। उक्त गिरावटको तीनचौथाई चीनमा भएको गिरावटको परिणाम हो।

बेइजिङको आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार सन् २०२२ को शरद र सन् २०२३ को गर्मीयामको बीचमा चीनमा सामान्य वर्षको तुलनामा उल्लेखनीय रूपमा कम पानी परेको थियो भने तापक्रम पनि उच्च भएको थियो।

विश्वव्यापी रूपमा सौर्यऊर्जा र वायुशक्ति १२ प्रतिशतले बढेको भए पनि जलविद्युत् उत्पादनमा भएको कमीले सन् २०२३ को पहिलो ६ महिनामा कार्बन उत्सर्जन थोरैले वृद्धि भएको छ। विद्युतकाे मागमा न्यून वृद्धिले अन्यथा हुन सक्ने अवस्थाभन्दा कार्बन उत्सर्जनमा हुने वृद्धिलाई कम राख्न सहयोग गरेको एम्बरले बिहीबार जारी गरेको प्रतिवेदनमा भनिएको छ।

तर, चीनमा जलविद्युतकाे उत्पादनमा आएको कमीका कारण कार्बन उत्सर्जन झन्डै आठ प्रतिशतले बढेको छ। एम्बरले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी र खडेरीको अवस्थाले यो वर्षको जलविद्युत् उत्पादनमा कमी आएको हुन सक्ने बताएको छ। उसले भविष्यका प्रभावहरूको गणना गर्न कठिन हुने चेतावनीसमेत दिएको छ।

एम्बरले जलविद्युत् उत्पादनको सम्भावनामा जलवायु परिवर्तनको परिणामहरू भौगोलिक आधारमा भिन्न रहेको उल्लेख गरेको छ। ‘वर्षाको ढाँचा र तीव्रतामा आएको परिवर्तनका साथै वाष्पीकरणमा भएको वृद्धिले क्षेत्रगत आधारमा जलविद्युत् उत्पादनमा सकारात्मक र नकारात्मक दुवै रूपमा असर गर्नेछ,’ प्रतिवेदनमा भनिएको छ।

मध्यअफ्रिका, भारत, मध्यएसिया र उत्तरी उच्च अक्षांश भएका केही क्षेत्रमा जलविद्युत् उत्पादन क्षमतामा वृद्धि देखिन सक्छ। तर, दक्षिणी युरोप, दक्षिणी अमेरिकी र अन्य स्थानमा जलविद्युत् उत्पादन कमजोर हुने सम्भावना छ। 

यस वर्षको राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (कोप)को बैठकमा कोपका प्रमुखले सन् २०३०  सम्ममा नवीकरणीय ऊर्जा विश्वव्यापी रूपमा तीन गुणाले बढाउन आह्वान गरेका थिए। साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत महिना सन् २०३० सम्ममा जीवाश्म इन्धनको माग उच्च हुने प्रक्षेपण गरेको थियो।

तर, गत वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा वायुशक्ति र सौयऊर्जाको उत्पादन अत्यन्त सुस्त गतिमा भएको छ, जसले ऊर्जा क्षेत्रमा लाभको कमजोरीलाई प्रतिबिम्बित गरेको छ।

‘वायु र सौर्यऊर्जाको उल्लेखनीय वृद्धि उत्साहजनक भए पनि जलवायु परिवर्तनका कारण जलविद्युत् उत्पादनमा देखिएको प्रतिकूलतालाई हामीले नजरअन्दाज गर्न सक्तैनौँ,’ एम्बरका वरिष्ठ विद्युत् विश्लेषक मालगोर्जटा वेटर्स–मोटिकाले भने, ‘विश्व ऊर्जा क्षेत्र उत्सर्जनको उच्च अवस्थामा छ र यो दशकमा नवीकरणीय ऊर्जाको उत्पादन तीन गुणाले वृद्धि गर्न विश्वव्यापी सम्झौता गरेर हामीले जीवाश्म इन्धनको उत्पादनमा भएको तीव्र गिरावटलाई गति दिन आवश्यक छ।’

ad
ad