१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काष्ठमण्डप पुनर्निर्माण प्रतिवेदन हस्तान्तरण : पुनर्निर्माणमा साढे ११ करोड खर्च

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२५:oo

काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौं महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई आइतबार प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा पुनर्निर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्यांकन, आर्थिक विवरण समावेश छ । २ खण्ड (‘क’ र ‘ख’) का अनुसूचीमध्ये ‘क’मा समिति गठनसम्बन्धी पृष्ठभूमि, अवधारणा, पुनर्निर्माणसम्बन्धी सांगठनिक संरचना र कार्य सञ्चालन विधि, संक्षिप्त कार्य विवरण छ ।

यस्तै, खण्ड ‘ख’मा आर्थिक वर्ष ०७४/७५ देखि आ.व. ०७९/८० सम्मको लेखापरीक्षण प्रतिवेदन, स्ट्रक्चर एनालाइसिस प्रतिवेदन, पुरातत्व विभागबाट स्वीकृत नक्सा, निर्माणका क्रममा तयार पारिएको नक्सालगायत कागजपत्र छन् । मूल थाम उठाउने, झिँगटी लगाउने, मुख्य सामग्री विवरण, पूजाक्रम र अनुष्ठानको सूची, बाह्य र विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन समावेश गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उक्त प्रतिवेदन अध्ययनका लागि सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठ शाक्यलाई प्रदान गरेका छन् । विभागबाट प्रतिवेदन अध्ययन भएपछि छलफलका लागि सम्पदा पर्यटन समितिमा लगिनेछ । यसपछि प्रमुख, उपप्रमुखसमक्ष छलफलका लागि प्रतिवेदन लगिनेछ । यसै क्रममा काष्ठमण्डप खुला गर्ने विषयमा छलफल हुनेछ ।

०७२ को भूकम्पले काष्ठमण्डप पूर्ण क्षति भएको थियो । यसको पुनर्निर्माणका लागि १८ वैशाख ०७५ मा जनप्रतिनिधि र स्थानीयको भेलाको निर्णयबाट तत्कालीन प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा समितिको गठन भयो । २४ जेठ ०७५ मा बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम गर्ने र खर्च काठमाडौं महानगरपालिकाले व्यहार्ने निर्णय गर्‍यो । यसको ४ दिनपछि अर्थात् २९ जेठमा महानगरपालिका र समितिबीच पुनर्निर्माणका लागि सम्झौता भएको थियो । 

सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई ५० लाख रुपैयाँ प्रदान गरिएको थियो । त्यसपछि महानगरपालिकाले समितिलाई २७ असोज ०७५ मा पाँच करोड रुपैयाँ, ९ माघ ०७६ मा पाँच करोड रुपैयाँ र १६ असार ०७८ मा एक करोड रुपैयाँ उपलब्ध गराएको थियो । कुल ११ करोड ५० लाखमा पुनर्निर्माण सम्पन्न भएको हो ।

ad
ad