१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘शान्ति प्रक्रियामा एमालेको स्वामित्व थियो र रहनुपर्छ’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:१५:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले शान्ति प्रक्रियाबारे एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिको आफूहरूले राजनीतिक प्रतिवाद गर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक विषयको प्रतिवाद राजनीतिक तवरले नै गर्ने बताए। एमाले संस्थागत रूपमै शान्ति प्रक्रियासहित त्यसयताका सबै राजनीतिक प्रक्रियामा सहभागी हुँदै आएको उल्लेख गर्दै पुनले मुलुकको प्रमुख समस्याबाट एमाले अलग रहन नसक्ने टिप्पणी गरे।

एमाले र आफ्नो दल मिलेर तत्कालीन नेकपा बनेको स्मरण गर्दै उपमहासचिव पुनले त्यति वेलाका दस्ताबेजमा आफूहरूको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौताबारे आधिकारिक दस्ताबेजमा धेरै विषय उल्लेख गरिएको सम्झिए।

‘एमाले र हामी मिलेर नेकपा बनायौँ, पार्टी एकतापछि सँगै चुनावमा गयौँ। सरकारमा सहकार्य गरेका छौँ,’ पुनले भने, ‘संविधानको प्रस्तावनामै जनआन्दोलन, सशस्त्र संघर्षलगायत विभिन्न आन्दोलनको बलमा अहिलेको व्यवस्था स्थापना भएको कुरा लेखिएको छ। नेकपाको राजनीतिक प्रतिवेदनमा जनयुद्ध र त्यसको योगदानबारे धेरै ठाउँमा उल्लेख गरिएको छ।’

उनले उक्त यथार्थ स्वीकार नगर्ने भए राजनीतिक परिवर्तन स्वीकार नगरको अर्थ लाग्ने तर्क गरे। यद्यपि, पुनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन एमाले बाधक बन्छ भन्ने आफूले नठानेको बताए। सेना समायोजन र संविधान लेखनमा एमाले र आफ्नो दलबीच सहकार्य भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काममा पनि सहकार्यको विकल्प नरहेको जिकिर गरे।

‘हिजो हामीले मिलेरै सेना समायोजन गरेका हौँ। मिलेरै संविधान बनायौँ। शान्ति प्रक्रियाका बाँकी काम पनि मिलेरै टुंगोमा पुर्‍याउँछौँ,’ पुनले भने, ‘एमाले संस्थागत र आधिकारिक रूपमै शान्ति प्रक्रियाको खिलाफमा छ भन्ने लाग्दैन र उसले त्यस्तो गर्नु पनि हुन्न।’ शान्ति प्रक्रियाको सुरुदेखि नै एमालेले स्वामित्व लिएको र  बाँकी काममा पनि उसको स्वामित्व रहने उनले स्पष्ट गरे। 

पुनले शान्ति प्रक्रिया टुंग्याउने क्रममा दुवै पक्षबाट पीडित भएकाहरूले विनाभेदभाव न्याय पाउनुपर्नेमा आफूहरू सचेत रहेको प्रस्ट पारे।

ad
ad